७ बैशाख २०८२, आईतवार

हाम्रो मौलिक अचार खल्पी परम्परागत रूपमा कसरी बनाइन्छ ?
  • न्युज मानसराेवर

बाँके। हाम्रो  मौलिक अचार खल्पी परम्परागत रूपमा कसरी बनाइन्छ भन्ने शहरवासीलाई धेरै उत्सुकता हुने रहेछ । सधैं व्यस्त रहने शहरबासीका लागि यस्ता मौलिक परिकारले लोभ्याउँछ तर बनाउने समय मिल्दैन ।

एक दिन छुट्टीमा के मात्र गर्ने भनेर अधिकांश परिकार बाहिरै बनेको चाख्ने बानी परिसकेको छ तर व्यावसायिक रूपमा बनेको कुनै पनि परिकारमा गाउँघरको जस्तो स्वाद हुँदैन । जति कम सामग्री प्रयोग गरेर परिकार बनायो, त्यति नै स्वादिष्ट हुने परिकारविद्हरूको सूत्र छ ।

किनकि हरेक खानाको आफ्नै स्वाद, पहिचान र महत्त्व हुन्छ । त्यसमा नानाथरि मिसाएर त्यसको वास्तविक स्वाद नै गौण भएर जान्छ । तसर्थ हामीले कुनै पनि परिकार बनाउँदा सकेसम्म कम सामग्री प्रयोग गरेको उत्तम हुन्छ । खल्पी अचार बनाउन पनि हामीलाई खासै सामग्री चाहिन्नन् ।

पाकेको काक्रोबाट एक अमिलो स्वादिलो चाना अचार बन्छ । जुन सिसिमा राखेर घाममा सुकाइ गलाइन्छ । तसर्थ खल्पी अचार फुर्सदमा बनाएर व्यस्त समयमा खाने परिकार पनि हो । यसलाई अचार या स्न्याक्सको रूपमा लिन सकिन्छ ।

सामग्री : पाकेको छिप्पिएको पहेलो पहाडी काक्रो १ पिस, तोरिको तेल १ कप, नून स्वाद अनुसार, बेसार ३ चिया चम्चा, खुर्सानीको च्याख्ला धुलो ३ चिया चम्चा, १ दिन घाममा सुकाएको हरियो खुर्सानी चिरेको ७ पिस, जिराको गेडा ३ चिया चम्चा, धनियाँको गेडा ३ चिया चम्चा, तोरीको गेडा ४ चिया चम्चा, मसिनो गरी काटेको अदुवा–लसुन ४ चिया चम्चा ।

विधि : पाकेको काक्रोलाई केही दिन घाममा सुकाउने र चिरेर गुदी निकालेर चाना काट्ने र बिचमा चक्कुले चिर्ने । सबै काटिसकेपछि फेरि १ दिन घाममा नाङ्लोमा राखेर सुकाउने र बाटामा हाल्ने ।

उता तोरी, जिरा, धनियाँ हल्का तताएर ग्र्यान्डर्स गर्ने र काटेको काक्रोमा हाल्ने । स्वाद अनुसार नून र खुर्सानीको धुलो हालेर एकपटक हातमा ग्लोभ्स लगाएर मोल्ने । एउटा ताप्केमा तोरीको तेल हालेर तताउने र चिरेको हरियो खुर्सानी फुराएर बेसार हाली झान्ने र फेरि मोल्ने । सफा र सुक्खा ‘एयर टाइट’ डब्बामा हालेर बिर्को बन्द गरी घाममा राख्दिने । केही समयपछि यो खानका लागि तयार हुन्छ र निकाल्दा जहिले पनि सुक्खा चम्चा या काठको चम्चाले निकाल्ने गर्नुपर्छ ।

  • १६ आश्विन २०७८, शनिबार प्रकाशित

  • Nabintech