१२ श्रावण २०८१, शनिबार

बाँकेको जमुनाहा नाका आइतवारदेखि पूर्णरुपमा खुल्यो
  • न्युज मानसराेवर

बाँके। बाँकेको जमुनाहा नाकामा सवारी साधन ओहोरदोहोरमा लगाइएको रोक आइतवारदेखि पूर्णरुपमा हटेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आइतवारदेखि अनौपचारिकरुपमा नाका खोलिएपनि भन्सार कार्यालयले केही कागजी प्रक्रिया मिलाउनु पर्ने भएकाले सोमवारदेखि नाकामा लगाइको रोक पूर्णरुपमा हट्ने बताए ।

यद्यपी नेपाली नम्वर प्लेटका मोटरसाइकल, अटो रिक्सा, साइकलहरु भने आइतवारदेखि रुपइडिहा जान र आउन भने सुचारु भइसकेको इलाका प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी नायब निरीक्षक मिनबहादुर विष्टले बताए । भन्सार कार्यालयले कागजी प्रक्रिया मिलाएर भारतीय नम्बरका सवारी साधनलाई शुरुको दिन आइतवार भने ३ बजेपछि मात्र प्रवेश गर्न दिने बताएको सई विष्टले जानकारी दिए ।

कोरोना प्रभावपछि भारतीय सवारी नेपाल प्रवेश र नेपाली सवारी भारत प्रवेशमा रोक लगाउँदै आइएको थियो । विगतमा खाद्यान्न लगायतका सामग्री बोक्ने सवारी सधन निर्वाध रुपमा सञ्चालन भएपनि निजी गाडी नेपाल प्रवेशमा भने रोक लगाइएको थियो ।

यस्तै भारतले पनि नेपाली निजी सञ्चालनमा रोक लगाउँदै आएको थियो । यसअघि नाकामा पैदलयात्रुलाई आउजाउ गर्न मात्र दिइएको थियो । भारतीय सुरक्षा बल एसएसवीले पनि नाकामा सवारीसाधन चल्न दिने भनेर माथिल्लो तहबाट निर्देशन आइसकेको जानकारी दिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले बताए ।

गत ११ गते बसेको संघीय मन्त्री परिषद्को बैठकले विभिन्न मापदण्ड पुरा गरेर भारतीय नीजि सवारीलाई नेपाल प्रवेश गर्न दिने निर्णय गरेको थियो । सोही निर्णयानुसार जमुनाहा नाका भएर पनि सवारी साधन सञ्चालनको अनुमति दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गेलालले बताए ।

  • १७ आश्विन २०७८, आईतवार प्रकाशित

  • Nabintech