१२ श्रावण २०८१, शनिबार

लुम्बिनी सरकारको नीति–कार्यक्रम र बजेट आज प्रदेशसभामा पेस हुँदै
  • न्युज मानसराेवर

बुटवल।  लुम्बिनी प्रदेश सरकारले आज चालू आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट प्रदेशसभामा पेस गर्दै छ ।

शंकर पोखरेल नेतृत्वको अघिल्लो एमाले सरकारले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन गर्दै वर्तमान गठबन्धन सरकारले नयाँ बजेट ल्याउन लागेको हो । प्रतिपक्ष एमालेले दसैं सुरु भएपछि बजेट ल्याउन नहुने अडान लिएपछि आजै बजेट पेस गर्ने तयारी गरिएको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए । यसअघिको बजेटको आकार घटबढ नगरे पनि कार्यक्रम हेरफेर गरिएको उनले जानकारी दिए ।

कोरोना रोकथाम र उपचारका लागि स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर एमाले नेतृत्वको सरकारले ४० अर्ब ९५ करोड ९७ लाख रुपैयााबराबरको बजेट विनियोजन गरेको थियो । ‘सम्बोधन गर्न छुटेका क्षेत्र र कम बजेट भएका जिल्लामा पनि सम्बोधन गर्नेगरी धेरै रकम भएका ठूला आयोजनाबाट बजेट बाँडफाँट गरेका छौं,’ उनले भने ।

आज दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ । पहिलो बैठकमा वनसम्बन्धी विधेयक पेश गर्ने एवं पदकसम्बन्धी विधेयक संशोधनमा छलफल हुनेछ । दोस्रो बैठकमा नीति–कार्यक्रमसहित बजेट पेस हुनेछ ।

प्रदेशसभा सञ्चालनमा एमालेको भने सहमति छैन । दसैंको मुखमा प्रदेशसभा चलाउनु असान्दर्भिक रहेको भन्दै एमाले प्रमुख सचेतक भूमीश्वर ढकालले एमालेले कारबाही गरेका सूर्यचिह्नबाट चुनाव लडेका सांसदलाई नहटाएसम्म अवरोध जारी राख्ने बताए ।

यसअघि सूर्यचिह्नबाट चुनाव लडेका र कारबाहीमा परेका दुई सांसद पदमुक्त भएको सूचना प्रकाशित नगरेको भन्दै एमालेले निरन्तर संसद् बैठक अवरोध गरिरहेको थियो । एमालेले कारबाही गरेका नवलपरासीका सांसद अजय शाही र दाङकी विमलाकुमारी खत्री वलीको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

  • २० आश्विन २०७८, बुधबार प्रकाशित

  • Nabintech