१२ श्रावण २०८१, शनिबार

एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा सार्ने तयारी
  • न्युज मानसराेवर

काठमाडौँ। नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन बुटवलबाट चितवनमा सार्ने आन्तरिक तयारी थालिएको छ ।

एमालेको दशौं विधान महाधिवेशन समापन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले आगामी दशौं राष्ट्रिय महाधिवेशन बुटवलमा आयोजना हुने घोषणा गरेका थिए ।

तर, आठौं राष्ट्रिय महाधिवेशन पनि बुटवलमा भएकाले दशौं राष्ट्रिय महाधिवेशन चितवनमा गर्नुपर्ने धेरैको माग भएकाले सार्न लागिएको एमाले नेताहरूले बताएका छन् ।

‘दशौं राष्ट्रिय महाधिवेशन चितवनमा नै गर्ने अन्तिम निर्णय भइसकेको छैन । धेरैको माग चितवनमा गर्नुपर्छ भन्ने छ । त्यहाँको सम्भावनाको बारेमा छलफल भइरहेको छ’, एमालेका एक नेताले बताए ।

एमाले अध्यक्ष ओलीले केही दिनअघि चितवनको एमाले जिल्ला कमिटी अध्यक्ष पार्वती रावलसहितको टोलीसँगको भेटमा चितवनमा दशौं राष्ट्रिय महाधिवेशन आयोजना गर्न सकिन्छ भनेर सोधेका थिए ।

उनीहरूले एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा आयोजना गर्दा त्यसको व्यवस्थापन गर्न चितवन जिल्ला कमिटी तयार रहेको ओलीलाई बताएका थिए ।

महाधिवेशन बुटवलबाट चितवन सार्ने कुरामा उपमहासचिव विष्णु पौडेलले पनि ग्रीन सिग्नल दिएको एमाले चितवनका एक नेताले
बताए ।

महाधिवेशन सार्ने विषयमा छलफल हुँदा उनले चितवनमा व्यवस्थापन गर्न सकिन्छ भने सार्दा पनि फरक नपर्ने प्रतिक्रिया दिएको ती नेताको भनाइ छ ।

एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजना स्थलको बारेमा आज बस्ने स्थायी कमिटी बैठकले निर्णय गर्ने सम्भावना रहेको एक नेताले बताए ।

  • ४ कार्तिक २०७८, बिहीबार प्रकाशित

  • Nabintech