२० बैशाख २०८३, आईतवार

म सभापतिको एक्लो उम्मेदवार हुँ : रामचन्द्र पौडेल
  • न्युज मानसराेवर

बाँके\ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न पार्टीको १४ औं महाधिवेशनमा आफु सभापतिको स्वभाविक उम्मेदवार हुने बताएका छन् ।

नेपाल प्रेस युनियन बाँकेले सोमबार बिहान नेपालगञ्जमा गरेको पत्रकार भेटघाटमा उनले आफ्नो टिमबाट अन्य नेताले पनि आकांक्षा राखेको भएपनि अन्तिममा एउटै उम्मेदवारको टुंगो लगाइने स्पष्ट पारे । आफु १३ औं महाधिवेशनको पनि उम्मेदवार भएकाले यसपटक आफ्नो टिमबाट आफुलाई सबैले सर्वसम्मत उम्मेदवार बनाउने आशा ब्यक्त गरे ।

‘प्रजातन्त्र भनेको सामुहिक नेतृत्व पनि हो, हामी मिलेर एक जना उम्मेदवार दिन्छौं,’ उनले भने ‘केही साथीहरुको आकांक्षा कता कता सुन्नमा आएपनि सबै साथीहरुसँग छलफल गरेर एउटै उम्मेदवार टुंगा लगाउँछौं ।’ उनले अधिवेशन नहुँदा पार्टी संकटमा पर्न सक्ने बताए ।

दसै अगाडी नै कार्यसमिति बैठक बोलाउनुुस्, पार्टीको अधिवशेशन कसरी समयमा गछौं, छलफल गरौं भनेर मैले भनेको हुँ, अहिलेसम्म कार्यसमिति बैठक बस्न सकेको छैन,’ पौडेलले भने ।

आफु काठमाडौं फर्केर पनि यस विषयमा पार्टी सभापति देउवालाई भन्ने बताए । ‘पार्टीको अधिवशेन हुनुपर्छ, अधिवेशन नहुँदा पार्टी बैधानिक संकटमा परेको अवस्था छ,’ पौडेलले भने ‘बैधानिक संकटबाट कांग्रेसलाई उतार्नुपर्छ, यही चुनौतीको घडीमा हामी छौं ।’

संविधानलाई कार्यान्वयन गर्ने दायित्व कांग्रेसले नै पुरा गर्नुपर्ने उनको भनाइ छ । पार्टीको अधिवेशन कार्यतालिका अनुसार हुन नसकेको भन्दै वरिष्ठ नेता पौडेलले चुनावी कार्यतालिका यताउता भएपछि संकट आउन सक्न भनेर आफुले सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउँदै आएको बताए ।

कम्युनिष्ट पार्टीको नेतृत्वले राम्रो काम नगर्दा र मुलुकलाई अधिनायकवादतर्फ लैजादा सरकारलाई हटाउन बाध्य भएको बताउँदै अहिले कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गरिरहँदा विगतका गल्तीलाई दोहोर्याउन नहुने पौडेलले बताए ।

आगामी निर्वाचनमा कांग्र्रेस एक्लै चुनाव लड्छ कि गठबन्धन बन्छ भन्ने पत्रकारको जिज्ञासामा पौडेलले भने, ‘हाम्रो पार्टी एक्लै लडेर जानुपर्छ भन्ने कार्यकर्ताको भावना छ, देशको परिस्थितीले के कुराको अनुभती गर्दछ, त्यतिखेर नै निर्णय होला ।’

प्रधानन्यायाधीशमाथी लागेको आक्षेपलाई समयमै स्पष्ट पार्नुपर्ने उनको सुझाव छ । ‘उहाँमाथी जुन किसिमको आक्षेप लागेको छ, त्यसलाई प्रष्ट पार्नुपर्छ, चाहे प्रधानमन्त्री, चाहे प्रधानन्यायाधीश चाहे राष्ट्रपति, उहाँहरुले आफुलाई आत्मा अनुशासित राख्नुपर्छ, केही कुरा बाहिर आएपछि प्रष्ट पारेर परिस्थतीबाट सफाई दिनुपर्छ ।’

  • ८ कार्तिक २०७८, सोमबार प्रकाशित

  • Nabintech