१२ श्रावण २०८१, शनिबार

मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा
  • न्युज मानसराेवर

काठमाडौं- बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफ्नो राजीनामा दिएकी छन्। बुधबार बागमती प्रदेश सभामा सम्बोधन गर्दै शाक्यले राजीनामा दिएको घोषणा गरेकी हुन्।

‘संविधानको धारा १६९ (१) (क) मा भएको व्यवस्था अनुसार मैले आज यो ठाउँमा मुख्यमन्त्रीको नाताले, सरकारको सिंगो नेतृत्वको नाताले मार्ग प्रशस्त गरेको छु’, उनले  भनिन्।

गत भदौ २ गते मुख्यमन्त्री नियुक्त भएको शाक्यको दल नेकपा एमाले विभाजनसँगै अल्ममतको सरकार चलाउँदै आएकी थिइन्।

तर, पार्टी विभाजनसँगै विश्वासको मत लिनुपर्ने बाध्यताका कारण उनले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गरेकी थिइन्। जसमाथि कात्तिक ४ गते नै छलफल भएको थियो। सो प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले आज राजीनामा घोषणा गरेकी हुन्।

उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन्।

अब बागमतीमा नयाँ सरकार बन्ने बाटो खुलेको छ। गठबन्धनले बागमतीको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति गरिसकेका छन्। अब एकीकृत समाजवादीका राजेन्द्र पाण्डे बागमतीको मुख्यमन्त्री बन्नेछन्।

बागमतीमा नेपाली कांग्रेसका २२, नेकपा माओवादी केन्द्रका २३, नेकपा (एकीकृत समाजवादी) का १३ सांसद छन्।  १०९ सदस्यीय प्रदेश सभामा  एमालेसँग ४३ जना सांसद  छन्।

त्यसैगरी, विवेकशील साझा पार्टीबाट तीन, नेपाल मजदुर किसान पार्टीका २, राप्रपा २ र स्वतन्त्र एक सांसद पनि छन्।

  • १० कार्तिक २०७८, बुधबार प्रकाशित

  • Nabintech