१२ श्रावण २०८१, शनिबार

आजबाट राष्ट्रिय जनगणना शुरू, सफल बनाउन दलहरूकाे आह्वान
  • न्युज मानसराेवर

काठमाडौँ\ राष्ट्रिय जनगणना २०७८ बिहीवारदेखि शुरू हुँदैछ ।

बिहीवार सङ्घमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति र प्रधानमन्त्रीको जनगणना गरेर जनगणना कार्यक्रम शुरू गरिनेछ ।

यस्तै प्रदेशमा मुख्यमन्त्री, स्थानीय तहमा नगर तथा गाउँ प्रमुख र वडामा वडाध्यक्षको गणना गरी जनगणनाको प्रारम्भ गरिने केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

नेपालमा संघीयता कार्यान्वयनमा आएपछि यो पहिलो जनगणना हो  ।

जनगणनाका लागि देशैभर गरी ३९ हजार गणक र आठ हजार पाँच सय जना गणक कार्यक्षेत्रमा खटिएका छन् ।

यसअघि कोरोना महामारीका कारण जनगणना कार्यतालिका स्थगित भएको थियो ।

प्रधानमन्त्री शेर बहादुर देउवाले भिडियो सन्देश नै जारी गरी जनगणना सफल बनाउन सबैलाई आग्रह गरेका छन् ।

उनले भनेका छन्,’देश विकासका लागि उपयुक्त नीति निर्माण गर्न आवश्यक सूचनाको आधार स्तम्भको रुपमा रहेको राष्ट्रिय जनगणना, २०७८ आजबाट सुरु हुँदैछ। सही विवरण उपलव्ध गराएर राष्ट्रको नीति निर्माणका लागि अपरिहार्य सूचना संकलन गर्ने कार्यमा सहयोग गर्नुहुन सबैमा अनुरोध गर्दछु ।’

जनगणना कार्यक्रममा सहभागी हुन र सहयोग गर्न विभिन्न राजनीतिक दल तथा दलका शीर्ष नेताहरूले समेत आग्रह गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनगणना प्रयोजनका लागि घरमा आउने गणकलाई सही विवरण टिपाएर सबैले सहयोग गर्न आग्रह गरेका छन् ।

उनले भनेका छन्,’​यसपालीको जनगणनामा सामुदायीक प्रश्नावली मार्फत पनि हाम्रा वडाहरूमा भएका सामुदायीक भवन र अन्य भौतिक पूर्वाधार र सरकारी सेवामा पहुँचको अवस्थाको पनि जानकारी लिईंदैछ । यसले हाम्रा स्थानीय तहहरूलाई आफ्ना नागरिकलाई सहज सेवा प्रवाह गर्नका लागि अहिलेको पूर्वाधारलाई कसरी विस्तार गर्ने भन्ने महत्वपूर्ण जानकारी पनि उपलब्ध हुनेछ । आजबाट सञ्चालन भइरहेको १२ औं राष्ट्रिय जनगणना संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो जनगणना पनि हो । हामीले संघीयता अवलम्बन गरिसकेपछि यसले जनतालाई राज्यले उपलब्ध गराउने सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन के कस्तो रणनीति अपनाउनु पर्दछ भन्ने मार्ग निर्देशन जनगणनाको तथ्यांकबाट उपलब्ध हुनेछ ।  त्यसैले जनगणना प्रयोजनका लागि तपाईं हाम्रो घरमा आउने गणकलाई सही विवरण टिपाएर सबैले सहयोग गरौं । म सम्पूर्ण नेकपा (एमाले) का नेता, कार्यकर्ता, जनप्रतिनिधीहरू लगायत सम्पूर्ण दिदिबहिनी तथा दाजुभाईहरूलाई जनगणनामा खटिएका कर्मचारी (गणक) लाई पूर्ण रुपमा सहयोग गर्न, सबैलाई सही विवरण टिपाउने सन्देश प्रवाह गर्न र जनगणनालाई पूर्ण रुपमा सफल पार्न सहयोग गर्न हार्दिक अपिल गर्दछु।’

यता पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादी केन्द्रका अध्यक्ष माधव कुमार नेपालले  बहुआयामिक महत्वको जनगणनालाई असाध्यै सावधानी र चुस्तताका साथ सञ्चालन गर्न आह्वान गरेका छन् ।

उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्,’राष्ट्रिय जनगणना २०७८ को मुख्य गणना कार्य कात्तिक २५ गते बिहिबारदेखि सुरु हुँदैछ । संविधानका विभिन्न धारामा जनगणनालाई संवैधानिक रूपमै स्पष्ट पारिएको छ । एकीकृत राष्ट्रिय तथ्याङ्क प्रणालीलाई व्यवस्थित गर्न मात्र होइन, संविधानको मर्म र भावनालाई व्यवस्थित गर्न पनि जनगणना अति आवश्यक छ । भोलिको विकास आवश्यकता जानकारी पाउने मूल माध्यम पनि राष्ट्रिय जनगणना नै हो । जनगणनाले राष्ट्रिय निर्वाचनमा प्रतिनिधित्व प्रणालीलाई नै प्रभाव पार्ने हुँदा सही र स्वच्छ जनगणना जरुरी छ । बहुआयामिक महत्वको जनगणनालाई असाध्यै सावधानी र चुस्तताका साथ सञ्चालन गर्न आव्हान गर्दै यो राष्ट्रिय अभियानमा सघाउन पार्टीका नेता-कार्यकर्ता सहित सवै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा आग्रह गर्दछु ।’

  • २५ कार्तिक २०७८, बिहीबार प्रकाशित

  • Nabintech