१२ श्रावण २०८१, शनिबार

गृहमन्त्री खाँणबाटै कांग्रेस कार्यकर्ता असुरक्षित ! मतगणनास्थलमा नाकको डाँडी भाँचियो
  • न्युज मानसराेवर

बुटवल\ रूपन्देहीमा कांग्रेस कार्यकर्ता गृहमन्त्री बालकृष्ण खाँणबाटै असुरक्षित महसूस गर्न थालेका छन् । गृहमन्त्री खाँणका भाइ रामकृष्णको निर्देशनमा खाँण समर्थक कार्यकर्ताले कांग्रेसका क्षेत्रीय कार्यसमितिका उम्मेदवारलाई नै कुटेका छन् ।

कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शुक्रवार भएको रुपन्देही क्षेत्र नम्बर ३(१) को मतगणना चलिरहँदा खाँण समर्थकले रामचन्द्र पौडेल पक्षका उम्मेदवार शैलेशकुमार पन्तसहित ५ जनालाई निर्घात कुटेका छन् । क्षेत्र नम्बर ३ गृहमन्त्री खाँणले २ पटक निर्वाचन जितेको क्षेत्र हो ।

रुपन्देहीको क्षेत्र नम्बर ३ मा शेरबहादुर देउवा प्यानलबाट सुरेन्द्रजंग थापा सभापतिका उम्मेदवार थिए भने रामचन्द्र पौडेल पक्षबाट सभापति पदमा अधिवक्ता पुरनप्रसाद श्रेष्ठको प्रतिस्पर्धा रहेको थियो ।

खाँण समर्थक तरुण दल रुपन्देहीका अध्यक्ष सोमबहादुर गुरूङ ‘सेते’को नेतृत्वमा रहेका १०–१५ जनाले मतगणनास्थलमा आक्रमण गरी कांग्रेस क्षेत्रीय कार्यसमिति सचिव पदका उम्मेदवार पन्तलाई घाइते बनाएका कांग्रेस रुपन्देहीका पूर्व सभापति मातृकाप्रसाद यादवले बताए । आक्रमणपमा परी पन्तसहित ५ जना घाइते भएका छन् ।

कांग्रेस प्रदेश सभापति पुरनप्रसाद श्रेष्ठले भने, ‘मतदानपश्चात मतगणना चलिरहेको अवस्थामा आफू समर्थकले निर्वाचन हार्ने देखेपछि गृहमन्त्रीको आडमा गृहमन्त्रीका भाइ कांग्रेस रुपन्देहीका सचिव रामकृष्णको निर्देशनमा सेतेको नेतृत्वमा अराजक गुण्डाहरूको जत्थाले शनिवार बिहानपख २ः३० बजेतिर आक्रमण गरेका हुन् ।’ पौडेल पक्षले अस्पतालमै पत्रकार सम्मेलन गरेको थियो ।

श्रेष्ठले थपे, ‘आपराधिक कार्यमा संलग्न सबै अपराधीहरूलाई कानूनी दायरामा ल्याई कारवाही गर्न गृह प्रशासनसमक्ष जोडदार माग गर्दछौं ।’ उम्मेदवार पन्त नाकको डाँडी भाँचिने गरी घाइते भएका श्रेष्ठले बताए । उनको अहिले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

पौडेल पक्षले मतगणनामा अग्रता लिएपछि जेनेरेटर बन्द गरी अँध्यारो बनाएर कुटपिट गरिएको घाइते पन्तले बताए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निरीक्षक भाष्कर चन्दले घटनाले मतगणनास्थलनमा कुनै असर नपुगेको बताए । उनले आफूहरूले मतगणनास्थलमा सुरक्षा दिइरहेको बताए । जारी मतगणनामा पौडेल पक्षका उम्मेदवार पुरण श्रेष्ठको प्यानलले नै अग्रता लिइरहेको थियो । पौडेल पक्षले पुनः मतदान गर्न समेत माग गरेको छ ।

कांग्रेस रुपन्देहीका पूर्व सभापति रामचन्द्र ढकालले आफ्नै पार्टी संगठन र कार्यकताको सम्मान, संरक्षण र सहयोग गर्नुपर्ने व्यक्तिबाटै यस्ता घटनाको योजनामा संरक्षण हुनु नेतृत्वको कुण्ठित मानसिकताको उपज रहेको बताए ।

कांग्रेस रुपन्देही सचिव रामकृष्ण खाँणले आफूमाथि लगाइएका आरोप झूटा भएको दाबी गरे । उनले लोकान्तरसँग भने, ‘उहाँहरूले माननीय गृहमन्त्री र मेरो निर्देशनमा कुटाएको आरोप लगाउनुभएको छ, त्यो गलत हो । घाइतेको उपचार भइरहेको छ । घटनाको विस्तृत जानकारी हामी पनि गराउँछौं ।’

सचिव खाँणले घटना सामान्य भए पनि ठूलो बनाइएको दाबी गरे । गृहजिल्लामा खाँण धेरै कमजोर छन् । शुक्रवार भएको ५ वटै प्रदेश सभाको निर्वाचनमा पौडेल पक्षका उम्मेदवारहरू अगाडि देखिएका छन् ।

  • ४ मंसिर २०७८, शनिबार प्रकाशित

  • Nabintech