१२ श्रावण २०८१, शनिबार

विश्वभर त्रास फैलाएको कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ कति खतरनाक ?
  • न्युज मानसराेवर

बाँके\ डेल्टा भाइरसको संक्रमण कायम रहेकै बेला कोरोना भाइरसको परिवर्तित नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिम बढेको छ ।

स्थलगतभन्दा हवाई आवागमनबाट नेपालमा पनि संक्रमण फैलने जोखिम बढेको हो ।

ओमिक्रोन (बी.१.१.५२९) लाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भेरियन्ट अफ कन्सर्नको सूचीमा राखेको छ । दक्षिण अफ्रिकामा बुधवार मात्र यसको पहिलो केस पत्ता लागेको थियो । त्यसको नमूना गत कात्तिक २३ गते संकलन गरिएको थियो ।

डब्लूएचओले यसलाई ‘ओमिक्रोन’ नाम दिएको छ । एक व्यक्तिबाट अर्कोमा छिटो सर्ने हुँदा सम्भावित प्रभावबारे वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन् । ४ दिनको अवधिमा अफ्रिकासहित हङकङ, बेल्जियम, वोत्सवाना र इजरायलमा समेत संक्रमण पुष्टि भइसकेको छ ।

बेलायतले ६ मुलुकसँगको हवाई उडान बन्द गरेको छ । अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ । न्युयोर्कका गभर्नर काथी होचुलले कोभिड–१९ संक्रमण बढ्दै गएको र नयाँ भेरियन्ट अझ खतरनाक भएकाले संकटकाल लगाइएको जनाएका छन् ।

अस्ट्रेलियाले बाहिरी मुलुकबाट आउने उडानमा कडाइ गरेको छ । भारत लगायतका मुलुकले उच्च सतर्कता अपनाएका छन् । कतिपयले दक्षिण अफ्रिकासँगको हवाई यात्रामा प्रतिबन्ध लगाएका छन् । भारतले बाहिरी मुलुकबाट आउने यात्रुको स्क्रिनिङ र परीक्षणमा विशेष ध्यान दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले अफ्रिकाबाट नेपालमा सिधा हवाईसम्पर्क नभएकाले प्रत्यक्ष जोखिम नभएको बताए । ‘विभिन्न मुलुकका ट्रान्जिट प्वाइन्ट हुँदै नेपाल प्रवेश गर्नेबाट संक्रमण सर्ने जोखिम छ । विमानस्थलमा हेल्थ डेस्क तयारी अवस्थामा छ,’ डा. पौडेलले भने, ‘संक्रमणको जोखिमपूर्ण मुलुकबाट आएका सबैलाई क्वारेन्टाइनको व्यवस्था गरिएको छ ।’

स्वदेशमै ल्याब स्थापना भएका कारण नमूना परीक्षणका लागि विदेश लैजानु नपर्ने पौडेलले बताए । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को आइतवार बस्ने बैठकले ओमिक्रोम भेरियन्टका लागि अपनाउनुपर्ने सावधानीबारे आवश्यक निर्णय गर्ने जनाइएको छ ।

दक्षिण अफ्रिकाबाट नेपालमा सिधै हवाई सम्पर्क छैन । यद्यपि ट्रान्जिटबाट आउने यात्रुहरूमा संक्रमण हुन सक्ने भएकाले जोखिम यथावत् रहेको जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन भारतमा संक्रमण पुष्टि भएको अवस्थामा नेपालमा पनि संक्रमणको चिन्ता थपिने बताउँछन् । ‘स्थलगत भन्दा हवाई मार्ग मै विशेष ध्यान दिनुपर्ने हुन्छ,’ उनले भने ।

निगरानी र परीक्षणलाई ध्यान दिनुपर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीको भनाइ छ । ‘जनस्वास्थ्यका मापदण्ड पालनालाई कडाइ गर्नुका साथै निगरानी र परीक्षणको दायरालाई पनि बढाउनुपर्ने हुन्छ,’ उनले भने, ‘जिन सिक्वेन्सिङ नियमित भइरहेको छ । अहिलेसम्म कतै पुष्टि भएको छैन तर संक्रमणको जोखिम छ ।’

मन्त्रालयले त्रिभुवन विमानस्थल लगायत सबै नाकामा रहेका हेल्थ डेस्कमा परीक्षण, सिक्वेन्सिङ र शंकास्पदलाई क्वारेन्टीनमा राख्न निर्देशन दिएको छ ।

खोप कति प्रभावकारी होला ?

नेपालमा हालसम्म कोभिड विरुद्धको १ करोड ७८ लाख ३३ हजार ८१० मात्रा खोप लगाइसकिएको छ । कूल जनसंख्याको २७.३ प्रतिशतले पूर्ण र ३१.४ प्रतिशतले कम्तीमा १ मात्रा खोप लिएका छन् । कोभिशिल्ड, भेरोसेल, जोन्सन एन्ड जोन्सन, जापानिज एस्ट्राजेनेका र स्वीडिस एस्ट्राजेनेका खोप लगाइएको छ ।

डा. पुनका अनुसार अहिले कोरोनाविरुद्ध लगाइरहेको खोप पनि स्पाइक प्रोटिनतिर बढी लक्षित छ । स्पाइक प्रोटिनको स्वरूपमा परिवर्तन आएको अवस्थामा खोपको प्रभावकारितामा ह्रास आउँछ । ‘खोपको प्रभावकारितालाई कम गर्छ कि भन्ने चिन्ता पनि थपिएको छ ।’

डा. पुनले भने, ‘म्युटेसन बढी हुँदा एक व्यक्तिबाट अर्कोमा सर्न सक्ने क्षमता पनि वृद्धि हुने हो कि भन्ने कुरा पनि छ । घातक कत्तिको छ भन्नेबारे धेरै कुराहरू सार्वजनिक हुन बाँकी छ ।’

अत्यधिक मात्रामा देखिएको म्युटेसनका कारण वैज्ञानिकहरू समेत चिन्तामा छन् । ‘स्पाइक जिन हाम्रो शरीरमा प्रवेश गर्ने जिन हो,’ डा. पुनले भने, ‘ओमिक्रोन भेरियन्टमा स्पाइक जिन बढी देखिएको छ ।’

नेपालमा पहिलो र दोस्रो लहरमा कोरोनाको अल्फा, कप्पा र डेल्टा भेरियन्ट पुष्टि भएको छ । दोस्रो लहरमा भने डेल्टा भेरियन्ट बढी जिम्मेवार मानिएको डा. पौडेलले बताए ।

कस्तो छ तयारी ?

हवाई यातायातमा विशेष ध्यान दिनुपर्ने डा. पुन बताउँछन् । सीमा जोडिएका भारत र चीनमा यो भेरियन्टका संक्रमण पुष्टि भई नसकेकाले हवाई मार्ग भई अन्य मुलुकबाट आउने यात्रुमा विशेष निगरानी गर्नुपर्ने डा. पुनको सुझाव छ ।

पहिले देखिनै स्थापना गरिएको हेल्थ डेस्कलाई थप चुस्त दुरुस्त पार्ने काम भइरहेको छ । ‘खोप नलगाएका व्यक्तिलाई नेपाल आवागमनमा कडाइ गर्नुपर्छ,’ मन्त्रालयका सहप्रवक्ता अधिकारीले भने, ‘खोप नलगाएको व्यक्ति प्रवेश गरिहालेको अवस्थामा क्वारेन्टीनमा राख्नेतर्फ दिइरहेका छौं । अहिलेको महत्त्वपूर्ण पक्ष भनेको जनमानसमा जनचेतना फैलाउने नै हो । आवतजावतमा निरुत्साहित गर्नुपर्छ ।’

जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनीका अनुसार संक्रमण पुष्टि भइसकेका मुलुकबाट हुनसक्ने हवाई यातायातमा कडाइ गर्नुपर्छ ।

कोरोना भाइरस संक्रमणबाट पछिल्लो चौबीस घण्टामा ३ जनाको मृत्यु भएको छ । ६ हजार ६३२ नमूना परीक्षण गर्दा ३१३ जनामा संक्रमण पुष्टि भएको छ । ३१५ जना भने संक्रमणमुक्त भएका छन् ।

हाल सक्रिय संक्रमित ७ हजार १५६ र संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५२१ छ । अन्नपूर्ण पोस्टमा खबर छ ।

  • १२ मंसिर २०७८, आईतवार प्रकाशित

  • Nabintech