१२ श्रावण २०८१, शनिबार

नेपाली कांग्रेस बाँकेको निर्वाचन स्थगित गर्ने निर्णय
  • न्युज मानसराेवर

बाँके\ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेमा हुन लागेको जिल्ला निर्वाचन कार्यक्रम स्थगित भएको छ । जिल्ला निर्वाचन परिचालन समितिका संयोजक एवम् निर्वाचन अधिकृत(वरिष्ठ अधिवक्ता) रेवतीरमण भट्टराईको अध्यक्षतामा आइतबार बेलुकी बसेको आकस्मिक बैठकले निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो ।

बाँकेमा सोमबार उम्मेदवारी मनोनयन दर्ता र पर्सी (मंगलबार) मतदान गर्ने भनि निर्वाचन कार्यतालिका प्रकाशन भएको थियो । लुम्बिनी प्रदेशको प्रदेश अधिवेशनसँग बाँकेको निर्वाचन जुध्ने स्थिती देखिएपछि केन्द्रिय निर्वाचन समितिको निर्देशनमा स्थगित गर्नु परेको जिल्ला निर्वाचन अधिकृत भट्टराईले बताए ।

लुम्बिनी प्रदेशको प्रदेश अधिवेशन यही मंसिर १५ गतेदेखी प्रारम्भ हुन गइरहेको सन्दर्भमा मंसिर १४ गते प्राविधिक एवम अन्य कारणबाट निर्वाचन मतदान÷मत गणना सम्पन्न हुन नसकेमा प्रदेश स्तरिय अधिवेशन निर्वाचनमा बाँके जिल्लाका प्रदेश सभा अधिवेशन प्रतिनिधीहरुको सहभागितामा प्रतिकुल प्रभाव पर्न जाने भएकोले स्थगित गरिएको बैठकपछि समितिद्धारा जारी प्रेस नोटमा उल्लेख छ ।

केन्द्रिय निर्वाचन समितिको निर्देशन अनुसार प्रदेश अधिवेशन/निर्वाचन सम्पन्न भए पश्चात केन्द्रिय निर्वाचन समितिको प्राप्त हुने निर्देशन अनुसार निर्वाचन प्रक्रिया सुरुवात गर्ने गरी हाल बाँके जिल्लाको निर्वाचन स्थगित गर्ने निर्णय गरिएको उक्त प्रेस नोटमा जनाइएको छ ।

बैठकमा जिल्ला निर्वाचन परिचालन समिति बाँकेका संयोजक रेवतीरमण भट्टराई, समितिका सह–संंयोजक एवम् सहायक निर्वाचन अधिकृत चित्रबहादुर शाही, समितिका सदस्यहरु भोलासिंह हमाल, ईश्वरीप्रसाद ज्ञवाली, बिरेन्द्र यादव, अर्जुन ओली, प्रकाश लामिछाने र मेहरसिंह खत्रीको उपस्थिती रहेको थियो । केन्द्रिय निर्वाचन समितिका एक पदाधिकारीले बाँकेसहित जिल्ला निर्वाचन गर्न बाँकी रहेका विभिन्न जिल्लाको निर्वाचन कार्यक्रम हाललाई स्थगित गरिएको बताए ।

‘यो निर्णय बाँके जिल्लाको लागि मात्र गरिएको होइन, जिल्ला तहको निर्वाचन गर्न बाँकी रहेका अन्य बाँकी रहेका जिल्लाका लागि पनि हो,’ उनले भने । बाँकेस्थित निर्वाचन समितिको सचिवालयमा लागेको तालाबन्दी तथा वडा तह, गाउँपालिका/नगरपालिका, प्रदेश सभा र क्षेत्रको निर्वाचन परिणाम ढिलो आउँदा केन्द्रले तोकेको तालिकाभन्दा पछाडी निर्वाचन कार्यक्रम धकेलिदै आएको थियो ।

  • १३ मंसिर २०७८, सोमबार प्रकाशित

  • Nabintech