१३ बैशाख २०८१, बिहीबार

ओमिक्रोन भित्रियो, अब के गर्ने? यस्ता छन् विज्ञका सुझाव
  • न्युज मानसराेवर

बाँके\ कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि फेला परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको पुष्टि गरेसँगै विज्ञहरुले सचेत रहन सुझाब दिएका छन्।

दक्षिण अफ्रिकामा ओमिक्रोन भेटिएको १२ दिनपछि नेपालमा पनि यो भेरियन्ट भेटिएको हो। विश्व स्वास्थ्य संगठनले दक्षिण पूर्वी एसियामा ओमिक्रोनको उच्च जोखिम रहेको उल्लेख गरिसकेको छ।

नेपालमा पनि ओमिक्रोन भेरियन्ट भेटिएपछि जनमानसमा भने एक किसिमको त्रास फैलिएको छ। यो भेरियन्टका विषयमा धेरै कुराहरु अध्ययनकै क्रममा रहेका कारण पनि विज्ञहरुले अब थप सकर्तकता अपनाउनुपर्ने सुझाब दिएका हुन्।

नयाँ भेरियन्ट देखिएका कारण अब सरकारका तर्फबाट के गर्न आवश्यक छ त? यस्तै नागरिकले पनि के के कुरामा ध्यान दिने त?

विज्ञहरुका अनुसार सर्वप्रथम सरकारले नयाँ भेरियन्ट देखिएका संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी गर्दै परीक्षणको दायरा बढाउन आवश्यक छ। यसपछि नेपाल भित्रिने नाकामा पनि आवश्यक जाँच र त्यसपछि क्वारेन्टिन, आइसोलेसन गर्ने व्यवस्था गर्न आवश्यक छ।

सरकारले भेरियन्टको फैलावट रोक्नलाई आवश्यक पर्ने सबै उपायहरु अपनाउन पर्ने, त्यसपछि संक्रमण देखिएको खण्डमा उपचारका लागि आवश्यक पर्ने सबै व्यवस्था मिलाउने, धेरैभन्दा धेरै नागरिकलाई कोभिडविरुद्धको खोप लगाउने लगायतका काम गर्न आवश्यक रहेको विज्ञहरुको भनाइ छ।

सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन सरकारले अब कोरोना संक्रमितको संख्यामा आउने उतारचढावलाई नजिकबाट नियाल्नुपर्ने सुझाव दिन्छन्। नेपालमा भर्खरै ओमिक्रोनका संक्रमित भेटिएकाले केही समय बिरामीको संख्या र अवस्थालाई नियाल्नुपर्ने उनले बताए।

‘कतै केसहरु बढ्दै छ की। त्यसमा पनि जटिल या सामान्य कस्ता खालका संक्रमितहरु आइरहेका छन् भनेर सरकारले नियाल्नुपर्ने हुन्छ’ उनले भने, कस्ता खालका व्यक्तिहरु कुन अवस्थामा संक्रमित भइरहेका छन् भन्ने विषयमा पनि ध्यान दिनुपर्छ।

  • २१ मंसिर २०७८, मंगलवार प्रकाशित

  • Nabintech