१४ बैशाख २०८१, शुक्रबार

कौसिल्या अस्पतालको अर्को चर्तिकला
  • न्युज मानसराेवर

बाँके\ जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको अति नै संवेदनशील मानिने स्वास्थ्य संस्था व्यवसायिक रुपमा आम्दानीको माध्यमको रुपमा प्रयोग गर्दा मानव स्वास्थ्य नै जोखिममा पर्न जानेमा दुई मत छैन । स्वास्थ्य क्षेत्र अति नै संवेदनशील क्षेत्र भएकाले सरकारले स्वास्थ्य संस्था सञ्चालन गर्न मापदण्ड नै जारी नै गरेको छ । सरकारले जारी गरेको “स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७” बमोजिम सञ्चालन नभएका सबै स्वास्थ्य संस्थाहरु अवैधानिक हुने सरकारले जारी गरेको मापदण्डमा उल्लेख गरिएको छ ।

अवैधानिक अस्पताल
सेवामूलक संस्थाका रुपमा सञ्चालन हुनुपर्ने स्वास्थ्य संस्था व्यवसायिक आम्दानी बृद्विको माध्यमका रुपमा विकास गर्ने होडबाजी पछिल्लो समयमा बढोत्तर रुपमा सञ्चालकहरुले कुनै कसर बाँकी राखेका छैनन् । यस्तै मापदण्ड पुरा नगरेर कोहलपुरमा रहेको कौशिल्या अस्पताल प्रा.ली.ले बर्दिया बाँसगढीमा शाखा सञ्चालन गरेर स्वास्थ्य सेवा प्रवाह गर्दै आइरहेको पाइएको छ । शाखा सञ्चालनको अधिकार प्रत्यायोजन गर्ने संस्था नै यस विषयमा बेखबर रहेको पाइएको छ । आन्तरिक राजस्व कार्यालय नेपालगञ्जले करदाताको रुपमा शाखा कायम गर्न दिएको अनुमतिको आधारमा कौशिल्या अस्पताल प्रा.ली.ले बाँसगढीमा २०७७ फाल्गुण ४ गतेबाट स्वास्थ्य सेवा प्रवाह गर्दै आइरहेको छ । बाँसगढी नगर कार्यपालिका कार्यालयलमा उद्योग, व्यापार, पेशा र व्यवसाय दर्ता प्रमाण पत्र अन्र्तगत व्यवसाय दर्ता प्रमाण पत्र भने अस्पतालले पाएको तर अस्पतालको शाखा सञ्चालन अनुमति भने नलिएरै निर्वाध रुपमा शाखा अस्पतालका रुपमा स्वास्थ्य सेवा प्रवाह गरिरहेको पाइएको छ ।

अनुमति विना शाखा अस्पताल संचालन गर्न नमिल्ने ः पोख्रेल, उपचरात्मक विभाग
यस विषयमा नगर स्वास्थ्य कार्यालय बाँसगढीमा जानकारी लिँदा आवश्यक सिफारिस तथा शाखा सञ्चालनको अनुमतिको अधिकार नगर स्वास्थ्यले प्रत्यायोजन नगरेको नगर स्वास्थ्य शाखा प्रमुख गिता घिमिरेको भनाई छ । २५ शैया सम्मको अस्पताल सञ्चालनको अनुमति तथा नियमनको अधिकार स्थानिय तहमा अधिकार निहित भएसँगै कौशिल्या अस्पतलाको शाखा सञ्चालन अनुमति शाखा रहने स्थानिय तह बाँसगढी नगरपालिका मातहतको नगर स्वास्थ्यको अनुमति तथा स्वीकृती नलिएर शाखा सञ्चालन गर्नु पूर्ण रुपमा नियम विपरित नै हुन जाने नेपाल सरकार स्वास्थ्य विभाग अन्र्तगतको उपचारत्मक शाखाको भनाई छ । शाखाका बरिष्ठ मेडिकल टेक्नोलोजिस्ट प्रकाश पोख्रेलका अनुसार शाखा विस्तार गर्ने अस्पतालले अस्पताल सञ्चालनपूर्व अनुमति लिनुपर्ने र शाखा विस्तारका लागि पनि अनुमति लिनुपर्ने प्रावधान रहेको बताए ।

कार्यविधी बनेपछिमात्र नगर स्वास्थ्यबाट शाखा सञ्चालनको अनुमति लिने ः अस्पताल संचालक न्यौपाने
यस विषयमा अस्पतालका प्रशासन प्रमुख शंकर न्यौपानेसँग जिज्ञासा राख्दा बासगढी नगरपालिकाले उपलब्ध गराएको व्यवसाय दर्ता प्रमाण पत्रका आधारमा अस्पताल सञ्चालन गरेको बताए । उनले नगर स्वास्थ्य नगरपालिका अन्र्तगतको कार्यालय रहेकाले नगरपालिकामा व्यवसाय दर्ता प्रमाण पत्र अनुसार १५ शैयाको शाखा अस्पताल बासगढीमा सञ्चालन गरेको जिकिर गरे । उसो त नगरपालिकाले नगर क्षेत्रभित्र रहने सबै प्रकारका व्यवसायीक फर्म, प्रतिष्ठान तथा सेवामूलक संस्थालाई करको दायरामा ल्याउन व्यवसाय दर्ता प्रमाण पत्र दिने गर्दछ । शाखा अनुमति तथा स्वीकृत गर्ने नियामक निकाय त नगर स्वास्थ्य नै हो भन्ने भन्ने प्रश्नमा अस्पतालका प्रशासन प्रमुख न्यौपाने भन्छन्– “नगरपालिकामा स्वास्थ्य संस्था सञ्चालन कार्यविधी नबनेका कारण हाल नगरपालिकामा व्यवसाय दर्ता प्रमाण पत्रको आधारमा अस्पतालको शाखा विस्तार गरेको कार्यविधी बनेपछिमात्र नगर स्वास्थ्यबाट शाखा सञ्चालनको अनुमति लिने नगरमा रहेका सबै स्वास्थ्य संस्थाहरुको निर्णय भएको छ ।”

२०७५ असार २५ गते जिल्ला जनस्वास्थ्य कार्यालयले सेवा संचालन अनुमति सम्बन्धमा दिइएको पत्रको अंश
कौसिल्या अस्पताल प्रा.लि कोहलपुर बाँके

यस विषयका जानकारहरु भने नगरपालिकामा सबै प्रकारका व्यवसायीक तथा सेवामूलक संस्था दर्ता हुनु स्वभाविक रहेको नगरपालिकाले आफ्नो क्षेत्रअन्र्तगतका व्यवसायीहरुबाट कर संकलनका लागि यस्तो प्रमाण पत्र दिने तर स्वास्थ्य जस्तो संवेदनशील क्षेत्र भने सामान्य पान पसल तथा किराना पसलेहरुले पाउने दर्ता प्रमाण पत्रका आधारमा स्वास्थ्य सेवा प्रवाह गर्नु भनेको कानुनी व्यवस्थाको बर्खिलाप हुन जाने बताउँछन् ।

बर्दिया प्रशासनसँग आवश्यक समन्वय गरेर अघि बढ्ने ः बाँकेका प्रमुख जिल्ला अधिकारी खत्री 
कोहलपुरमा सञ्चालनमा आई कौशिल्या अस्पताल प्रा.ली.ले २०७७ सालबाट बर्दियाको बाँसगढीमा शाखा सञ्चालन गर्नुपूर्व सम्बन्धित स्थानिय तह अन्र्तगतको नगर स्वास्थ्यको अनुमति तथा स्वीकृती विना स्वास्थ्य सेवा प्रवाह गर्न पाउने वा नपाउने एवम् मापदण्ड विपरित स्वास्थ्य संस्था सञ्चालन भए गरेको पाइएमा जिल्ला प्रशासन कार्यालयको एक्सन के हुन्छ भन्ने प्रश्नमा बाँकेमा प्रमुख जिल्ला अधिकारी विष्णु कुमार खत्री भन्छन्–“सरकारले निर्धारण गरेको मापदण्ड अनुसार सञ्चालनमा नआएका स्वास्थ्य संस्थाहरुको हकमा दक्ष जनशक्ति पठाएर अनुगमन गरेर आवश्यक कारवाही प्रक्रिया अगाढी बढ्छ ।” कौशिल्या अस्पताल प्रा.ली.ले बर्दियाको बाँसगढीमा शाखा सञ्चालन गरेको सम्बन्धमा बर्दिया प्रशासनसँग आवश्यक समन्वय गरेर अघि बढ्ने बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीको भनाई छ । साभार न्यूज नमस्ते

  • २३ मंसिर २०७८, बिहीबार प्रकाशित

  • Nabintech