१३ बैशाख २०८१, बिहीबार

‘अध्यक्षमा प्रचण्डको विकल्प छैन, विप्लव महासचिव वा उपाध्यक्ष हुन सक्छन्’
  • न्युज मानसराेवर

बाँके\ नेकपा माओवादी केन्द्रले आज सातै प्रदेशमा एकै साथ प्रदेश सम्मेलनको तयारी गरेको छ ।

सम्मेलनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकै साथ काठमाडौँबाट भर्चुअल माध्यमबाट उद्घाटन गर्नेछन् । माओवादीले देशैभर वडा र पालिका सम्मेलन सम्पन्न गरिसकेको छ । माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदै छ ।

तल्लो तहदेखि नै कमिटी विस्तार गर्दै आइरहेको माओवादीले सबै प्रदेशमा प्रदेश समिति तयार गर्ने जनाएको छ । सम्मेलनले अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष गरी नौ जना पदाधिकारीसहित दुई सय २३ सदस्यीय प्रदेश कमिटी गठन गर्ने छ

बिहीबार बसेको माओवादी स्थायी समितिको बैठकले प्रदेश कमिटीहरूमा पदाधिकारीको सङ्ख्या सात जनाबाट बढाएर नौ पुर्याउने निर्णय गरेको छ ।

सम्मेलनमा नयाँ नेतृत्व चयन गर्ने मात्र नभइ पार्टीको आगामी कार्यदिशा, नीति, कार्यक्रमका बारेमा बहस, छलफल हुने हुँदा प्रदेश सम्मेलनलाई माओवादीले महत्वका साथ हेरेको छ । प्रदेश सम्मेलनले माओवादीको केन्द्रीय नीतिमा पनि प्रभाव पार्ने छ ।

प्रस्तुत छ, अहिलेको माओवादीको अवस्था, सम्मेलनपछि माओवादीको कार्यदिशा र महाधिवेशन रणनीतिका विषयमा माओवादीको आमन्त्रित स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टसँग गरिएको संवाद ।

आज प्रदेश सम्मेलन हुँदै छ । तयारी कस्तो छ ?

वैचारिक, राजनैतिक, संठनात्मक, प्रचारात्मक, आर्थिक र कार्यकर्ता व्यवस्थापनसम्बन्धी तयारी सम्पन्न भइसकेको छ ।

सम्मेलनमार्फत प्रदेशमा नयाँ नेतृत्व पनि चयन हुनेछन् । पदभन्दा आकांक्षी कयौँ गुणा बढी छन् । कसरी नेतृत्व व्यवस्थापन गर्नुहुन्छ ?

त्यो एउटा लोकतान्त्रिक अभ्यास गर्ने पार्टीमा सबैतिर हुने विशेषता हो । सापेक्षरूपमा हाम्रो पार्टीमा अन्यत्र भन्दा कम छ जस्तो लाग्छ ।

लोकतन्त्रको कुरा गर्नहुन्छ ? अखिल (क्रान्तिकारी) को २२ औँ सम्मेलनले अध्यक्षबाहेकको नेतृत्व दिन सकेन । वाईसीएलको अवस्था पनि फरक छैन । महाधिवेशनबाट प्रेस सेन्टर नेपालको अध्यक्ष र केन्द्रीय सदस्यहरूको घोषणा भए । अरूको अत्तोपत्तो छैन । यो कस्तो लोकतन्त्र हो ?

लोकतान्त्रिक अभ्यास पार्टीबाट सुरु हुनुपर्छ । भ्रातृ मोर्चाहरूबाट लोकतन्त्रको प्रक्रिया गरेर हुँदैन । यो पार्टीबाट हुने कुरा हो ।

एउटा पार्टीलाई जिम्मा दिने, पार्टीमार्फत अगाडि बढाउने र पार्टीले फेरि अध्यक्षलाई जिम्मा दिने कुरा हो । त्यसकारणले गर्दा लोकतान्त्रिक विधिको उन्लंघन भयो भनेर यसलाई भन्न सकिँदैन । किनकि जब अख्तियारी नै हामीले दिन्छौँ, त्यो अख्तियारीअनुसारको काम गर्ने कुरा कसरी अलोकतान्त्रिक कुरा हुन्छ ।

नेतृत्व छान्ने प्रतिनिधिको अधिकार हो नि, होइन र ?

कुरा ठीक हो । तर, पार्टीको सम्मेलनमा त्यस्तो हुँदैन । प्रदेशमा सर्वसम्मत भए राम्रो भएन भने, प्रष्टरूपमा निर्वाचन गर्नुपर्छ भनेर अध्यक्ष कमरेडको निर्देशन पनि आइसकेको छ ।

पार्टीको सम्मेलनपछि अन्य मोर्चाहरू पनि अझै बढी स्वायत्त, स्वतन्त्र र लोकतान्त्रिक हुनेछन् ।

महाधिवेशनपछि पार्टी बलियो हुन्छ कि आकांक्षीहरुको व्यवस्थापन गर्न नसक्दा थप छिन्नभिन्न हुन्छ ?

आम कार्यकर्ताहरुले र जनताहरूले व्यवस्थित माओवादी खोजेका छन् । लोकतान्त्रिक माओवादी खोजेका छन् ।

अहिलेसम्मको अव्यवस्थित माओवादी हो ?

अहिलेसम्म पनि व्यवस्थित छ । तर, सापेक्ष रूपमा हामी भित्र थुप्रै कमी कमजोरीहरू छन् । यसलाई अझै परिष्कृत गर्ने बाटोमा छौँ । त्यसो हुँदा देशले चाहेको, कार्यकर्ताहरुले चाहेको, नेता पक्तिले चाहेको र हामी सबैले चाहेको बाटोमा पार्टी अगाडि बढेको छ । त्यसले पार्टी कमजोर हुन्छ कि बलियो आफै बुझ्नु न ।

नेत्र विक्रम चन्द समूह पनि माओवादीमा आउँदै छन् भन्ने सुनिन्छ । त्यो चर्चा मात्रै हो कि भित्र केही छलफल भइरहेको छ ?

नेपालका सबै कम्युनिस्ट पार्टीहरूसँग, सबै लोकतान्त्रिक शक्तिहरूसँग, सबै राष्ट्रवादीहरुसँग हामी छलफलमा छौँ । कसैसँग पार्टी एकताको स्तरमा र कसैसँग मोर्चा बन्दीको स्तरमा, कसैसँग कार्यगत एकताको रूपमा हाम्रा संवाद र सहकार्य चलिहरेका छन् । त्यसमा नेकपा भनेर चिनिने कमरेड नेत्र विक्रम चन्दसँग पनि स्वभाविक रूपमा यहीं क्रमअनुसार वार्ता र संवाद भइरहेका छन् ।

हिजो पनि नेकपा बनाएकै हो । पार्टी एकता गरेकै हो । एमाले र माओवादी जस्ता ठूला पार्टी पहिले मिलौँ बाँकी वाम पार्टीलाई पनि त्यो भित्र ल्याऊ र नेपालको कम्युनिस्ट आन्दोलनलाई एउटै केन्द्रमा केन्द्रित गरौँ त भनेकै हौं नि ।

त्यसो भए अब तपाईंहरूको पार्टीको महासचिव विप्लप हुन् ?

त्यो राष्ट्रिय सम्मेलनले कसलाई चयन गर्छ भन्ने कुरा हो । मैले भनिहाले कोही पनि हामी सुरक्षित छैनौँ ।

हिजो माथिबाट नेता चयन गर्ने क्रममा यो हुन्छ त्यो हुन्न भन्न सकिने ठाउँ थियो । आज कार्यकर्ताले नेता चयन गर्ने बेलामा को के हुन्छ भन्न सकिन्नँ तर, विप्लप एउटा पार्टीको नेता हुन् । उहाँ माओवादीमा हुँदा पनि पार्टीले उहाँलाई नेता बनाएकै हो ।

पार्टीसँग विमति राखेर उहाँ जानु भएको हो । पार्टीले जानु भनेर पठाएको पनि होइन । यदि उहाँ यो पार्टीमा आउनु भएपछि महासचिव पाउनु हुन्छ कि उपाध्यक्ष पाउनु हुन्छ त्यो पनि आम नेता कार्यकर्ताहरुले भन्ने कुरा हो । एउटा नेताको रूपमा उहाँलाई सम्मानजनक हैसियत दिने कुरा त स्वभाविक हो ।

माओवादीको आसन्न महाधिवेशनलाई नेतृत्व चयन गर्ने महाधिवेशन भन्ने कि अध्यक्षबाहेकको नेतृत्व चयन गर्ने भन्ने ?

त्यो हलले गर्ने कुरा हो । यदि अध्यक्षको पनि चयन गर्ने चाहे पाउँछ । सबैको बारेमा कार्यकर्ताले निर्धारण गर्छन् ।

जब सिङ्गो हलले प्रचण्डलाई नै चाहन्छ भने के गर्नुहुन्छ । सिङ्गो हलले प्रचण्डलाई चाहने अनि प्रचण्डलाई फेरि पनि तिमीहरूले चुनेको भन्ने कुरा लोकतान्त्रिक हुन्छ र ?

कार्यकर्ताले यदि प्रचण्ड चाहन्छन् भने अहिले प्रचण्डको विकल्प खोज्नुपर्ने जरुरी छैन । फेरि यो जटिल अवस्थालाई सम्बोधन गर्न र त्यसलाई नेतृत्व गर्नको लागि कमरेड प्रचण्डको भूमिका अझै पनि आवश्यक छ ।

एउटा निश्चित बिन्दुमा जब सम्म देश पुग्दैन त्यो बेला सम्म कमरेड प्रचण्डको औचित्य रहिरहन्छ । माओवादी भित्र आम नेता र कार्यकर्ताको बुझाइ हो

अबको निर्विकल्प अध्यक्ष हुन् प्रचण्ड ?

मलाई लाग्छ प्रचण्डको विकल्प खोज्ने बेला भएको छैन । खोज्नेहरू पनि छैनन् होला । ती लाखौँलाख कार्यकर्ताहरुले प्रचण्डको विकल्प होइन, प्रचण्डबिनाको पार्टीको कल्पना गरेका छैनन् ।

अहिलेको सत्ता गठबन्धनको आयु कति लामो छ ? निर्वाचनसम्म हुन्छ कि हुँदैन ?

प्रतिगमनकारी र यतास्थितिवादी सबै शक्तिसँग सहकार्य गरौँ भन्नेमा हामी छौँ । यो संविधानको रक्षा नहुँदासम्म मिलेर जाऊँ भन्ने कुरामा हाम्रो पार्टी उदार छ । तर, हामी एक्लै परिस्थितिको सामना गर्न पनि तयार छौँ । र जो जोसँग कार्यगत एकता वा संयुक्त मोर्चा बन्छ त्यो मोर्चा अनुसार पनि अगाडि बढ्न तयार छौँ ।

एक्लाएक्लै चुनावी मैदानमा होमिएपछि ‘पत्तासाफ’ हुने डरले पनि गठबन्धनको मन्त्र जप्नुहुन्छ भन्ने आरोप छ नि ?

निर्वचनमा कसले कसको ग्यारेन्टी गरेको छ ? २०६४ सालमा नेकपा एमालेलाई यही भ्रम भएको थियो । काँग्रेसलाई पनि त कम्युनिस्टहरू फुटेर लड्छन् हामी जित्छौँ भन्ने लागेको थियो नि ।

२०७० सालमा त्यही) भ्रम माओवादीलाई भयो । हामी जित्छौँ भन्ने भ्रमबाट माओवादी गयो प्रचण्ड पनि हारे । एमालेलाई म जित्छु भन्ने भयो माधव नेपाल झक्कुसँग हारे । अरू–अरू नेताहरू पनि हारे ।

त्यसपछि वाम गठबन्धन भयो काँग्रेसका ठूला –ठूला नेताहरू पनि हारे । पछिल्लो जनमत सर्भे त कसैले गरेको छैन । हामीलाई के विश्वास छ भने, हामी हिजोभन्दा धेरै सबल, सुदृढ, एकताबद्ध र लोकप्रिय भएका छौँ । त्यसो भएर हामी एक्लै प्रतिस्पर्धामा गएपछि पनि गुणात्मक परिणाम ल्याउँछौँ भन्नेमा छौँ ।

  • २५ मंसिर २०७८, शनिबार प्रकाशित

  • Nabintech