१४ बैशाख २०८१, शुक्रबार

प्रचण्डको अभिव्यक्तिले पुँजीबजारमा खैलाबैला, लगानीकर्ता आक्रोशित
  • न्युज मानसराेवर

बाँके\ नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सेयर बजारलाई लिएर दिएको विवादित अभिव्यक्तिले पुँजीबजार तरंगित बनेको छ । सेयर लगानीकर्ताहरूले प्रचण्डको भनाइले बजारलाई नकारात्मक असर गर्नसक्ने भन्दै आपत्ति जनाएका छन् ।

माओवादी केन्द्रका सात प्रदेशको सम्मेलन काठमाडौंबाट उद्घाटन गर्ने क्रममा शनिबार प्रचण्डले पुँजीबजारको बदख्वाईं गरेका थिए । उनले पुँजीबजारमार्फत संसारभरको धन एकठ्ठा गर्न खोजिएको भन्दै यसविरुद्ध माओवादीले लड्नुपर्ने धारणासमेत राखे ।

पुँजीबजारलाई साम्राज्यवादको विकसितरूपको संज्ञा दिँदै प्रचण्डले भनेका छन्, ‘नेपाल धितोपत्र बोर्ड, सट्टा बजार, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), विश्व बैंक, एसियाली विकास बैंक (एडीबी) ले पैसा यताउता गर्छन् भन्ने हाम्रो बुझाइ छ । तर, त्यति सजिलै हुँदैन । यी साम्राज्यवादका विकसितरूप हुन् । वित्तीय एकाधिकार र पुँजीवादलाई बलियो बनाउने, त्यसलाई अघि बढाउने र नाफा सोहोरेर संसारका केही सीमित पुँजीपतिको हातमा संसारकै धन एकठ्ठा गर्ने र विश्वका ८० प्रतिशत जनतालाई भोको- नांगो राख्ने प्रणाली हो यो,’ प्रचण्डको भनाइ थियो ।

यतिबला सरकारमा नेकपा माओवादीकै नेता अर्थमन्त्री छन् । त्यसमा पनि आफ्नै विश्वासपात्रका रूपमा रहेका जनार्दन शर्माले अर्थमन्त्रालय हाँकिरहेको बेला प्रचण्डको अभिव्यक्ति आउँदा सेयर लगानीकर्ताहरू झस्किनु स्वाभाविक हो । पछिल्लो समय सेयर बजार निरन्तर ओरालो यात्रामा छ । यस्तो बेला बजारलाई उकास्नेभन्दा पनि थप संकटतर्फ धकेल्ने गरी प्रचण्डले बोलेको आरोप लगानीकर्ताहरूले लगाएका छन् ।

कोभिड १९ पछि सेयर बजार निरन्तररुपमा बढ्दै अधिकतम ३१९७ अंकको विन्दु पुगेको थियो । तर, नियामक निकाय धितोपत्र बोर्डले प्रकाशन गरेको ५१ कम्पनीको सुची र नेपाल राष्ट्र बैंकले सेयर कर्जामा कडाइ गर्दै ४/१२ को क्याप लगाएपछि बजारले वियरिस ट्रेन्डलाई पछ्याइरहेको छ ।

यसअघि पनि अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीका अभिव्यक्तिका कारण बजार ‘पेनिक’ बन्दै आएको थियो । केही लगानीकर्ताले त बजारप्रति नकारात्मक धारणा राख्ने नेतालाई ‘नो भोट’ अभियानसमेत चलाएका छन् । प्रचण्डले उक्त अभियानकै कारण यस्तो अभिव्यक्ति दिएको हुन सक्ने एकथरीको बुझाइ छ ।

सेयर विश्लेषक रविन्द्र भट्टराई आफ्नो चुनावी लाभलाई हेरेर प्रचण्डले यस्तो अभिव्यक्ति दिएको हुनसक्ने बताउँछन् । तर, यसले ब्याक फायर हुन सक्ने उनको टिप्पणी छ ।

‘अहिले बजार घटाउने र पछि बढाएर चुनावमा फाइदा लिने मनसायले अध्यक्ष प्रचण्डबाट यस प्रकारको अभिव्यक्ति आएको हुन सक्छ,’ उनले भने, ‘तर, यस्तो गैह्रजिम्मेवार वक्तव्य आउँदा सेयर बजारमा जोडिएका माओवादीका मतदाता नै असन्तुष्ट बन्न सक्छन् ।’

लगानीकर्ता राधा पोखरेलले प्रचण्डको अभिव्यक्तिबाट आफू आश्चर्यमा परेको प्रतिक्रिया दिइन् । प्रचण्डसँगको पटक-पटकको भेटका क्रममा उनी पुँजी बजारप्रति कहिले पनि नकारात्मक नपाएको भन्दै पोखरेलले अहिलेको अभिव्यक्ति आफ्नो निम्ति अनपेक्षित रहेको प्रतिक्रिया दिइन् ।

४८ लाख लगानीकर्ताको आम्दानीको स्रोत रहेको पुँजी बजारलक्षित टिप्पणीले माओवादीको भोटमा समेत असर गर्ने उनको आँकलन छ ।

‘माओवादी, एमाले, कांग्रेस सबै राजनीतिक दलप्रति आस्था राख्ने लगानीकर्ता भएकाले उहाँको यस स्टेटमेन्टले आगामी चुनावमा माओवादीको भोट प्रभावित नहोला भन्न सकिन्न,’ पोखरेलले भनिन् ।

पोखरेलको जस्तै धारणा छ, अर्का लगानीकर्ता छोटेलाल रोनियारको पनि । राष्ट्रका सम्मानित नेताबाट यस्तो अभिव्यक्ति आउनु गलत भएको र यसले प्रचण्डलाई पछुतो हुन सक्ने उनले टिप्पणी गरे ।

‘राष्ट्रले सम्मान गर्ने नेताबाट १८ औं शताब्दीसँग दाँजेर यसप्रकारको अभिव्यक्ति आउनु गलत छ,’ उनले भने, ‘कार्ल मार्क्स, लेनिन र माओको पालामा ती देशरुमा पुँजीबजार विकास नै भएको थिएन । अनि उहाँले कसरी त्यस्तो भन्न सक्नुहुन्छ ?’

कम्युनिष्ट शासन भएको चीनजस्तो मुलुकमा समेत पुँजीबजारको विकास भएको भन्दै उनले ४८ लाख लगानीकर्ताको भावनामाथि ठेस पुग्ने गरी दाहालको अभिव्यक्ति आएको बताए ।

अर्का लगानीकर्ता तिलक कोइरालाले माओवादीकै अर्थमन्त्री भएको समयमा प्रचण्डको यस्तो धारणा आउनु सेयरबजारको विकासको लागि बाधक हुने टिप्पणी गरे । बजार घट्नु-बढ्नु स्वभाविक भए पनि बजारको दिगो विकास र विस्तारका लागि नियामक तथा सरकारले नीति निर्माण गर्नुपर्ने उनको भनाइ छ । तीन वर्ष अगाडि पुँजी बजार सुधारका लागि आफूहरूले दिएको सुझावका बाँकी कामहरू तुरुन्त गर्नुपर्नेमा उनले अर्थमन्त्री र सरकारको ध्यानाकर्षण गराए ।

‘मूल्यमा हुने उत्तरचढावको जिम्मा बजारलाई नै दिनुपर्छ । तर नियामक निकायबाट हुने हस्तक्षेप र राजनीतिज्ञबाट आउने अभिव्यक्तिको सिलसिला बन्द गर्नुपर्छ,’ उनले भने ।

लगानीकर्ता भरत रानाभाट नेपालका नेताहरूले सेयर बजार नबुझेकाले सतही कुरा गर्ने भन्दै लगानीकर्ताहरू त्यसको पछाडि लाग्न नहुने बताउँछन् । ठूला लगानीकर्ताहरू अरु व्यवसायमा संलग्न रहने र आम्दानी गरेर लगानी गर्ने भएकाले बजारमा एक्टिभ रहने भनेकै साना लगानीकर्ता भएको उनको बुझाइ छ ।

‘नीति निर्माताहरूले सेयर बजारप्रति आफ्नो धारणा व्यक्त गर्नेभन्दा पनि नीति बनाएर कार्यान्वयन गर्नुपर्छ,’ उनले भने ।

प्रचण्डको अभिव्यक्तिका कारण पछिल्लो दुई दिनमा साना लगानीकर्ताले पेनिक भएर सेयर बेच्दा ठुला लगानीकर्तालाई फाइदा भएको रानाभाटले बताए ।

‘ठूला लगानीकर्ताले यसलाई अवसरका रूपमा लिएर सेयर किनेका छन्,’ उनले भने, ‘त्यसैले यस्ता अभिव्यक्तिले साना लगानीकर्ताको हित कहिले पनि हुँदैन ।’

सेयर बजारविरोधी वक्तव्य आएको भन्दै प्रश्न उठेपछि प्रचण्डको सचिवालयले स्पष्टीकरण दिएको छ । प्रचण्ण्डको अभिव्यक्ति सैद्धान्तिक रुपमा सही भएको तर साना लगानीकर्ताका हितका लागि उनी प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले वक्तव्य जारी गर्दै भनेका छन्, ‘अध्यक्ष दाहालले मन्तव्यका क्रममा राखेको सैद्धान्तिक विषय एकदम सही छ ।’

  • २७ मंसिर २०७८, सोमबार प्रकाशित

  • Nabintech