१२ श्रावण २०८१, शनिबार

बाँकेमा बढ्यो पाटेबाघको आतंक
  • न्युज मानसराेवर

बाँके\ बाँकेमा पाटेबाघको आतंक पुनः बढेको छ । केही समयसम्म शान्त रहेको जिल्लामा बाघको आतंक अहिले पुनः बढेको हो । बाघको आतंक बढेपछि सर्वसाधारण त्रसित भएका छन् ।

पाटेबाघले शनिबार बाँकेको हुलाकी सडक अन्तर्गत पर्ने फत्तेपुरको जंगलमा मोटरसाइकलमा सवार एक व्यक्तिलाई झम्टेको छ । तर सावधानी अपनाएका कारण बाघको आक्रमणबाट ती व्यक्ति जोगिन सफल भएका छन् ।

राप्तीसोनारी गाउँपालिका-५ बिनौना निवासी लोकमणी बटालालाई पाटेबाघले शनिबार बिहान साढे ६ बजेतिर झम्टेको थियो । जनसिद्देश्वर बहुमुखी क्याम्पस फत्तेपुरका क्याम्पस प्रमुख समेत रहेका उनी आफ्नो घर बिनौनातर्फ जाँदै थिए ।

सो क्रममा बीच जंगलभित्र सडक किनारमा लुकेर बसेको पाटेबाघले झम्टेको बटालाले बताए । बाघले झम्टेपनि आफूले सावधानी पूर्वक ज्यान जोगाउन सफल भएको उनले बताए । ‘बाघले मलाई आक्रमण नै गर्ने उद्धेश्यले लुकेर बसेको रहेछ, एक्कासी मलाई झम्टिन आयो, तर उसको पञ्जाले मलाई समात्न सकेन, मोटरसाइकलको नम्बर प्लेटमा बाघको पञ्जा गयो,’ उनले भने, ‘मोटरसाइकल थोरै अनियन्त्रित हुन खोज्यो, मैले त्यतिबेला मोटरसाइकलको गति अलि बढाएर भाग्न सफल भए ।’

हुलाकी राजमार्ग अन्तर्गत पर्ने फत्तेपुर र बिनौनाको बीचमा ७ किलोमिटर क्षेत्र जंगल पर्छ । छोटो दूरीमा पर्ने भएकाले उक्त बाटो भएर मानिसहरू नेपालगन्ज आवत–जावत गर्छन् ।

तीन महिनामा दुई जनाको मृत्यु
पाटेबाघले तीन महिनाको अवधिमा बाँकेमा दुई जनाको ज्यान लिइसकेको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ कुसुमस्थित गाभर गाउँमा गत भदौ अन्तिमतिर पाटेबाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो ।

नाम, ठेगाना नखुलेका भारतीय नागरिकलाई बाघले आक्रमण गर्नुका साथै दर्जनौं पशु चौपाया पनि मारेको थियो । बाघले गाभरमा करिब दुई महिनासम्म आतंक मच्चाएपछि निकुञ्जले दुई वटा हात्तीसहित कर्मचारीलाई परिचालन गरेर निगरानी बढाएको थियो । अहिले उक्त क्षेत्रमा बाघ देखा पर्न छाडिसकेको स्थानीयवासी बताउँछन् ।

गाभरमा आतंक बढाएको दुई महिनापछि कात्तिक अन्तिमतिर पाटेबाघले राप्तीसोनारीसँगै जोडिएको नरैनापुरमा पनि एक जनाको ज्यान लियो । जंगलमा चौपाया चराउन गएको समयमा नरैनापुर गाउँपालिका–४ पण्डितपुरुवा निवासी लखन गडरियालाई बाघले मारेको थियो । उनीसहित बाघले एउटा गाईलाई समेत मारेर खाएको थियो।

२०६७ सालमा बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएयता पाटेबाघको संख्या बृद्धि भएको बताइन्छ । सन् २०१८ मा गणना गर्दा बाँके राष्ट्रिय निकुञ्जमा २१ वटा बाघ फेला परेका थिए । त्यो संख्या अहिले ह्वात्तै बढेको निकुञ्जका कर्मचारीको अनुमान छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अहिले बाँके र बर्दियामा एकैसाथ बाघ गणना गरिरहेको छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले मंसिर २९ गतेबाट बाँके र बर्दियामा बाघ गणना कार्य सुरु भएको बताए । -नागरिक दैनिकबाट 

  • ४ पुष २०७८, आईतवार प्रकाशित

  • Nabintech