१२ श्रावण २०८१, शनिबार

कांग्रेस महाधिवेशनः लुम्बिनीका मन्त्री र वेटिङ मुख्यमन्त्री पार्टीभित्रै पराजित
  • न्युज मानसराेवर

बाँके\ लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षणमन्त्री सुरेन्द्र हमाल कांग्रेस केन्द्रीय सदस्यमा पराजित भएका छन् । पार्टीको १४औं राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको चुनावमा उनी संस्थापन समूहबाट केन्द्रीय सदस्यको उम्मेदवा बनेका थिए । उनले १२०३ मत मात्र पाएका छन् ।

सुरेन्द्रसँगै नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनौडिया पनि केन्द्रीय सदस्यमा पराजित भएका छन् । साउन अन्तिममा लुम्बिनी प्रदेशमा एमालेविरुद्धको गठबन्धन दलको भागवण्डामा ८ महिनापछि मुख्यमन्त्री बन्ने सहमतिमा परेका कनौडिया पनि देउवा समूहबाट उम्मेदवार थिए । कांग्रेसको केन्द्रीय सदस्य (खुलातर्फ) उठेका उनी तोकिएको संख्या ३५ भित्र पर्न असफल भएका हुन् । कनौडियाले १५१९ मत ल्याएका थिए ।

संस्थापन समूहका धेरै नेताहरु निर्वाचित हुँदा पनि कनौडिया र हमाल देउवा प्यानलबाट पराजित भएका हुन् । लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्यमा संस्थापन समूहभन्दा इतर समूहका धेरै जना निर्वाचित भएका छन् ।

लामो समय गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिव रहेका रूपन्देहीका गोकर्ण पौडेल पनि केन्द्रीय सदस्यमा हारेका छन् । पाल्पाका हरि नेपाल पनि कांग्रेसको केन्द्रीय सदस्य पदमा दोहोरिन सकेनन् । गुल्मीका पूर्वसांसद त्रैलोक्यप्रताप सेनले १३ औं र १४ दुवै महाधिवेशनमा निर्वाचन जित्न सकेनन् ।

२०५६ सालयता निरन्तर केन्द्रीय सदस्य रहेका रूपन्देही गृहजिल्ला भएका गृहमन्त्री बालकृष्ण खाँण भने खुला केन्द्रीय सदस्यतर्फ तेस्रो बढी मतसहित विजयी भए ।

त्यस्तै सहमहामन्त्रीमा पहिले नै उम्मेदारी घोषणा गरेका संस्थापनइतर समूहका दाङका दीपक गिरी आफ्नो प्यानलबाट पदाधिकारीमा नपरेपछि कांग्रेसको केन्द्रीय सदस्यमा दोहोरिएका छन् । बर्दियामा वामदेव गौतमलाई हराएर चर्चामा आएका सञ्जयकुमार गौतम, योजना आयोगका पूर्वउपाध्यक्ष प्युठानका डा. गोविन्दराज पोखरेल पहिलोपटक केन्द्रीय सदस्य बनेका छन् । उनीहरु दुवै इतर समूहका हुन् ।

लुम्बिनी प्रदेशअन्तर्गतकै दाङ जिल्लाका कृष्णकिशोर घिमिरे पनि १७०७ मतका साथ ३५औं नम्बरमा रहेर कांग्रेस केन्द्रीय सदस्य बन्न सफल भएका छन् । उनी देउवाको प्यानलमा थिए ।

कांग्रेस पदाधिकारीमा संस्थापन समूहबाट बर्दियाका किशोरसिंह राठौर सहमहामन्त्रीमा विजयी भएका छन् । पदाधिकारीमा लुम्बिनीबाट जाने उनी मात्रै परेका छन् । उपसभापतिमा इतर समूहबाट गुल्मीका चन्द्र भण्डारी तथा सहमहामन्त्रीमा संस्थापन समूहबाट अर्घाखाँचीका मानबहादुर विक उम्मेदार भए पनि विजयी हुन सकेनन् ।

  • ५ पुष २०७८, सोमबार प्रकाशित

  • Nabintech