१२ श्रावण २०८१, शनिबार

बाँके कांग्रेस सभापतिमा सात जना आकाक्षी
  • न्युज मानसराेवर

बाँके\ नेपाली कांग्रेस बाँकेको जिल्ला अधिवेशन पौषको २७ गतेका लागि तोकिएपछि माहोल फेरि गर्माएको छ । प्रदेश अधिवेशन र केन्द्रिय महाधिवेशनको धपेडीले केही सिथिल भएका नेता कार्यकर्ता फेरि जुर्मराएका छन् । सोमबार साँझ केन्द्रिय निर्वाचन समितिले अधिवेशनको मिति तोकेपछि अब आजदेखि नेताहरुको छलफल, भेटघाट र अन्तरक्रिया बाक्लिने निश्चित छ ।

आफ्नो पक्षमा माहोल बनाउन उम्मेदवारहरुको दौडधुप शुरु हुनेछ । यद्यपी अनौपचारिकरुपमा भेटघाट र छलफल भइरहेकै छन् । यसअघि मंसिर १४ गतेका लागि तोकिएको जिल्ला अधिवेशन प्रदेश अधिवेशनसंग जुध्ने अवस्था आएपछि स्थगित गरिएको थियो । उम्मेदवारी मनोनयनपत्र वितरण भइसकेको अवस्थामा अन्तिम समयमा आएर हठात् अधिवेशन रोकिएको थियो ।

बाँके कांग्रेसको नेतृत्वमा ७ जना नेताले उम्मेदवारी दिने घोषणा गरेका छन् । जिल्ला पार्टी सभापतिका लागि लुम्बिनी प्रदेश सरकारका वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाल, वर्तमान उपसभापति सुनिलनरसिंह राणा, संविधानसभा सदस्य बादशाह कुर्मी, नेताहरु राजकुमार बर्मा, निरन्जनसिंह सिजापति, नारायण गौडेल र लक्ष्मीनारायण शाहले उम्मेदवारी दिने घोषणा गरेका हुन् । बागेश्वरीपोष्टलाई प्रतिक्रिया दिँदै सातै जना नेताले आफूहरु सभापतिको उम्मेदवार भएको बताए । उनीहरुको एउटै स्वर छ-“म कुनै पनि हालतमा ब्याक हुन्नँ ।”

यी मध्ये सिजापति, गौडेल र शाह १३औं महाधिवेशनमा पनि सभापतिमा चुनाव लडेका थिए । पहिलो चरणमा दोस्रो बनेका सिजापति दोस्रो चरणमा भने अहिलेकी पार्टी सभापति किरण कोइरालासंग पराजित भएका थिए । बर्मा १२औं अधिवेशनमा पूर्व सभापति स्वर्गीय डा. अरुण कोइरालासंग चुनाव लडेका थिए । हमाल, राणा र कुर्मी पहिलोपटक सभापतिमा भिड्न लागेका हुन् । यी सात आकांक्षी मध्ये गौडेल बाहेक सबै सभापति शेरबहादुर देउबा पक्षीय नेताहरु हुन् । गौडेल भने डा. शेखर कोइराला निकट हुन् । गौडेल आफ्नो समूहबाट सभापतिको एकल उम्मेदवार भएका कारण प्रचारप्रसारमा जुटिसकेका छन् । राणा केही समय अघिसम्म पार्टी सभापति कोइरालासंग निकट भएपनि महाधिवेशन प्रतिनिधि लड्दा देउबा समूहतिर खुलेका थिए । बर्मा देउबा निकट भएपनि जिल्लाका स्थानीय तथा क्षेत्रीय अधिवेशनहरुमा फरक समीकरणमा रहेर भूमिका निभाएका कारण उनको भूमिका अझै प्रष्ट छैन ।

तर, बागेश्वरीपोष्टसंग उनले आफू देउबा पक्षको पुरानो नेता भएको बताए । देउबा समूहका नेताहरु समूहको आधिकारिक उम्मेदवार बन्न भगीरथ पर्यत्न गरिरहेका छन् । सबैले आफू नै आधिकारिक उम्मेदवार बन्ने दाबी गरिरहेपनि अन्तिममा केन्द्रको ग्रिन सिग्नल पाउने नेता निर्वाचनमा हाबी हुने निश्चित छ । यद्यपी नवनिर्वाचित सहमहामन्त्री बर्दियाली नेता किशोरसिंह राठौर र नेपालगञ्जको हमाल परिवारको शक्ति संघर्षले लिने रुपले देउबा समूहको आगामी समीकरण र रणनीति तय गर्दछ ।

आफू सभापतिमा लड्ने निश्चित भएपनि उम्मेदवारहरुले प्यानल अझै बनाएका छैनन् । अब अधिवेशन हुने मिति तोकिनासाथ प्यानलको तयारीमा लाग्ने उनीहरु बताउँछन् । यद्यपी गौडेल समूहका अधिकांश पदाधिकारी उम्मेदवारहरुको भने करिब टुंगो लागेको बताइएको छ । उनको प्यानलबाट उपसभापति एक जना राजकुमार मौर्यको टुंगो लागिसकेको छ । अर्को एक जना उपसभापतिमा गोपाल अधिकारीको उम्मेदवारी रहने सम्भावना प्रबल भएको बताइन्छ । एक जना सचिवमा सुधांशु कोइरालाको कन्फर्म छ । अर्को एक जना सचिवको टुंगो भने लागेको छैन । दुई सहसचिवमध्ये एक जना रेणु सिंहको टुंगो लागेपनि अर्को उम्मेदवारको टुंगो नलागेको बताइएको छ । जिल्ला सदस्यका उम्मेदवारहरु टुंगिन भने बाँकी छ ।

  • १३ पुष २०७८, मंगलवार प्रकाशित

  • Nabintech