१२ श्रावण २०८१, शनिबार

राप्ती नदीमा अवैध उत्खनन्, क्रसर उद्योगको बील प्रयोग गरेर निकासी
  • न्युज मानसराेवर

बाँके (कचनापुर) : जिल्लाका नदी तथा खोलामा अवैध रुपमा उत्खनन् हुने क्रम बढेको छ । स्थानीयका अनुसार तस्करले नदी तथा खोलाबाट अवैध उत्खनन गरेको नदीजन्य सामाग्रीलाई नेपालगन्ज र कोहलपुरतर्फ निकासी गर्दै आएका छन् ।

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ स्थित राप्ती नदीको माथेवास–खैरना घाटबाट अचेल दिनहुँजसो अवैध उत्खनन् भइरहेको स्थानीयले जानकारी दिएका छन् । उक्त स्थानबाट अवैध रुपमा उत्खनन् गरिएको नदीजन्य सामाग्रीलाई क्रसर उद्योगबाट ‘बैध’ बनाएर निकासी गर्ने गरिएको स्थानीय बताउँछन् ।

‘नदी र खोलामा उत्खनन् गर्न अहिले प्रतिवन्ध छ, तर, तस्करले ट्याक्टर र टिपर प्रयोग गरेर दिन दहाडै नदीजन्य सामाग्री ओसार्ने काम गरिरहेका छन्,’ एक स्थानीयले नाम नछाप्ने शर्तमा भने भने ‘नदीबाट ओसारेर माथेवासमा ल्याउँछन्, शक्तिमाँ क्रसर उद्योग माथेवासबाट भ्याट बील तयार गरेर कोहलपुर र नेपालगन्जमा निकासी गर्छन् ।’

उक्त क्षेत्रमा नदीजन्य सामाग्री उत्खनन् गर्नका लागि राप्ती सोनारी गाउँपालिकाले हरेक वर्ष ठेक्का लगाउने गरेको छ । यसवर्ष पनि गाउँपालिकाले ठेक्का सञ्चालनको प्रक्रिया अगाडी बढाइसकेको छ । तर, ठेक्का स्वीकृत हुन बाँकी छ । स्थानीय प्रहरीको समेत मिलेमतोमा नदीजन्य सामाग्री अवैध रुपमा उत्खनन् भएको स्थानीय बासिन्दाको दाबी छ । नजिकै रहेको प्रहरी चौकीलाई बारम्बार खबर गर्दा समेत बेवास्ता भएको स्थानीयको गुनासो छ ।

‘अवैध उत्खनन् भइरहेको ठाउँबाट प्रहरी चौकी कचनापुरको दुरि एक किलोमिटर मात्रै छ, खबर गर्दा प्रहरीले उल्टो सूचना लिग गर्छ,’ ती स्थानीयले भने ‘जिल्लाको सिडिओदेखी एसपीसम्मलाई यस विषयमा जानकारी गराउँदा र सामाग्री अवैध ओसार पसारमा संलग्न सवारी साधनको नम्बर टिपाउँदा पनि पक्राउ पर्दैनन् ।’ माथेवास-खैरनाघाट दैनिक रुपमा दर्जनौं टिपर र ट्याक्टरले अवैध रुपमा सामाग्री ओसार्ने गरेको स्थानीय बताउँछन् ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार बुधबार बिहान मात्र भे१ख ३३४७ र भे१ख ३०४५ नम्बरका दुई वटा टिपरले नदीबाट अवैध रुपमा नदीजन्य सामाग्री ल्याएर क्रसर उद्योगको भ्याट बीलसहित कोहलपुर जादै थिए । स्थानीयले सम्पूर्ण विवरणसहित उक्त टिपरको नम्बर समेत प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीलाई फोन गरेर टिपाए । तर, ती दुबै टिपर सहज रुपमै कोहलपुर प्रवेश भए । बुधबार दिउँसो पनि राप्ती नदीबाट अवैध सामाग्री बोकेर ६ वटा टिपर त्यसरी नै स्थानीय क्रसर उद्योगबाट भ्याट बील लिएर कोहलपुर सहजै प्रवेश गरेको प्रत्यक्षदर्शीले सुनाए ।

राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीले गाउँपालिका क्षेत्रभित्रका नदी र खोलामा अहिले बिक्री प्रयोजनका लागि नदीजन्य सामाग्री उत्खनन्मा रोक लगाइएको बताए । ‘बिक्री प्रयोजनका लागि अहिले नदीजन्य सामाग्री उत्खनन् बन्द गरिएको छ, सामाग्री उत्खनन् गर्नका लागि हामीले ठेक्का खोलिसकेका छौं, तर ठेक्का सम्झौता अझै भइसकेको छैन,’ उनले भने । गाउँपालिकाको बोर्ड बैठकको निर्णयले स्थानीय जनतालाई घर बनाउनका लागि भने नदीजन्य सामाग्री संकलन गर्न अनुमति दिइएको शाहीले सुनाए । ‘बिक्री गर्ने प्रयोजनका लागि कसैले पनि अबैध रुपमा उत्खनन् गरेको जानकारी हामीलाई छैन,’ उनले थपे ।

बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीले राप्ती सोनारीका नदी तथा खोलाबाट अबैध उत्खनन गरेर क्रसर उद्योगको भ्याट बील प्रयोग गरी निकासी गरिरहेको भन्ने सूचना आफुलाई प्राप्त भएपछि कारबाही प्रक्रिया अगाडी बढाउन प्रहरीलाई निर्देशन दिएको बताए । ‘नदीबाट अबैंध उत्खनन गरेको सामाग्री क्रसर उद्योगको बील प्रयोग गरी कोहलपुर र नेपालगन्जमा निकासी गरिरहेको सूचना पाएपछि मैले नियन्त्रण गर्नका लागि एसपी साबलाई भनेको हुँ,’ खत्रीले भने ‘सम्बन्धित गाउँपालिकासँग बुझेर अबैध उत्खनन् विरुद्ध एक्सनमा जाने कुरा भएको छ ।’

इलाका प्रहरी कार्यालय कार्यालय कोहलपुरले अवैध उत्खनन्मा संलग्न एउटा टिपरलाई भने बुधबार बेलुकातिर नियन्त्रणमा लिएको जनाएको छ । भे१ख ३२३१ नम्बरको टिपरलाई नियन्त्रणमा लिइएको कोहलपुर प्रहरीले जानकारी दिएको छ । अवैध निकासीमा संलग्न अन्य टिपरलाई भने प्रहरीले छाडेको छ ।

  • १५ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech