१६ चैत्र २०८०, शुक्रबार

कोहलपुर ओपन क्रिकेट : आयोजक केसीए, च्याम्पियन्स र बि एण्ड बि क्वार्टरफाइनलमा
  • न्युज मानसराेवर

शारदा एजुकेशन पार्कको आयोजनामा कोहलपुरमा ‘कोहलपुर ओपन क्रिकेट प्रतियोगिता’ अन्तर्गत दोश्रो दिन तिन वटा खेल सम्पन्न भएका छन् ।

बि एण्ड बि साइकल सेन्टर र एफ एण्ड एफ फेसन एण्ड फ्युजनको मुख्य प्रायोजन रहेको प्रतियोगिता अन्तर्गत कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलहरु जित्दै च्याम्पियन्स स्पोर्ट्स क्लब, कोहलपुर क्रिकेट एकेडेमी र बिबि वारियर्स क्वार्टरफाइनल प्रवेश गरेका छन् ।

प्रतियोगिता अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा च्याम्पियन्स स्पोर्ट्स क्लबले रनियारपुर स्पोर्ट्स क्लबलाई ६ विकेटले पराजित गर्यो । पहिले ब्याटिंग गर्दै रनियारपुरले दिएको ११० रनको लक्ष्य च्याम्पियन्सले ४ विकेट गुमाएर १४.५ ओभरमा पुरा गर्यो ।

च्याम्पियन्सको लागि रोहन केसीले सर्वाधिक ५५ रन तथा सोम शर्माले अविजित ४३ रन बनाए ।

यस अघि मैदानमा उत्रिएको रनियरपुरले निर्धारित १५ ओभरमा ७ विकेट गुमाएर १०९ रन बनाएको थियो । रनियारपुरको लागि इरफान खानले सर्वाधिक २९ रन, नफुस खानले २० रन बनाएका थिए । च्याम्पियन्सको बलिंगमा सकिल खान र गोभिन्द बिस्टले समान २ विकेट लिए ।

खेलको प्लेयर फ द म्याच अलराउण्ड योगदान दिएका च्याम्पियन्स क्लबका सोम शर्मा चुनिए ।

 

त्यसैगरी दोश्रो खेलमा आयोजक कोहलपुर क्रिकेट एकेडेमी (केसीए) ले ढकेरी किंग्सलाई १३९ रनले पराजित गर्यो ।

कोहलपुरले पहिले ब्याटिंग गर्दै दिएको २०० रनको लक्ष्य पछ्याउने क्रममा ढकेरीले निर्धारित १५ ओभरमा ६० रन मात्र बनाउन सक्यो । ढकेरीकालागि संजय खड्काले सर्वाधिक १६ तथा भिम बहादुर खत्रीले १५ रन बनाए । कोहलपुरको बलिंगमा रोशन शाहले २ विकेट तथा सुजल केसी र लभकुश यादवले १र१ विकेट लिए ।

यस अघि टस हारेर ब्याटिंग गरेको कोहलपुरले निर्धारित १५ ओभरमा २ विकेट गुमाएर १९९ रन बनाएको थियो ।

कोहलपुरको लागि शिब डाँगीले ३७ बलमा ११ चौका र ६ छक्काको मद्धत्तले सर्वाधिक ९६ रन बनाए । यस्तै विनायक गिरिले अर्धशतक बनाउने क्रममा ३४ बलमा ४ चौका र ३ छक्का मद्दतले ५१ रन बनाए । सन्दिप नेपालीले २३ तथा अजय सहानीले २१ रन बनाए ।

खेलको प्लेयर अफ द म्याच कोहलपुर क्रिकेट एकेडमीका शिब डाँगी चुनिए ।

 

त्यसैगरी मंगलबार नै सम्पन्न तेश्रो खेलमा बिबि वारियर्सले रझेना टर्मिनेटरलाई ९१ रनले पराजित गर्यो । बिबि वारियर्सले पहिले ब्याटिंग गर्दै दिएको १७९ रनको लक्ष्य पछ्याउने क्रममा रझेना टर्मिनेटरले १४.१ ओभरमा ८७ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो ।

रझेनाको ब्याटिंगमा सौगात रानाभाटले सर्वाधिक २६ तथा प्रदिप बुढाले २१ रन बनाए । बिबि वारियर्सको बलिंगमा आकाश बिस्टले ४ विकेट तथा बिशाल पौडेल र अफाक शेखले समान २ विकेट लिए ।

खेलको पहिलो पारीमा टस जितेर ब्याटिंग रोजेको बिबि वारियर्सले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर १७८ रन बनाएको थियो ।

वारियर्सको लागि कप्तान सिद्धान्त राज शाहीले सर्वाधिक ५५ रन बनाए जुन क्रममा ३३ बलमा २ चौका र ६ छक्का हिर्काए । सद्दाम खानले ३२, प्रनित थापाले २२ तथा हसन खानले २१ रन बनाए । रझेनाको बलिंगमा जानु कस्कर, सुमन थापा र घनश्याम रावतले समान २ विकेट लिए ।

खेलको प्लेयर अफ द म्याच बिबि वारियर्सका आकाश बिष्ट चुनिए ।

प्रतियोगिता अन्तर्गत बुधबार पनि तिन वटा खेलहरु हुनेछन् । पहिलो खेलमा विहान ८ बजे नेपालगंज च्याम्प र युभीसीसी कोहलपुरले, दोश्रो खेलमा ११ बजे बिबिसीसी किर्तिपुर र राझा स्पोर्ट्स क्लब तथा तेश्रो खेलमा १ बजे सम्झना स्पोर्ट्स क्लब र न्युरोड-११ ले प्रतिस्पर्धा गर्नेछन् ।

  • २१ पुष २०७७, मंगलवार प्रकाशित

  • Nabintech