११ श्रावण २०८१, शुक्रबार

‘सामुहिक प्रयासले मात्र बालविवाह न्यूनीकरण गर्न सकिने’
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बालविवाह न्यूनीकरणका लागि सामुहिक प्रयास हुनुपर्नेमा जोड दिइएको छ । बालविवाह नेपाली समाजको जटिल समस्याको रुपमा रहेको भन्दै सबैको सामुहिक प्रयासले मात्र बालविवाह न्यूनीकरण सम्भव हुने सरोकारवालाको भनाई छ ।

जिल्ला बाल अधिकार समिति बाँके, प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेत र सामाजिक सरोकार सचेतन मन्च(स्याक) नेपालको आयोजनामा बाँके जिल्लामा बालविवाह रोकथाम सम्बन्धि प्रयास तथा बालविवाह मुक्त घोषणा अभियानका लागि आयोजित सरोकारवालाको बैठकमा बालविवाह रोकथामका लागि सबैले प्रतिवद्धता जनाउँदै सामुहिक प्रयास थाल्नुपर्नेमा जोड दिएका छन् ।

जिल्ला समन्वय समिति संयोजक एवम् जिल्ला बाल अधिकार समितिका अध्यक्ष अजयकुमार श्रीवास्तवले बालविवाह अन्त्यका लागि स्थानीय जनप्रतिनिधि गम्भीर बन्नुपर्ने बताए । उनले बालविवाह स्थानीय सरकारको प्राथमिकता र सरोकारको विषय बन्न नसकेको गुनासो गरे ।

शिक्षा विकास समन्वय इकाई बाँकेका प्रमुख रामसुरेश यादवले समाजको हानिकारक संस्कारका रुपमा रहेको बालविवाह न्यूनीकरणका लागि शिक्षा र सचेतना बढाउनुपर्नेमा जोड दिए ।

सामाजिक विकास डिभिजन कार्यालय बाँकेका प्रमुख रामकरण पालले सबैको साझा प्रयासबाट मात्रै बालविवाहको मुद्दालाई सम्बोधन गर्न सकिने बताए । उनले सरकारी, गैरसरकारी संस्था तथा सरोकारवाला र समाज स्वयंको ऐक्यबद्धता र प्रतिवद्धता जरुरी रहेको बताए ।

प्लान नेपालकी बालविवाह रोकथाम परियोजना संयोजक आशा बुढाले बालविवाह मुक्त समाजका लागि आफूहरु क्रियाशील रहेको बताउँदै सबैको हातेमालोले लक्ष्य हासिल हुने विश्वास ब्यक्त गरिन् ।

स्याक नेपालका बालविवाह रोकथाम परियोजना प्रवन्धक जगदिश थापाले जिल्लामा बालविवाहको अवस्था, स्याकले न्यूनीकरणका लागि गरेका प्रयास, बालविवाह मुक्त वडा घोषणाका लागि भएका तयारी लगायतका विषयमा जानकारी गराए ।

वैठकमा राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जकी द्वारिका अधिकारीले समाजमा जरा गाडेर बसेको कुसंस्कार अन्त्यका लागि ठूलो मेहनत जरुरी रहेको बताइन् ।

वैठकमा जिल्ला समन्वय अधिकारी लोक बहादुर सुनार, स्याककी टिम लिडर नेत्रकला शाही, संचारकर्मी, राजनीतिक दलका प्रतिनिधि, बाल तथा किशोरी क्लबका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति थियो ।

  • २५ पुष २०७७, शनिबार प्रकाशित

  • Nabintech