१६ चैत्र २०८०, शुक्रबार

नरैनापुरद्वारा करोडौंका योजना माग
  • न्युज मानसराेवर

बाँके बैजनाथ । नरैनापुर गाउँपालिकाले राष्ट्रिय योजना आयोगसंग करोडौंका योजना माग गरेको छ । आयोगले गत मंसिर ३० गते सूचना प्रकाशित गरेर स्थानीय तहबाट समपूरक अनुदानतर्फ १ करोडदेखि १० करोड र विशेष अनुदानतर्फ ५० लाखदेखि १ करोडका योजना माग गर्न आह्वान गरेपछि गाउँ कार्यपालिकाको बैठक बसेर योजना माग गरिएको हो ।

पुष २८ गते बसेको बैठकले समपूरक र विशेष अनुदानका योजना माग गर्ने निर्णय गरेर आयोगमा पठाएको गाउँपालिकाका प्रमुुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले जानकारी दिए ।

समपूरकतर्फ पालिकाका ६ वटै वडाका सडक स्तरोन्नतिका लागि योजना माग गरिएको छ । प्रत्येक वडाका लागि एक एक वटा भौतिक पूर्वाधारको योजना माग गरिएको शाहीले बताए ।

वडा नम्बर ६ को गंगापुरदेखि जमुनी हुँदै हुलाकी सडकसम्म जोड्ने ८ मिटर चौडा ३ किलोमिटर सडक स्तरोन्नति, वडा नम्बर ५ मा हुलाकी सडकदेखि मोतिपुर—नयाँबस्ती जोड्ने ५ सय मिटर सडक कालोपत्रे, वडा नम्बर ४ मा जयरामपुर्वादेखि दौलतपुर खोदवाँ हुँदै हुलाकी सडक जोड्ने २.८ किलोमिटर सडक स्तरोन्नति, वडा नम्बर ३ को कालागाउँदेखि पचपडवा कोटिया ३.२ किलोमिटर सडक स्तरोन्नति, वडा नम्बर २ मा बेहचहवादेखि शमशेर अलीको घरसम्मको २.८ किलोमिटर सडक स्तरोन्नति र वडा नम्बर १ को हुलाकी सडकदेखि बनियाँगाउँसम्मको ३ किलोमिटर सडक स्तरोन्नतिको योजना माग गरिएको प्रमुख प्रशासकीय अधिकृत शाहीले जानकारी दिए ।

विशेष अनुदानतर्फ तीन वटा विद्यालयको नयाँ संरचना निर्माण, स्वास्थ्य चौकी भवन र ३० वटा खोप केन्द्र बनाउन योजना माग गरिएको छ । वडा नम्बर ४ मा स्वास्थ्य चौकी भवन निर्माण, वडा नम्बर ६ को नेरा प्रावि कुदरबेटवा, वडा नम्बर ५ को नेराप्रावि गंगापुर र वडा नम्बर २ को नेराप्रावि रोशनपुर्वाको पुराना र जीर्ण संरचना भत्काएर नयाँ बनाउने मागिएको छ । पुष २८ कै कार्यपालिका बैठकले टोल विकास संस्थाको गठन तथा परिचालन कार्यविधि २०७७ पनि पारित गरेर लागू गर्ने निर्णय गरेको सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले जानकारी दिए ।

यो निर्णयपछि अब गाउँपालिकामा टोल विकास संस्थाले विधानसहित संस्था दर्ता गरेर मात्र काम गर्न पाउनेछन् । अध्यक्ष उपाध्यक्षसहित ७ देखि ११ सदस्यीय समिति गठन गर्नुपर्नेछ । स्थायी प्रकृतिका संरचना निर्माण गर्दा उनीहरुलाई जवाफदेही बनाउँदै दिगो विकासका लागि अभिप्रेरित गर्न यस्तो निर्णय गरिएको सूचना अधिकारी मिश्रले बताए ।

  • ५ माघ २०७७, सोमबार प्रकाशित

  • Nabintech