१५ चैत्र २०८०, बिहीबार

राप्ती पुलको प्रधानमन्त्री ओलीद्वारा उद्घाटन
  • न्युज मानसराेवर

दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा निर्माण भएको पुलको सोमवार उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरबाट पुल उद्घाटनका लागि राप्ती उपत्यकाको सिसहनिया पुगेका हुन् ।

पुल उद्घाटनपछि उनले राप्ती गाउँपालिका(२ लालमटियामा आयोजित जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले राप्ती नदीमा निर्मित पुलको अवलोकन समेत गरेका छन ।

राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने गरी नेपालकै दोस्रो लामो पक्की पुल हो ।

पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै निर्माण भएको पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ । करीब रु. एक अर्ब लागतको सो पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएको थियो । पुल निर्माणपछि देउखरी क्षेत्रका सिसहनिया महदेवा वारिपारि गर्न सहज भएको छ ।

यसअघि वर्षायाममा उर्लिएको भेलमा जोखिमपूर्ण तरिकाले राप्ती नदीमा डुङ्गाबाट वारपार गर्नुपर्ने बाध्यता थियो । पुल निर्माण भएसँगै देउखुरीबासीलाई यात्रा गर्न सहज हुने छ ।

पुल निर्माणबाट साविकको गोबरडिहा गाविस र साविकको सिसहनियाँ क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् । पछिल्लो समय पुल पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ । दाङ जिल्लाका मात्रै नभएर बाहिरी जिल्लाबाट समेत आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् ।

अहिले गढवा गाउँपालिका अन्तर्गत पर्ने राप्तीपारिको क्षेत्रबाट आउँदा कालाकाटे(भालुवाङ हुँदै करीब डेढ घण्टाको सवारी साधनबाट यात्रा गर्नुपर्ने अवस्था छ । पुल निर्माणसँगै १५ मिनेटभित्रै वारपार गर्न सकिने भएको छ ।

बर्दियाको गेरुवा नदीमा पुल बनाएकै कम्पनी द एएनके लुम्बिनी वाइपी जेभीले देउखुरीको राप्ती नदीको पुल बनाउने जिम्मा पाएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मङ्सिर २२ गते पुल शिलान्यास गरेका थिए ।

  • १२ माघ २०७७, सोमबार प्रकाशित

  • Nabintech