६ बैशाख २०८१, बिहीबार

प्रधानमन्त्री कप : अपेक्षितको फितलो प्रदर्शन, नयाँको लोभलाग्दो
  • न्युज मानसराेवर

काठमाडौं- प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा नाम चलेका खेलाडी छायाँमा पर्दा केही युवा खेलाडीको प्रदर्शन भने उत्कृष्ट रह्यो। टिममै पर्न संघर्षरत केही खेलाडीले आफूलाई प्रमाणित गरे भने सिनियर खेलाडीको प्रदर्शन बिर्सनलायक रह्यो।

नेपाल क्रिकेट संघ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को प्रतिबन्धमा पर्दा नेपाली घरेलु प्रतियोगिता मरेर गयो। खेलाडीहरू ‘बेवारिसे’ भए। घरेलु प्रतियोगितालाई चलायमान राख्न र खेलाडीको अभिभावकत्व ग्रहण गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सन् २०१७ बाट प्रधानमन्त्री कप सुरु गर्‍यो।

आइसिसीको प्रतिबन्ध फुकुवा भएपछि पहिलो पटक प्रधानमन्त्री कपको आयोजना क्यानले माघ २ देखि १७ गतेसम्म मूलपानी क्रिकेट मैदान र त्रिवि क्रिकेट मैदानमा सम्पन्न गर्‍यो। प्रतियोगिता नहुनुभन्दा भएकै बेस भनी धेरथोर कमीकमजोरी भुल्ने हो भने खेलाडीले आफ्नो प्रतिभालाई प्रस्फुटन गर्न पाए।

नाम चलेका केही र राष्ट्रिय टिमका सिनियर खेलाडीको नै प्रदर्शन प्रधानमन्त्री कपमा उत्कृष्ट रहेन। चोटका कारण लामो समय थला परेका र केही युवा खेलाडीको प्रदर्शन भने तारिफयोग्य नै रह्यो।

चाहे त्यो, गण्डकी प्रदेशका विशाल पौडेलको ह्याट्रिक विकेट होस्, या १५ वर्षीय अर्जुन कुमालको निडर ब्याटिङ। अझ सुनील धमला र विनोद भण्डारीको शतकले प्रतियोगितालाई थप रोचक बनायो। टिममै पर्न संघर्ष गरिरहेका पृथु बास्कोटाको उच्च प्रदर्शनले सबैको ध्यान तानेको हुनुपर्छ।

बदलासहितको उपाधि
प्रधानमन्त्री कपमा यसअघि पनि आर्मीलाई नै पराजित गर्दै एपिएफले उपाधि जितेको थियो। लगातार दुई पटक फाइनलमा पुगेर उपविजेता बनेको आर्मीले चौथो संस्करणमा भने एपिएफलाई ३३ रनले पराजित गर्दै उपाधि चुम्यो।

  • १८ माघ २०७७, आईतवार प्रकाशित

  • Nabintech