११ बैशाख २०८१, मंगलवार

उत्तराखण्डमा हिमनदी फुट्दा सातजनाको शव फेला, १२५ अझै बेपत्ता
  • न्युज मानसराेवर

बाँके बैजनाथ । भारतको उत्तराखण्डमा हिमनदी फुटेर गएको बाढीमा बेपत्ता भएकाहरुको खोजी तथा उद्धारकार्य जारी रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै भारतीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तराखण्डको जोशीमठमा अलकनन्दा हिमनदी फुटेर धौलीगंगा नदीमा मिसिँदा बाढी आएको हो । अलकनन्दामा पनि पानीको सतह बढेको छ ।

हिमनदी फुटेर आएको बाढीमा परि ज्यान गुमाएका कम्तीमा सातजनाको शव निकालिएका स्थानीय अधिकारीले बताएका छन्। अझै पनि पनि झण्डै १२५ जना बेपत्ता रहेको र खोजी भइरहेको स्थानीय अधिकारीलाई उद्धृत गरि समाचार संस्था रोयटर्सले जनाएको छ ।

चमोली जिल्लाको हिमनदी फुटेर स्थानीय ऋषिगंगा जलविद्युत आयोजनाको बाँध बगाउँदा वरपरको बस्तीमा जोखिममा आएको छ ।

जलविद्युत आयोजनाको सुरुङमा काम गरिरहेका मजदुरहरु हिमनदी फुटेर आएको बाढीका कारण बढि प्रभावित भएका हुन् ।

यस्तै तपोवन बाँधमा पनि ठूलो क्षति पुगेको र नजिकको सुरुङमा मानिसहरु फसेको आशंका रहेकाले उद्धार तथा खोजीको काम भइरहेको स्थानीय अधिकारीले बताएको इण्डियन एक्सप्रेसले जनाएको छ ।

तपोवनको ९०० मिटर लामो सुरुङ्गमा उद्धारकार्य आइतबार रातभर जारी रहेको उत्तराखण्डका प्रहरी प्रमुख अशोक कुमारले बताएका छन् ।

राज्यका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले ट्वीट गरेर सुरक्षाकर्मीहरुले रातभर उद्धारको काम जारी राखेको जानकारी दिएका छन् । उद्धारमा भारतीय सेना पनि सामेल छ ।

हिमनदी फुटेपछि उत्तराखण्डका सबै जिल्लामा उच्च सतर्कता अपनाउन भनिएको छ । यस्तै गंगा नदीको किनारका बासिन्दाहरुलाई पनि सचेत पारिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले अवस्थामा आफ्नो निगरानी रहेको र पूरा देशको साथ उत्तराखण्डलाई रहेको बताएका छन् ।

  • २६ माघ २०७७, सोमबार प्रकाशित

  • Nabintech