८ बैशाख २०८१, शनिबार

राप्तीसोनारी ‘पूर्णखोप सुनिश्चितता गाउँपालिका’ घोषणा
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बाँकेको राप्तीसोनारी गाउँपालिकालाई सोमबार पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । राष्ट्रिय पूर्ण खोप निर्देशिका बमोजिम सम्पुर्ण प्रक्रिया पुरा गरी १६ देखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप दिलाई पूर्ण खोप पाएको सुनिश्चितता गरिएकाले घोषणा गरिएको हो ।

राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले एक औपचारिक समारोहका बीच पूर्ण खोप गाउँपालिका भएको घोषणा गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एवम् जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवले घोषणा गर्ने मात्र नभएर आगामी दिनमा पनि खोप अभियानलाई निरन्तरता दिन सक्नुपर्ने बताए ।

उनले पूर्ण खोप घोषणा गर्दै गर्दा महिला स्वास्थ्य स्वयं सेविकाको योगदानलाई गाउँपालिकाले भुल्न नहुने सुझाव दिए । ‘महिला स्वास्थ्य स्वयं सेविकाहरुको यसमा महत्वपुर्ण भुमिका छ, गाउँपालिकाले उहाँहरुको सेवा सुबिधा बढाउनमा कत्तिपनि कन्जुस्याई गर्नु हुदैन,’ श्रीवास्तवले भने । आगामी फागुनमहिना भित्रमा बाँकेलाई नै पूर्ण खोप जिल्ला घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए ।

राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले सबैको सहयोग र सहकार्यले गाउँपालिकालाई पूर्ण खोप घोषणा गर्न सम्भव भएको बताए । गाउँपालिकाले स्वास्थ्य क्षेत्रका लागि बार्षिक रुपमा करोडौं बजेट खर्च गर्दै आएको जानकारी गराउँदै उनले महिला स्वास्थ्य स्वयं सेविकाको योगदानलाई कदर गर्दै सेवा, सुबिधा दिइरहेको बताए । गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिएको अध्यक्ष थारुले जोड दिए ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले सबै गाउँपालिका र नगरपालिकाले पूर्ण खोप पालिका घोषणा गरिसकेपछि फागुन मसान्त सम्म जिल्लालाई घोषणा गरिने बताए । यसका लागि सबै स्थानीय तहले साथ दिनुपर्ने उनको भनाई थियो ।

उक्त कार्यक्रममा राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष चन्द्रबहादुर ओली, डब्लु.एच.ओ.का प्रतिनिधी डाक्टर पवन उपाध्याय, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्मा, राप्तीसोनारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद चुडाली लगायतले मन्तब्य राखेका थिए ।

  • २७ माघ २०७७, मंगलवार प्रकाशित

  • Nabintech