७ बैशाख २०८१, शुक्रबार

विद्याकी देवी सरस्वतीको पूजाआराधना गरि श्रीपञ्चमी मनाईंदै
  • न्युज मानसराेवर

बाँके बैजनाथ । मंगलवार श्री पञ्चमी पर्व । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजाआराधना गरी मनाइँदै छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला साधनाका वस्तु कलम, कापी, कूची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजाआराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु शुरु हुने भएकोले आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ । श्रीपञ्चमीका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ ।

यस वर्ष भने शुक्र अस्त भएकाले विवाह, व्रतबन्ध जस्ता कर्म यस पर्वमा गरिँदैन । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । नेपालगञ्जस्थित सरस्वती मन्दिर, बागेश्वरीलगायत विभिन्न मन्दिरमा मंगलवार बिहानैदेखि पूजाआजा गर्न भक्तजन, विशेषगरी छात्रछात्राको घुइँचो लागेको छ ।

यसैगरी आजका दिन काठमाण्डौस्थित हनुमानढोका दरबारमा वसन्त श्रवण गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतअनुसार बिहान १० बजेर १७ मिनेटमा हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको छ । वसन्त श्रवणमा राष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभागी हुने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।

  • ४ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech