२६ बैशाख २०८१, बुधबार

बाँकेमा दलित पत्रकारहरुको वर्तमान अवस्था र चुनौती विषयक अन्तरक्रिया
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  राष्ट्रिय दलित पत्रकार संघ बाँकेको अन्तरक्रिया तथा जिल्ला भेला सम्पन्न भएको छ । जिल्ला शाखा बाँकेको आयोजनामा दलित पत्रकारहरुको वर्तमान अवस्था र चुनौती विषयक अन्तरक्रिया तथा जिल्ला भेला सम्पन्न भएको हो ।

 

अन्तरक्रियामा राज्यद्धारा उपेक्षित दलित समुदायको मुद्दालाई मिडियामा शसक्त रुपमा उठाउनु पर्नेमा सरोरकावालाहरुले जोड दिए । अहिले पनि मिडियामा दलित समुदायका पत्रकारहरुको सहभागीता न्युन रहेको भन्दै सहभागिता र दलितका मुद्दालाई प्राथमिकताका साथमा उठाउनुपर्नेमा उनीहरुको जोड छ । उक्त अवसरमा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मधु शाहीले मिडियामा दलित समुदायका पत्रकारहरुको सहभागिता न्युन रहेको बताइन् ।

उनका अनुसार मिडियामा दलित समुदायको मुद्दा उठान गर्नको लागि पत्रकार उत्पादनमा जोड दिनुपर्छ । उक्त अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारूले बाँके जिल्लामा अहिले पनि दलित समुदायका पत्रकारहरु न्यून संख्यामा रहेको बताए । अहिले पनि समाजमा दलित र महिलाहरु निकैपछि रहेको भन्दै उनीहरुको पक्षमा पत्रकारहरुले कलम चलाउन आवश्यक रहेकोमा अध्यक्ष थारुले जोड दिए । बाँके जिल्लामा क्रियाशिल २६७ जना सदस्यहरुमा १५ जना दलित ,मधेसी ३६ जना र थारु समुदायका २४ जना मात्र पत्रकार रहेको अध्यक्ष थारुले जानकारी दिए ।

राष्ट्रिय दलित पत्रकार संघ जिल्ला शाखा बाँकेकी अध्यक्ष रूपा गहतराजले संघको केन्द्रीय नेतृत्वलाई जवाफदेही बनाउने र दलित समुदायका पत्रकारहरु बीच आपसी समन्वय, अन्तरक्रिया र छलफल गर्नको लागि कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ । उक्त भेलाले विभिन्न ६ वटा निर्णय समेत गरेको छ ।

बाँकेमा दलित पत्रकारहरुलाई क्रियाशिल बनाउने, नयाँ सञ्चारकर्मी उत्पादनको लागि ६ महिने परीक्षण काल हटाउन पहल गर्ने, दलित पत्रकार उत्पादनको लागि तालिम सञ्चालन गर्ने,लामो समय क्रियाशिल पत्रकारका रुपमा काम गरेकालाई महासंघको सदस्यताका लागि पहल गर्ने निर्णय भएको सचिव कविन्द्र परियारले जानकारी दिए ।

यस्तै दलित समुदायका सवालमा शसक्त रुपमा कलम चलाउने र दलित पत्रकारहरुलाई स्थानीय सञ्चार माध्यममा अवसर दिइनुपर्ने निर्णय गरिएको उनले जानकारी दिए । यसैगरी राष्ट्रिय दलित पत्रकार संघको आगामी २८ र २९ गते हुने केन्द्रीय अधिवेशनको अवसरमा बाँके जिल्लाको अवस्थाका विषयमा कार्यपत्र प्रस्तुत गर्ने निर्णय गरिएको उनको भनाइ छ ।

भेलाको औपचारिक सत्रमा दलित अधिकारकर्मी निर्मला सुनार ,दलित सेवा संघ बाँकेका अध्यक्ष कृष्ण विके , कोहलपुर नगरपालिकाका आर्थिक समितिका संयोजक डिलबहादुर परियार र प्रतिबोध एफ.एम.का अध्यक्ष बुद्ध सुनारले पनि मिडियामा दलित समुदायका मुद्दालाई शसक्त रुपमा अघि बढाउने विषयमा जोड दिएका थिए । उक्त भेलामा बाँके जिल्लमा क्रियाशिल रुपमा पत्रकारिता गरिरहेका पत्रकारहरुको सहभागिता रहेको थियो ।

  • १४ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech