१५ बैशाख २०८१, शनिबार

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै
  • न्युज मानसराेवर

काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै छ।

बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्न लागेको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए।

आज बस्ने केन्द्रीय कमिटी बैठकले अब पार्टीलाई कसरी अगाडि बढाएर लैजाने, संगठन निर्माण, नेता कार्यकर्ताको व्यवस्थापन र जिम्मेवारीलगायतका बारेमा आवश्यक निर्णय गर्ने बताइएको छ।

यस्तै आजको बैठकले अदालतको फैसलापछि माओवादी केन्द्रमा नफर्किएका नेताहरूका विषयमा पनि निर्णय गर्नेछ।

यसअघि शनिबार बसेको स्थायी कमिटी बैठकले सरकारमा रहेका माओवादी केन्द्रका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

त्यस्तै नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि केन्द्रीय कमिटीको बैठकबाट माओवादी केन्द्रका नेता रामबहादुर थापासहित २३ जना नेतालाई केन्द्रीय सदस्यमा नियुक्त गरेका थिए।

ती नेताहरूलाई दल त्याग गरेको हो वा के हो त्यसका सम्बन्धमा २४ घन्टाभित्र स्पष्टीकरण दिन पनि माओवादी केन्द्रले निर्देशन दिएको थियो।

ती नेता कार्यकर्ताको स्पष्टीकरण नआएमा उनीहरूलाई माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहने गरेर निष्कासन गर्ने निर्णय पनि केन्द्रीय कमिटी बैठकले गर्न सक्ने एक नेताले जानकारी दिए।

एमाले अध्यक्ष ओलीले २३ जनालाई केन्द्रीय कमिटीमा नियुक्त गर्दै जिम्मेवारी समेत दिएपछि एमालेको माधव-झलनाथ पक्षले तीव्र असहमति जनाएको छ।

ओलीले अदालतको फैसलापछि एमालेलाई एकताबद्ध बनाएर लैजानुको सट्टा स्वेच्छाचारी र विधानविपरीत काम गरेको भन्दै डटेर सामना गर्ने माधव-झलनाथ पक्षले निष्कर्ष निकालेको छ।

एमालेमा अध्यक्ष ओलीको कार्यशैलीले झनै तीव्र विवाद चुलिएको छ। ओलीले एकलौटी हिसाबले नवौं महाधिवेशनबाट निर्वाचित भएर आएका नेताहरूको पद नै खारेज गरेर अध्यक्ष र महासचिव मात्रै रहने निर्णय गरेपछि विवाद चुलिएको हाे।

ओलीले माधव-झलनाथ पक्षीय नेताहरूको जिम्मेवारी खोसेर सात वटै प्रदेशका इन्चार्ज, अध्यक्ष र सचिवमा आफू निकटका नेताहरूलाई जिम्मेवारी तोकेपछि शनिबार माधव-झलनाथ पक्षले पनि समानान्तररूपमा सातवटै प्रदेशमा इन्चार्च तोकेका छन्।

उक्त पक्षले चैत ४-५ मा राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ।

 

  • १ चैत्र २०७७, आईतवार प्रकाशित

  • Nabintech