१४ बैशाख २०८१, शुक्रबार

एमाले संसदीय दल र केन्द्रीय कमिटी बैठक बस्दै, माधव-झलनाथ पक्ष सहभागी नहुने
  • न्युज मानसराेवर

काठमाडौं – सत्ताको नेतृत्व गरेको नेकपा एमालेको आज संसदीय दल र केन्द्रीय कमिटी बैठक बस्दै छ।

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय दल र केन्द्रीय कमिटी बैठक सरकारी निवास बालुवाटारमा बोलाएका छन्।

एमाले सांसद शेरबहादुर तामाङले बिहान साढे १० बजे संसदीय दलको बैठक र दिउँसो १ बजे केन्द्रीय कमिटीको बैठक बस्न लागेको जानकारी दिए।

यसअघि चैत ५ गते बसेको संसदीय दलको बैठकले २४ सदस्यीय संसदीय बोर्ड गठन गरेको थियो।

त्यस्तै संसदीय दलको विधान संशोधनसम्बन्धी प्रस्ताव गर्न कार्यदलसमेत गठन गरेको थियो।

उक्त दिनको बैठकमा नेकपा एमालेकै माधव-झलनाथ पक्ष भने सहभागी थिएनन्।

आजका लागि बोलाइएको संसदीय दल र केन्द्रीय कमिटी बैठकमा पनि माधव–झलनाथ पक्षले सहभागिता नजनाउने निर्णय गरेको छ।

शुक्रबार साँझ बसेको स्थायी कमिटीका सदस्यहरूको बैठकले सहभागिता नजनाउने निर्णय गरेको नेता विष्णु रिजालले जानकारी दिए।

विगतमा संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद् भवन बानेश्वरमा बस्दै आएकोमा यसपटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएकाले त्यसमा सहभागी नहुने निर्णय माधव–झलनाथ पक्षले गरेको हो।

बैठक दलको कार्यालय वा संसद् भवनमा आयोजना गरी उपयुक्त अजेण्डा र प्रक्रिया अवलम्बन गरिएमा भने विचार गर्न सकिने नेताहरू बताउँछन्।

त्यस्तै केन्द्रीय कमिटी बैठकका नाममा आफ्ना गुटका मानिसलाई मात्र खबर गरी फागुन २८ गते अवैध ढंगले भेला गरी विधान उल्लंघन गरिएकाले उक्त कथित बैठक खारेज नभएसम्म केन्द्रीय कमिटीको बैठक बस्न नसक्ने भएकाले आजको बैठकमा समेत सहभागिता नजाउने निर्णय गरिएकाे साे पक्षले जनाएकाे छ।

फागुन २३ मा सर्वोच्च अदालतको फैसलापछि ओलीले फागुन २८ मा विशेष केन्द्रीय कमिटी बैठक भन्दै पार्टी केन्द्रीय कमिटी र विभागहरूमा हेरफेर गरेका थिए।

त्यसपछि ओलीसँग भएको वार्तामा पनि नेपाल पक्षले फागुन २८ को निर्णय खारेजीको माग राखेको थियो।

ओलीले माओवादी केन्द्रबाट आएका २३ जनालाई एकलौटीरूपमा केन्द्रीय कमिटीमा मनोनीत गरेपछि माधव–झलनाथ पक्षले त्यसमा असहमति जनाएको छ।

 

  • ७ चैत्र २०७७, शनिबार प्रकाशित

  • Nabintech