१४ बैशाख २०८१, शुक्रबार

६ वर्षमा मरे १६१ गैंडा

चितवन र पर्सामा आजदेखि गैंडा गणना

  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  दुर्लभ वन्यजन्तु एकसिंगे गैंडाको गणना सोमबार सुरु हुँदै छ । चितवन राष्ट्रिय निकुञ्जसहित गैंडा पाइने देशका विभिन्न निकुञ्जमा ६ वर्षपछि गणना हुन लागेको हो । सन् २०१५ को गणनामा नेपालमा ६ सय ४५ वटा गैंडा थिए ।

उक्त गणनाले त्यसबेला चितवन निकुञ्जमा मात्रै ६ सय ५ वटा गैंडा रहेको देखाएको थियो । गणनापछि चितवन निकुञ्ज र आसपासको वन क्षेत्रमा गरेर १ सय ६१ गैंडा मरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिएका छन् । ‘तीमध्ये चोरी सिकारीले मारेका गैंडा जम्मा ६ वटा छन् । १ सय ५५ वटा बूढो भएर र प्राकृतिक कालगतिसँगै केही दुर्घटनामा परेर मरेका हुन्,’ उनले भने ।

कुनै बेला चोरी सिकार गैंडा संरक्षणको प्रमुख चुनौती थियो । पछिल्ला वर्ष चोरी सिकार नियन्त्रणमा आए पनि अन्य कारणले हुने मृत्यु चिन्ताजनक रूपमा बढ्दै गएको छ । आर्थिक वर्ष २०७५/७६ मा चोरी सिकारबाट हुने गैंडाको मृत्यु शून्य थियो । तर अन्य कारणले मर्ने गैंडा सबैभन्दा बढी ४३ वटासम्म पुगेको निकुञ्ज कार्यालयले जनाएको छ । खागका लागि तस्करले गैंडा मार्ने गर्छन् ।

राजनीतिक अस्थिरता बढ्दा चोरी सिकार पनि बढ्छ । सशस्त्र संघर्ष उत्कर्षमा भएका बेला २०५८ सालमा एकै वर्ष सिकारीले ३८ वटासम्म गैंडा मारेका थिए ।पछिल्ला वर्षहरूमा शून्यमा झरेको चोरी सिकार यो वर्ष फेरि मौलाएको छ । यो वर्ष सिकारीले चारवटा

गैंडा मारेको निकुञ्जले जनाएको छ । गैंडा विश्वबाट लोप हुने खतरामा पुगेको दुर्लभ वन्यजन्तु हो । यसलाई मारेमा, यसको अंगको किनबेच वा ओसारपसार गरेमा १५ वर्ष कैद र १० लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुन छ ।

कारबाही बढाउँदै जाँदा चोरी सिकारी नियन्त्रणमा आएको थियो । तर प्राकृतिक मृत्यु चिन्ताजनक रूपमा बढ्दा संरक्षण योजना बनाउन गणनाले भूमिका खेल्ने प्रमुख संरक्षण अधिकृत बरालले बताए । ‘गैंडा कहाँ कति छन् ? बासस्थलको अवस्था के कस्तो छ ? गणनाका बेलामा यो प्रस्ट हुन्छ । त्यसैले सम्भावना र चुनौती पत्ता लगाउन सजिलो हुन्छ । अनि त्यसैका आधारमा संरक्षण योजना बनाएर गैंडा जोगाउन मद्दत पुग्छ,’ बरालले भने ।

चितवन निकुञ्जको पूर्वी क्षेत्र रमौली प्रतापपुरबाट सोमबार बिहान गैंडा गणनाको सुरुवात हुँदै छ । यसका लागि चितवन निकुञ्जलाई १९ वटा ब्लकमा विभाजन गरिएको छ । ‘एउटा ब्लकमा एक दिन गणना हुन्छ । ४० वटा हात्तीमा बसेका गणकहरूले प्रत्यक्ष नै गैंडा हेर्ने, उमेर, लिंग र अन्य शारीरिक अवस्थाको विवरण लिने गर्छन्,’ बरालले बताए । २२ देखि २५ दिनभित्र गैंडा गणना सकेर नतिजा सार्वजनिक गर्ने उनको भनाइ छ ।

गैंडा गणनामा दुई सय जनाजति कर्मचारी, प्राविधिक र पशु स्वास्थ्यकर्मीहरू जुट्ने छन् । गैंडाको मुख्य बासस्थल चितवन निकुञ्ज भए पनि पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि पाइन्छन् । पर्सा र चितवनमा सोमबारबाट सुरु हुने गणना अन्य निकुञ्जमा केही दिनपछि सुरु हुँदै छ । चितवनबाट बर्दिया र शुक्लामा स्थानान्तरण गरेर गैंडा लगिएको छ । अघिल्लो गणनापछि बर्दिया निकुञ्जमा १० वटा र शुक्लाफाँटा निकुञ्जमा तीनवटा गैंडा चितवन निकुञ्जबाट लगिएको छ । अघिल्लो गणनापछि चितवनमा गैंडाको अवस्था प्रतिकूल हुँदै गएको आकलन संरक्षणकर्मीहरूले गरेका छन् ।

प्रमुख संरक्षण अधिकृत बरालका अनुसार गणनाका लागि अघिल्लो वर्ष नै सरकारले एक करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । कुनै बेला तीन वर्षको फरकमा र प्रायः पाँच वर्षको अन्तरालमा गैंडा गणना हुने गरेको छ । सबै तयारी पूरा भए पनि अघिल्लो वर्ष कोरोना महामारीका कारण अन्तिम समयमा गणना स्थगित भएको थियो । आजको कान्तिपुरमा प्रकाशित

  • ९ चैत्र २०७७, सोमबार प्रकाशित

  • Nabintech