११ बैशाख २०८१, मंगलवार

पत्रकार महासंघ चुनाव : ५२ पदका लागि झण्डै दुई सय मैदानमा, कुन उम्मेदवार कस्ता ?
  • न्युज मानसराेवर

काठमाडौं– यही चैत २५ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा ५२ पदका लागि झण्डै दुई सय जनाको उम्मेदवारी परेको छ।

केन्द्रीय निर्वाचन समितिका अनुुसार शनिबार भएको उम्मेदवारी दर्ता कार्यक्रममा केन्द्रीय समितिको ४९ र लेखा समितिका तीन गरी ५२ पदमा १९६ जनाको उम्मेदवारी परेको हो।

अध्यक्षका लागि ५ जनाको उम्मेदवारी परेको छ। वरिष्ठ उपाध्यक्षमा चार, महिला उपाध्यक्षमा २, समावेशी उपाध्यक्षमा २, महासचिवमा ४, खुला सचिवमा ६, महिला सचिवमा २, आदिवासी जनजाति सचिवमा ३ जनाको उम्मेदवारी परेको छ। सचिव (मधेसी) मा ४, सचिव (दलित) मा ३, सचिव (एसोसिएट)मा ६ र कोषाध्यक्षमा ६ जनाको उम्मेदवारी परेको छ।

अध्यक्षमा प्रेस युनियन र प्रेस सेन्टरको गठनबन्धनबाट युनियनका विपुल पोखरेलको उम्मेदवारी परेको छ। अध्यक्षमा युनियनकै रामप्रसाद दाहालले पनि उम्मेदवारी दिएका छन्।

गजेन्द्र बुढाथोकी र दीपक पाठकले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् । कांग्रेस आबद्ध प्रेस युनियन, माओवादी आबद्ध प्रेस सेन्टर र एमालेको माधव नेपाल पक्षीय प्रेस चौतारीसहितको गठबन्धन बनेको छ। तर अधिकांश पदमा बागी उम्मेदवारीसमेत परेको छ।

प्रेस चौतारी निर्मला शर्माको नेतृत्वमा चुनावी मैदानमा उत्रिएको छ। प्रेस चौतारीको नेतृत्वमा प्रगतिशील–व्यावसायिक–समावेशी–राष्ट्रवादी गठबन्धन बनेको छ।

पत्रकार महासंघको चुनावमा यसपटक पत्रकार महासंघको नेतृत्व पत्रकारले नै गर्नुपर्ने भन्दै स्वतन्त्र उम्मेदवारी दिने पनि धेरै छन्। उनीहरूले व्यावसायिक पत्रकारले महासंघको नेतृत्व गर्दामात्रै श्रमजीवीको एजेन्डा सम्बोधन गर्न सकिने बताउँदै आएका छन्।

दुई प्यानलसँगै स्वतन्त्र उम्मेदवारहरु समेत धेरै देखिँदा निर्वाचन रोचक हुने अनुमान गरिएको छ। महासंघको इतिहासमै पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणाली अपनाइएकाले यसपटकको निर्वाचन फरक समेत हुनेछ।

उम्मेदवार को कस्ता ? 

अध्यक्षका उम्मेदवार 

विपुल पोखरेल

लामो समयदेखि मोफसलबाट पत्रकारितामा सक्रिय विपुल तारानाथ दाहाल महासंघको अध्यक्ष हुँदा क्षेत्रीय उपाध्यक्ष थिए। उनी वर्तमान कार्यकालमा खुला उपाध्यक्ष छन्। पोखरेल मोफसलको पत्रकारिता गरेर महाघसंको अध्यक्षको उम्मेदवार हुने पहिलो व्यक्ति हुन्।

उनी प्रेस काउन्सिलका पूर्व सदस्य समेत हुन्। दाङमा रेडियो स्वर्गद्वारी र गोरक्ष दैनिकको सम्पादक रहेका पोखरेल बहुदल स्थापनापछि लगातार पत्रकारितामा सक्रिय छन्। पोखरेल कांग्रेस आबद्ध प्रेस युनियन, माओवादी आबद्ध प्रेस सेन्टर र एमालेको माधव नेपाल पक्षीय प्रेस चौतारीसहितको गठबन्धनका उम्मेदवार हुन्।

निर्मला शर्मा

प्रगतिशील–व्यावसायिक–समावेशी–राष्ट्रवादी गठबन्धनबाट अध्यक्षको उम्मेदवार बनेकी शर्माले २०५२ सालमा सगरमाथा राष्ट्रिय दैनिकबाट पत्रकारिता थालेकी हुन्। रेडियो नेपालमा लामो समयसम्म काम गरेकी शर्माले रेडियो सगरमाथा र उज्यालो रेडियोमा पनि काम गरेकी छिन्। राजनीति र संसदको रिपोर्टिङ गरेकी उनले सारथी साप्ताहिकमा पनि काम गरेकी थिइन्।

महिला पत्रकारहरुको हकहितमा क्रियाशील संस्था सञ्चारिक समूहको पूर्वअध्यक्ष शर्मा ५ वर्षदेखि कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम समकोण सञ्चालन गर्दै आइरहेकी छिन्। नेपाल पत्रकार महासंघमा खुलाबाट पहिलो पटक केन्द्रीय सदस्यमा चुनाव लडेर उनी निर्वाचित भएकी हुन्। उनले यसअघि महासंघमा महासचिव र कोषाध्यक्षमा पनि प्रतिस्पर्धा गरेकी थिइन्।

रामप्रसाद दाहाल

लामो समयदेखि मूलधारको मिडियामा पत्रकारिता गरिरहेका दाहालले यसपटक महासंघको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। दाहालले कान्तिपुर, स्पेसटाइम र राजधानी दैनिकमा रिपोर्टिङ गरेका थिए। अहिले उनी इमेज च्यानलमा समाचार सम्पादक छन्।

श्रमजीवी पत्रकारको मुद्दामा लड्ने फ्रन्टलाइनरको रुपमा दाहाल परिचित छन्। २०६१ सालमा विचारका आधारमा राजधानी दैनिकबाट निकालिँदा उनले श्रम अदालतमा श्रमजीवीको मुद्दा पहिलो पटक श्रम अदालतमा लगेका थिए। मुद्दा जितेर त्यसलाई कार्यान्वयन गराउने पहिलो व्यक्ति पनि उनै दाहाल हुन्।

न्यूनतम पारिश्रमिक निर्धारण समितिमा रहँदा समेत दाहालले श्रमजीवीको पक्षमा सम्झन योग्य काम गरेका छन्। पत्रकारको न्यूनतम पारिश्रमिक १९ हजार ५०० तोक्न दाहालले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। उनी अहिले महासंघको सचिव छन्।

गजेन्द्रसिंह बुढाथोकी 

२०५१ सालदेखि पत्रकारितामा सक्रिय बुढाथोकीले महासंघमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। पत्रकार महासंघको नेतृत्व व्यावसायिक पत्रकारले नै गर्नुपर्ने नारासहित उनले उम्मेदवारी दिएका छन्।

उनले लोकपत्र दैनिकबाट पत्रकारिता थालेका थिए। उनले समाचारपत्र दैनिक, राजधानीको कार्यकारी सम्पादक, दैनिकी डटकमको सम्पादक, कारोबार दैनिकमा निमित्त सम्पादक, न्यूज कारोबार डटकममा प्रधान सम्पादक भएर काम गरिसकेका छन्। उनी अहिले टक्सार मिडिया ग्रुपको ग्रुप एडिटर छन्।

दीपक पाठक

विवादित छविका पाठकले समेत यसपटक महासंघको नेतृत्वमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। मार्गदर्शनडटकम नाम अनलाइन सञ्चालन गरिरहेका उनी ठगी प्रकरणमा समेत मुछिएका पात्र हुन्। पत्रकारको भेषमा भीआईपीहरुलाई ब्ल्याकमेलिङ गरेको आरोप उनीमाथि छ। २०७३ सालमा प्रधामन्त्री केपी शर्मा ओलीले प्रेस काउन्सिलको सदस्यमा नियुक्त गर्दा उनको विवादित छवि छताछुल्ल बनेको थियो।

वरिष्ठ उपाध्यक्ष

रमेश विष्ट

महासंघको वर्तमान समितिका महासचिव रहेका विष्ट प्रेस युनियनको तर्फबाट वरिष्ठ उपाध्यक्षको उम्मेदवार बनेका छन्। उनी विष्णु निष्ठुरी अध्यक्ष हुँदा महासंघमा एसोसिएटतर्फको सदस्य र धर्मेन्द्र झाको कार्यकालमा कोषाध्यक्ष भइसकेका व्यक्ति हुन्।

पत्रकारितमा उनको पृष्ठभूमि भने कार्टुनिस्ट हो। उनी सक्रिय कार्टुनिस्ट हुँदा गोरखापत्रमा कार्टुन बनाउँथे। अहिले भने उनले राष्ट्रपुकार नामको अनलाइन सञ्चालन गरिरहेका छन्।

माधव नेपाल

प्रेस चौतारीको तर्फबाट वरिष्ठ उपाध्यक्षका उम्मेदवार बनेका नेपाल करिब दुई दशकदेखि निरन्तर रुपमा पत्रकारितामा सक्रिय छन्। उनले मोफसल हुँदै केन्द्रमा विभिन्न सञ्चारमाध्यममा काम गरिसकेका छन्। प्रेस चौतारीका वरिष्ठ उपाध्यक्ष रहेका उनले न्युज २४ मा पनि सक्रिय रुपमा पत्रकारिता गरे। हाल उनी जनप्रशासन अनलाइन मिडियामा कार्यरत छन्।

रामजी दाहाल

महासंघको वरिष्ठ उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका दाहालले स्पेस टाइम, च्यानल नेपाल, राजधानी दैनिक, सगरमाथा टेलिभिजन र हिमाल खबरमा लामो समय पत्रकारिता गरेका छन्। उनी अहिले स्पेसखबर डटकमको सम्पादक र खोज पत्रकारिता केन्द्रको महासचिव छन्।

विष्णु निष्ठुरी महासंघको अध्यक्ष हुँदा दाहाल केन्द्रीय सदस्य बनेका थिए। धर्मेन्द्र झाको कार्यकालमा सचिव बनेका उनी शिव गाउँले अध्यक्ष हुँदा महासचिव लडेर २ मतले हारेका हुन्। महेन्द्र विष्टले अध्यक्षमा उम्मेदवारी दिँदा उपाध्यक्षमा दाहाल ८ भोटले हारेका थिए।

ध्रुव लम्साल

लामो समयदेखि पत्रकारितामा संलग्न रहेका लम्साल प्रेस चौतारी (नेपाल, खनाल) समूहबाट वरिष्ठ उपाध्यक्षको उम्मेदवार बनेका छन्। उनी हाल राजधानी दैनिकसँग आवद्ध छन्।

महिला उपाध्यक्ष

महिला उपाध्यक्षमा बाला अधिकारी र दाना सुवेदीको उम्मेदवारी परेको छ। अधिकारी युनियन नेतृत्वको प्यानल र सुवेदी चौतारी नेतृत्वको प्यानलबाट उम्मेदवार बनेका हुन्। अधिकारी प्रेस य्ुनियनको महिला उपाध्यक्ष हुन् भने त्यो भन्दा अघि उपमहासचिव थिइन्। लोकपथ साप्ताहिक र अनलाइन सञ्चालन गरिरहेकी अधिकारीसँग पत्रकारिताको खास लामो अनुभव भने छैन।

समावेशी उपाध्यक्ष

समावेशी उपाध्यक्षमा ६ जनाको उम्मेदवारी परेको छ। युनियन नेतृत्वको प्यानलबाट उदय जिएम उम्मेदवार बनेका छन् भने चौतारी नेतृत्वको प्यानलबाट अवधेश झा उम्मेदवार बनेका छन्। यस्तै मोहनकुमार सिंह, रेमवहादुर विश्वकर्मा र शितलप्रसाद महतो स्वतन्त्र उम्मेदवार बनेका छन्।

युनियन नेतृत्वको प्यानलबाट उम्मेदवार बनेका जिएमले ०५४ सालबाट पत्रकारिता थालेका हुन्। उनी १४ वर्ष अन्नपूर्ण पोस्टमा दाङ संवाददाता थिए। उनी महासंघको वर्तमान कार्यसमितिमा सचिव छन्।

यस्तै चौतारीको प्यानलबाट उम्मेदवार बनेका झा लामो समयदेखि कान्तिपुर दैनिकमा आवद्ध छन्। उनी हाल महासंघको केन्द्रीय सदस्य छन्। यसअघि प्रेस युनियनमा आवद्ध झा हालै जसपा निकट पत्रकार संगठनमा प्रवेश गरेर चौतारीसँगको गठबन्धनबाट उपाध्यक्षको उम्मेदवार बनेका हुन्।

महासचिव 

रोशन पुरीः युनियन नेतृत्वको प्यानलबाट महासचिवको उम्मेदवार बनेका छन्, पुरी। २०५८ सालमा रेडियो लुम्बिनीबाट पत्रकारिता थालेका पुरी ०५९ सालदेखि ०७२ सालसम्म कम्युनिकेसन कर्नरमा आवद्ध थिए। त्यसपछिका तीन वर्ष उनले थाहा सञ्चार नेटवर्कमा काम गरे। उनी नागरिक खबर डटकमको सम्पादक समेत भएका थिए। हाल उनी अमेरिकाको एक न्यूज एजेन्सीमा काम गर्छन्। उनी महेन्द्र विष्टको कार्यकालमा प्रतिष्ठानको तर्फबाट केन्द्रीय सदस्य बनेका थिए। हाल उनी लेखा समितिको संयोजक छन्।

बालकृष्ण बस्नेतः प्रेस चौतारीको प्यानलबाट महासचिवको उम्मेदवार बनेका बस्नेत अहिले आफ्नै अनलाइन खुल्ला नेपाल डटकमका प्रकाशक र सम्पादक छन्। कान्तिपुर दैनिकमा दुई दशक विभिन्न ब्यूरो प्रमुख भई काम गरेका बस्नेत इकान्तिपुर डटकम स्थापना हुँदा सम्पादक रहेर काम गरेका थिए।

२०५१ बाट निरन्तर रुपमा सक्रिय पत्रकारिता गर्दै आएका उनले शुरुवातमा छलफल साप्ताहिक, जनजागरण साप्ताहिकमा पनि काम गरिसकेका छन्। तत्कालीन अध्यक्ष शिव गाउँलेको पालामा बस्नेत केन्द्रीय सदस्य निर्वाचित भएका थिए। बस्नेतले यसअघि सचिवमा स्वतन्त्र उम्मेदवारी दिएका थिए। यसअघि भएको महासंघको निर्वाचनमा उनी महासचिवमा पराजित बनेका थिए।

राजेश मिश्रः लामो समय सर्लाहीमा बसेर पत्रकारिता गरेका मिश्र अहिले कान्तिपुर दैनिकमा कार्यरत छन्। कान्तिपुरमा उनले निर्वाचन आयोग र संसदको रिपोर्टिङ गर्दै आएका छन्। शिव गाउँले अध्यक्ष हुँदा मिश्र केन्द्रीय सदस्य थिए। अहिले उनी महासंघको कोषाध्यक्ष हुन्। महासंघको राजनीति र पत्रकारितालाई सँगसँगै अघि बढाएका मिश्र महासंघमा ‘बाइलाइन’ लेख्ने पत्रकारको नेतृत्व स्थापित हुनुपर्ने एजेन्डा बोकेर महासचिवको स्वतन्त्र उम्मेदवार बनेका हुन्।

सुवोध गौतमः महासचिवमा स्वतन्त्र उम्मेदवारी दिएका गौतम नागरिक दैनिकमा कार्यररत छन्। वातावरण पत्रकार समूहमा समेत उनी सक्रिय छन्। उनले महेन्द्र विष्टको कार्यकालमा प्रतिष्ठानतर्फ केन्द्रीय सदस्यमा चुनाव हारेका हुन्।

खुला सचिव

खुला सचिव पदमा ६ जनाको उम्मेदवारी परेको छ। नकुल अर्याल, कमल पन्त, गोविन्दप्रसाद चौलागाईं, जन्मदेव जैसी, यम विरही र रामकृष्ण ज्ञवाली खुला सचिव पदका प्रत्याशी हुन्।

चितवनको कायाकैरन दैनिकबाट पत्रकारिता सुरु गरेका अर्यालले एभिन्यूज, न्यूज ट्वाटीफोर, हिमालय टिभी, एपिवान टिभी, योहो टिभीमा काम गरिसकेका छन्। हाल नेपाल प्रेसमा आवद्ध अर्याल काठमाडौं प्रेस युनियनको निवर्तमान अध्यक्ष हुन्। महासंघको केन्द्रीय सदस्य रहेका उनी प्रेस स्वतन्त्रता र श्रमजीवीको मुद्दामा खरो उत्रने व्यक्ति हुन्।

सचिवका अर्का प्रत्याशी यम विरही राजधानी दैनिकको स्थापनाकालदेखि नै काम गरेका पत्रकार हुन्। उनी अन्नपूर्ण पोस्टमा लामो समय कोर्ट रिपोर्टिङ गरेका पत्रकार हुन्। उनी हाल प्रतिष्ठान तर्फको केन्द्रीय सदस्य हुन्।

सचिवका अर्का प्रत्याशी ज्ञवाली महासंघका केन्द्रीय सदस्य हुन्। २०५५ सालदेखि पत्रकारितामा सक्रिय छन् उनी। पोखराबाट प्रकाशित हुने समाधान दैनिकका सम्पादक रहेका ज्ञवाली मोफसलमा विभिन्न क्षेत्रमा पत्रकारितामा सक्रिय रहेका छन्।

यस्तै सचिवका अर्का प्रत्याशी जैसी महासंघका केन्द्रीय सदस्य हुन्। उनी श्रमजीवीको मुद्दामा निरन्तर लड्दै आएका पत्रकार हुन्।

खुला सचिवका अर्का प्रत्यासी चौलागाईंले रौतहटबाट पत्रकारिता थालेका हुन्। उनी पत्रकार महासंघ काठमाडौं शाखाको दुई पटक अध्यक्ष भइसकेका छन्। उनी प्रेस काउन्सिलका पूर्व सदस्य भइसकेका छन्। उनी हाल महासंघको केन्द्रीय सदस्य छन्।

महिला सचिव

महिला सचिवमा दुई जनाको उम्मेदवारी परेको छ। सिर्जना अर्याल र निमा काफ्ले महिला सचिव पदको दौडमा छन्। अर्याल हाल

पत्रकार महासंघ र प्रेस युनियनको केन्द्रीय हुन्। उनी चितवनको स्थानीय रेडियोमा काम गर्छिन्। सञ्चारिका समूह र क्रियाशील महिला पत्रकार (डब्लूडब्लूजे) मा समेत अर्याल सक्रिय छन्।

काफ्लेले भने सुदूरपश्चिमको कञ्चनपुरबाट पत्रकारिता शुरुवात गरेकी हुन्। उनी हाल नेपाल टेलिभिजनमा कार्यरत छिन्। उनले महेन्द्रनगरबाट प्रकाशित हुने अभियान दैनिक, कञ्चनपुरबाट नै उनले एभिन्युज टेलिभिजनमा काम गरेकी थिइन्। राजधानीमा उनले एभिन्युज र न्युज २४ टेलिभिजनमा काम गरिसकेकी छन्।

सचिव (आदिवासी जनजाति)

यो पदमा तीन जनाको उम्मेदवारी परेको छ। नारायण किलम्बु, रामकुमार श्रेष्ठ र शाहीमान राई उम्मेदवार बनेका छन्। किलम्बु कान्तिपुर टिभीमा कार्यरत छन्। उनी भक्तपुरबाट शिक्षा सम्बन्धि रिर्पोटिङ गर्छन्।

प्रेस मञ्चमा आवद्ध रहेका राई लामो समयदेखि कान्तिपुर दैनिकमा कार्यरत छन्। अहिले उनी जनकपुरबाट कान्तिपुर दैनिकमा कार्यरत रहेका छन्।

सचिव (मधेसी)

यो पदमा चार जनाको उम्मेदवारी परेको छ। दीपेन्द्र चौहान, देवकुमार यादव, प्रविणकुमार चौधरी र स्वेता सिन्हा सचिव (मधेसी) पदको प्रत्याशी छन्। चौहान तारानाथ दाहाल दाहाल हुँदा मध्यमाञ्चल उपाध्यक्ष थिए। उनले लामो समय वीरगञ्जबाट विमर्श साप्ताहिकमा काम गरेका थिए। पञ्चायत कालदेखि नै पत्रकारितामा सक्रिय चौहान अहिले देशान्तर साप्ताहिक र अकुंश दैनिकमा काम गर्छन्। उनी अहिले महासंघको २ नम्बर प्रदेश अध्यक्ष हुन्।

सिन्हा भने कान्तिपुर टेलिभिजनमा लामो समयदेखि कार्यरत छिन्। उनी अहिले महासंघको केन्द्रीय सदस्य समेत हुन्।

सचिव (दलित)

यो पदका लागि ५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। गणेशकुमार विक, गोपाल बराइली, मधु शाही, मान सिंह विक र हेमकर्ण विक सचिव (दलित) पदमा प्रत्यासी छन्।

सविच (एसोसिएट)

यो पदमा ६ जनाको उम्मेदवारी परेको छ। केपी ढुंगाना, केशवराज खनाल, पवन आचार्य, विनय देवकोटा, राधेश्याम दाहाल र रामेश्वर कार्की एसोसिएट सचिवमा उम्मेदवारी दर्ता गरेका छन्।

ढुंगाना लामो समयदेखि पत्रकिारतामा सक्रिय छन्। उनी २०६१ सालमा राजधानी दैनिकबाट विचारको आधारमा जागिरबाट निकालिएका पत्रकारमध्येका एक हुन्। राजधानीबाट निकालिएपछि उनी निरंकुशताका विरुद्ध सुरु भएको स्वतन्त्र समाचार सेवामा काम गरेका थिए। उनले कान्तिपुर, नागरिक र नयाँ पत्रिका दैनिकमा सुरक्षा सम्बन्धी रिर्पोटिङ गरेका थिए।

शुक्रबार र नेपाल लाइभको सम्पादक रहिसकेका ढुंगाना हाल उकेरा डटकमको प्रधान सम्पादक छन्। उनी ओपन सेक्रेट नामक पुस्तकका लेखक समेत हुन्। महेन्द्र विष्टका पालामा एसोसिएट सचिवमा पराजित भएका उनी अनलाइन पत्रकार संघको संस्थापक अध्यक्ष हुन्। हाल उनी एसोसियट प्रदेशको अध्यक्ष छन्।

एसोसिएट सचिवका अर्का प्रत्याशी पवन आचार्य कान्तिपुर एफएममा स्थापना देखि नै कार्यरत छन्। कान्तिपुर एफएमको समाचार शाखामा प्रमुखको भूमिकामा रहेका उनी खेलकुद पत्रकार मञ्चमा आवद्ध छन्। उनी अहिले महासंघको एसोसिएट तर्फका केन्द्रीय सदस्य हुन्।

यही पदका अर्का प्रत्याशी विनय देवकोटाले युगवाणी साप्ताहिकबाट पत्रकारिता सुरु गरेका थिए। उनले लामो समय राजधानी दैनिकमा काम गरे। राजधानीको कार्यकारी सम्पादक भएर काम गरिसकेका उनी अहिले देशान्तर साप्ताहिक र रेडियो देशान्तरको सम्पादक हुन्। उनी चलचित्र समीक्षक समाजमा समेत आवद्ध छन्।

राधेश्याम दाहालले पनि एसोसिएट सचिव पदमा उम्मेदवारी दिएका छन्। अहिले एसोसिएटतर्फको केन्द्रीय सदस्य रहेका उनले च्यानल नेपाल, सगरमाथा टेलिभिजनमा काम गरिसकेका छन। दाहाल डिसहोमको एक्सन स्पोर्टस च्यानलमा समेत कार्यरत थिए। अहिले भने उनी महासंघको राजनीतिमा फुलटाइमर हुन्।

एसोसिएट सचिवका उम्मेदवार रामेश्वर कार्कीले धादिङबाट पत्रकारिता शुरुवात गरेका हुन्। कार्कीले त्यहाँबाट लामो समय नागरिक दैनिकमा काम गरेका थिए। उनले नयाँ पत्रिका र एभिन्युज टेलिभिजनमा समेत काम गरिसकेका छन्। हाल उनी अर्थतन्त्र डटकमको प्रधान सम्पादकका रुपमा कार्यरत रहेका छन्।

एसोसिएट सचिवका अर्का प्रत्यासी केशवराज खनाल भने कार्टुनिस्ट हुन्। उनी लामो समयदेखि कार्टुन बनाउँदै आइरहेका छन्।

कोषाध्यक्ष

कोषाध्यक्ष पदमा ६ जनाले उम्मेदवारी दिएका छन्। कलेन्द्र सेजुवाल, कृष्ण गिरी, दिलीप पौडेल, प्रकाश थापा, माधव दुलाल, मिन बहादुर बम कोषाध्यक्षको उम्मेदवार बनेका छन्।

सेजुवाल सुर्खेतमा बसेर कान्तिपुर दैनिकमा काम गर्छन्। उनी कान्तिपुरको कर्णाली प्रदेशको व्यूरो चिफ हुन्। यो भन्दा अघि नागरिक दैनिकमा काम गरेका सेजुवाल हाल कर्णाालीबाट केन्द्रीय सदस्य हुन्।

काेषाध्यक्षका अर्का प्रत्याशी दिलिप पौडेल नागरिक दैनिकमा अर्थ रिपोर्टिङ गर्छन्। प्रेस युनियनको केन्द्रीय सदस्य समेत रहेका उनी अघिल्लो पटक पत्रकार महासंघको केन्द्रीय सदस्यमा पराजित भएका हुन्। उनले लामो समय बाग्लुङमा बसेर पत्रकारिता गरेका थिए।

कोषाध्यक्षका अर्का उम्मेदवार प्रकाश थापा अहिले एसोसिएट तर्फका सचिव हुन्। युगवाणीबाट पत्रकारिता सुरु गरेका उनले गोरखा एफएफ र नेपाल टेलिभिजनमा काम गरिसकेका छन्। हाल हरेकपल डटकमको सम्पादक रहेका उनी शिव गाउँलेको पालामा एसोसिएट तर्फ केन्द्रीय सदस्य जितेका थिए। महेन्द्र विष्ट अध्यक्ष हुँदा उनले एसोसिएट सचिव हारेका थिए।

लामो समय रेडियो पत्रकारिताको अनुभव बटुलेका माधव दुलाल समेत कोषाध्यक्षको उम्मेदवार बनेका छन्। रेडियो नेपालको कार्यक्रम अर्थ सरोकारबाट पत्रकारिता थालेका उनी उज्यालो रेडियोमा लामो समय काम गरेका थिए। उनी रेडियो थाहा सञ्चारमा समेत काम गरेका पत्रकार हुन्। हाल उकेरा डटकममा कार्यरत उनी महेन्द्र विष्टको पालमा खुला तर्फ केन्द्रीय सदस्य थिए।

कोषाध्यक्ष पदका उम्मेदवार गिरी २०५५ सालदेखि पत्रकारितामा सक्रिय छन्। उनले मोफसलबाट पत्रकारिताको शुरुवात गरेका हुन्। उनी वर्तमान पत्रकार महासंघका केन्द्रीय सदस्य हुन्।

लेखा समिति संयोजक 

लेखा समितिको संयोजकमा महासंघको वर्तमान कार्यसमितिका तीन जना सदस्यले उम्मेदवारी दिएका छन्। द्वारिकाप्रसाद काफ्ले, लक्ष्मण कार्की र लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका हुन्। तीनै जना लामो समय पत्रकारितामा सक्रिय छन्।

  • १५ चैत्र २०७७, आईतवार प्रकाशित

  • Nabintech