१३ बैशाख २०८१, बिहीबार

राप्रपाबाट आएका साढे १० हजारलाई क्रियाशील सदस्यता दिने कांग्रेसको तयारी
  • न्युज मानसराेवर

बाँके बैजनाथ – नेपाली कांग्रेसले विभिन्न जिल्लामा राप्रपाबाट आएका साढे १० हजारलाई क्रियाशील सदस्यता दिइने भएको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकअघि सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पाैडेल समूहकाे संयुक्त भेलाले यस्तो सहमति गरेको हो।

विभिन्न ४८ जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेपाली प्रवेश गरेका नेता कार्यकर्ताकाे व्यवस्थापनका लागि क्रियाशील सदस्यता थप गर्ने सहमति दुवै पक्षबीच जुटेको हो।

राप्रपाबाट सुनील थापाको समूह नेपाली कांग्रेस प्रवेश गरेको थियो। उनीहरुको व्यवस्थापनका लागि देउवा-पौडेलबीच सहमति भएको बताइएको छ।

१४ औँ महाधिवेशनका कुनै पनि कार्यतालिका प्रभावित नहुने गरी क्रियाशील सदस्यता केन्द्रमा पठाउने मिति हेरफेरको तयारीसमेत गरिएको छ।

चैत १० सम्म क्रियाशील सदस्यता बुझाउने समयसीमा ताेकिएकाेमा अब वैशाख पहिलाे सातासम्म समय थपको तयारी रहेको देउवा-पौडेल छलफलमा सहभागी एक नेताले जानकारी दिए।

केन्द्रीय कार्य समिति बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले समितिकाे प्रतिवेदन पेस गर्ने तयारी गरेका छन्।

आगामी महाधिवेशन तथा समसामयिक राजनीतिबारे छलफल गर्न कांग्रेसले केन्द्रीय कार्य समिति बैठक बोलाएको थियो। तर बैठक अझसम्म सुरु भएको छैन।

  • २० चैत्र २०७७, शुक्रबार प्रकाशित

  • Nabintech