१२ बैशाख २०८१, बुधबार

खाने तेल : अन्तर्राष्ट्रिय बजारमा थोरै मूल्य बढ्दा नेपालमा झण्डै दोब्बर
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  केही महिनायता नेपाली बजारमा खाने तेलको मूल्य अचाक्ली बढेको छ। बढी खपत हुने सूर्यमुखी र भटमास तेलको मूल्य गत वर्षको तुलनामा झण्डै दोब्बर भइसकेको छ।

खुद्रा व्यापार संघका अनुसार गत वर्ष ११० देखि १३० रुपैयाँ प्रतिलिटरमा पाइने खाने तेलको मूल्य अहिले २२० देखि २३५ रुपैयाँसम्म पुगेको छ। गत वर्षको तुलनामा अस्वाभाविक रुपमा खाने तेलको मूल्य बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि सरोकारवालासँग पटक–पटक छलफल गरेको छ।

विभागका प्रवक्ता शिवराज सेढाईं घिउ तथा तेल उत्पादक संघसँग पटक पटक छलफल गरी आवश्यक निर्देशन दिइएको बताउँछन्। ‘धेरै पटक छलफल गरिसकेका छौं। कच्चा पदार्थको मूल्य बढेका कारण तेलको मूल्य बढेको बताइरहेका छन् उत्पादकले,’ सेढाईंले भने।

कच्चा पदार्थको मूल्य बढेका कारण तेलको भाउ बढेको उद्योगीहरुले बताए पनि ठूलो अंकले कच्चा पदार्थको मूल्य भने बढेको छैन।

भन्सार विभागका अनुसार अहिले आयात गर्दा सूर्यमुखी तेलको कच्चा पदार्थको औसत मूल्य प्रतिलिटर ११२ रुपैयाँ पर्ने गरेको छ। यो मूल्य गत वर्षको तुलनामा सामान्यमात्र बढी हो। गत वर्ष सूर्यमुखी तेलको कच्चा पदार्थको औसत मूल्य ९६ रुपैयाँ ५० पैसा प्रतिलिटर थियो।

त्यस्तै, भटमासको तेलको कच्चा पदार्थको औसत मूल्य यस वर्ष करिब १०२ रुपैयाँ प्रतिलिटर परेको भन्सार विभागले जनाएको छ। गत वर्ष भटमासको तेलको कच्चा पदार्थको औसत मूल्य प्रतिलिटर ८९ रुपैयाँ ६३ पैसा थियो।

भटमास र सूर्यमुखी तेल तथा कच्चा पदार्थ आयातमा सरकारले ५ देखि १० प्रतिशत भन्सार महसुल दर कायम गरेको छ। दक्षिण एसियाली मुलुकबाट आयात भएमा ५ प्रतिशत र अन्य मुलुकबाट आयात भएमा १० प्रतिशत भन्सार महसुल लाग्ने गरेको छ।

भन्सार महसुल दर गत वर्षकै हाराहारी भए पनि सामान्य बढेको मूल्यमा भन्सार दर जोड्दा मूल्य त्यहीअनुसार बढ्न जान्छ। त्यसअनुसार सामान्य मूल्य वृद्धि हुनु स्वभाविक भए पनि व्यवसायीले झण्डै दोब्बरले मूल्य बढाएको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना बताउँछन्।

भन्सार विभागका अनुसार नेपालमा ठूलो परिमाणमा खाने तेलको कच्चा पदार्थ अर्जेन्टिना, युक्रेनलगायत मुलुकबाट पनि आउने गरेको छ। त्यसलाई प्रशोधन गरेर नेपाली व्यवसायीले बिक्री गर्ने गरेका छन्। प्रशोधित तेल भारतलगायत मुलुकमा व्यवसायीले निर्यातसमेत गर्ने गरेका छन्।

बजारमा खाने तेलको मूल्य बढेको विषयमा नियमनकारी निकाय बेखबर नरहेको होइन। विभागका प्रवक्ता शिवराज सेढाईंले खाने तेलको विषयमा यसअघि पनि व्यवसायीसँग छलफल भइरहेको र विभागले भ्याएसम्म काम गरिरहेको बताए। उनका अनुसार विभागले व्यवसायीलाई आयात गर्दाको खर्च, प्रशोधन गर्दाको प्रक्रिया र खर्च एवं नाफालगायतबारे विस्तृत विवरण माग गरेको छ।

‘व्यवसायीलाई आफ्नो स्ट्यान्ड क्लियर गर्न हामीले भनेका छौं। आयातका कारण कति मूल्य बढेको हो, प्रशासनिक खर्चले कति बढेको हो, नाफा कति लिनुभएको छ ? आदिबारे क्लियर गर्न भनेका छौं,’ सेढाईंले भने। आयातदेखि प्रशोधनसम्मको प्रक्रिया पारदर्शी बनाउन विभागले उद्योगीहरुलाई निर्देशन एिको उद्योगीहरुलाई निर्देशन दिएको छ। यस विषयमा घिउतेल उत्पादक संघका अध्यक्ष सन्दीप अग्रवालसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन।

भटमासमा नेपाल ट्रान्जिटमात्रै

भटमास तेलमा नेपाल ट्रान्जिटमात्रै भएको देखिन्छ। चालू  आर्थिक वर्षको साउनदेखि फागुनसम्म २३ अर्ब १२ करोड ६९ लाख ३१ हजार रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको छ। सोही अवधिमा २५ अर्ब २ करोड ८० लाख ८१ हजार रुपैयाँ बराबरको त्यसको कच्चा पदार्थ आयात भएको भन्सार विभागले जनाएको छ।

भारतको मुम्बईमा प्रशोधित भटमास तेलको मूल्य १२३ रुपैयाँ भारु अर्थात् १९७.६० रुपैयाँ प्रतिलिटर छ। मुम्बईमै सूर्यमुखी तेलको मूल्य प्रतिलिटर ८७ भारु अर्थात् १३९ रुपैयाँ पर्छ। गत वर्षको तुलनामा खाने तेलको मूल्य सामान्य वृद्धि भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

  • २२ चैत्र २०७७, आईतवार प्रकाशित

  • Nabintech