८ बैशाख २०८१, शनिबार

केही दिनमै नयाँ सरकार गठन हुनेमा आशावादी छु : प्रचण्ड
  • न्युज मानसराेवर

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै नयाँ सरकार गठन हुनेमा आफू आशावादी रहेको बताएका छन्। शनिबार नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनको चौथो केन्द्रीय परिषद्लाई सम्बोधन गर्दै उनले यो सरकार अब धेरै दिन नचल्नेमा आफूलाई विश्वास रहेको बताएका हुन्।

केही दिनभित्र नयाँ सरकार गठन हुन्छ र सबै कालो बादल हट्छ भन्‍नेमा म आशावादी छु। त्यो प्रयास निरन्तर अघि बढाइरहेका छौं। हामी मिलेकाहरुलाई जसरी अप्राकृतिक ढंगले बिछोड गराइएको छ। विकेन्द्रित गरिएको छ। विखण्डित गरिएको छ। यो राष्ट्रकै पीडा हो। जनताकै पीडा हो,’ उनले भने।

उनले फेरि पनि विद्रोहमा जानुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए। ‘सकेसम्म सहज ढंगले हाम्रो संविधान, ऐन कानुन र राजनीतिक दलहरुको नेतृत्व र बहुमतको भावना अनुसार सहज ढंगले एउटा रुपान्तरण बनोस् भन्‍ने हामी चाहिरहेका छौं। त्यही हाम्रो प्रयास छ। यदि त्यसो भएन र साँच्चै संविधानलाई मिच्‍ने नै कोशिस जारी रह्यो भने, यदि लोकतान्त्रिक मान्यतालाई कुल्चने र निरंकुश र स्वेच्छाचारी ढंगले नै जाने कोशिस भयो भने एउटा नयाँ खालको विद्रोहमा हामी संगठित हुनुपर्ने र विद्रोहमा जानुपर्ने अवस्था आउनसक्छ, केही समयपछि नै,’ प्रचण्डले भने।

उनले आन्दोलन हामीले शान्तिपूर्ण र प्रतिस्पर्धाको तरिकाबाट नै लैजान चाहेको बताए। ‘हामी त्यो परिस्थिति आउनुभन्दा अगाडि नै नयाँ सरकार गठन गरेर त्यो सरकारमार्फत् यो बीचमा भएका ज्यादतीलाई सच्याउन चाहन्छौं। हामी जसको भावना, विचार मिलेको थियो। मिलेकालाई जबर्जस्ती ‘डिभोर्स’ गराइएको छ, हामी त्यसलाई पुनर्मिलन गर्न चाहन्छौं। हामी फेरि एउटा राष्ट्रिय एकता मजबुत गराउन चाहन्छौं,’ उनले भने, ‘यदि नेपाली जनतालाई बाध्यता पारियो भने त्यसको प्रतिवाद सिंहदरबारभित्रैबाट, देशभरिबाट र ७७ वटै जिल्लाबाट गर्नुपर्ने अवस्था आउन पनि सक्छ।’

आफ्नो सम्बोधनमा उनले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली तथा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिने अदालतको फैसलाप्रति आक्रोश व्यक्त गरे।

  • २८ चैत्र २०७७, शनिबार प्रकाशित

  • Nabintech