१५ चैत्र २०८०, बिहीबार

सञ्चालनमा आयो कोहलपुरमा अक्सिजन सहितको कोभिड अस्पताल

२५ बेड क्षमता भएको अस्पतालमा बिरामीलाई औषधि खर्च समेत निस्शुल्क गरिएको छ ।

  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  कोहलपुर नगरपालिकाले अक्सिजन सहितको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । एक जना चिकित्सक, चार जना नर्स गरी आवश्यक स्वास्थ्यकर्मीको पदपूर्ति समेत गरिएको अस्पतालमा हाल नगरपालिकाका १२ जना संक्रमित आइसोलेसनमा भर्ना भएका छन् ।

नगरपालिका प्रशासन प्रमुख छविलाल नेपालीका अनुसार बिरामीलाई औषधि खर्च समेत नि:शुल्क गरिएको छ । २५ बेड क्षमता भएको अस्पताल व्यवस्थापनमा झन्डै ३५ लाख रुपैयाँ खर्च लागेको उनले बताए । नगरभित्र नै धेरै जनसमुदाय कोरोनाले संक्रमित भएको हुँदा जनचेतनामूलक सूचना प्रवाहमा समेत नगरपालिकाले जोड दिएको छ । उनले भने, ‘जिंगल मार्फत घरघरमा कोरोना सम्बन्धी सचेतना सूचना प्रवाह गरिरहेका छौं ।’

अस्पतालमा रेडक्रससँग भाडामा लिएको एम्बुलेन्स समेत छ । त्यस्तै, ४ वटा ठूला खाले अक्सिजन सिलिन्डर प्रयोग भइरहेको छ । एक महिनाभित्र नगरपालिकाले आफ्नै एम्बुलेन्स खरिद गर्ने तयारी समेत रहेको उनले सुनाए ।

अस्थायी कोभिड अस्पतालमा खटिएका डा. सन्तोष बिसीले भेन्टीलेटर बाहेकका मध्यम खाले संक्रमितलाई अस्पतालमा भर्ना गर्न सकिने सुनाए । यसले अस्पतालमा बेड नपाएर संक्रमित अन्योलमा पर्नुपर्ने स्थीति रहँदैन ।

यद्यपि हाल चार महिनाअघि नगर सभाले निर्णय गरेर कार खरिद गरिएको विषयलाई लिएर जनप्रतिनिधिबीच नै विवाद भएको थियो । प्रशासन प्रमुख नेपालीले गाडी कार्यापालिकाले चार महिनाअघि निर्णय गरी खरिद गरेको सुनाए । नगरपालिकाका आर्थिक शाखाका संयोजक दिलबहादुर परियारले कोरोनाको बेला व्यक्तिगत सेलिब्रेटी बन्न जनप्रतिनिधिले गाडी खरिदको विवाद निकाल्नु भनेको लगनबिनाको पोतेजस्तै अर्थहीन रहेको सुनाए ।

यद्यपि नगरपालिकाको अहिलेसम्म आफ्नै एम्बुलेन्स छैन । भन्सारको झन्झटिलो प्रक्रिया पूरा गर्ने क्रममा एम्बुलेन्स खरिद गर्न ढिलाइ भएको संयोजक दिलबहादुरले स्वीकार गरे । कोरोना संक्रमित ह्वात्तै बढेपछि कोहलपुर नगरपालिकामा आइतबार बेलुका १२ बजेदेखि निषेधाज्ञा गरिने भएको छ ।इ कान्तिपुर

  • १३ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech