१४ बैशाख २०८१, शुक्रबार

हटस्पट बाँके : संक्रमित स्वास्थ्यकर्मी नै गर्छन् उपचार
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  कोरोना हटस्पट बनेको बाँकेमा संक्रमित स्वास्थ्यकर्मीले अन्य संक्रमितको उपचारमा खटिनुपरेको छ। ठूलो संख्याका स्वास्थ्यकर्मीहरू एकैपटक कोरोना संक्रमित भएको र अन्य संक्रमितको संख्या पनि बढेकाले संक्रमित स्वास्थ्यकर्मी नै उपचारमा खटिनुपरेको हो।

नशक्ति अभावका कारण कतिपय संक्रमित स्वास्थ्यकर्मीले नै अन्य संक्रमितको उपचार गर्नुपर्ने बाध्यता रहेको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. प्रकाश थापाले बताए। ‘संक्रमित बढ्ने क्रम रोकिएको छैन। पूर्वाधार र जनशक्ति पनि अभाव छ,’ मेसु डा थापाले भने, ‘स्वास्थ्यकर्मीले नै अन्य संक्रमितको उपचार गर्नुपर्नु परेको छ।’ १५ दिनको अवधिमा भेरी अस्पतालका मात्रै ७३ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्।

‘बिरामीको चापको अनुपातमा स्वास्थ्यकर्मीको अभाव छ। भएका स्वास्थ्यकर्मी पनि संक्रमित हुनुभयो,’ मेसु डा थापाले भने, ‘जनशक्ति अभावका कारण ५ जना नर्सले एक सय बिरामी हेर्नुपर्ने बाध्यता छ। ’जनशक्ति अभावमा सेवा नै बन्दगर्नुपर्ने अवस्था भएपछि झन्डै १० जना संक्रमित स्टार्फ नर्सहरु बिरामीको उपचारमा खटिँदै आएका छन्।

अस्पतालमा बेड अभाव भएपछि होम आइसोलेसनमा बस्न आग्रह गरिएको छ। बिरामीको पीडा सहन नसक्ने र अस्पताल आइसोलेसनमै बसेका स्वास्थ्यकर्मीले अन्य संक्रमितलाई उपचार गर्ने गरेका छन्।

भेरी अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि १४२ बेड छ। तर बिरामी बढेर २१२ पुगिसकेका छन्।

तत्काल संक्रमण नियन्त्रणमा आउन नसक्ने भएपछि अस्पतालले डाक्टरसहित ६० जना कर्मचारी माग गरेको छ। फास्टट्याक माध्यमबाट पदपूर्ति गर्ने गरी जनशक्ति माग गरिएको हो। भेरी अस्पतालले सोमबार सूचना प्रकाशित गर्दै तीन दिनभित्र नियुक्ती गर्नेगरी कर्मचारी माग गरिएको छ। उनीहरुलाई करारमा नियुक्त गरिने छ। अस्पतालले स्टाफनर्स ४० जना, मेडिकल अधिकृत १० जना, नर्सिङ अधिकृत २ जना, ल्याब टेक्निसियन ५ जना र एनेस्थेसियोलोजिस्ट ३ जना माग गरेको हो। नेपाल लाइभ

  • १५ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech