८ बैशाख २०८१, शनिबार

एमाले विवाद सहमति नजिक, ओली–नेपालबीच आज पनि छलफल हुँदै
  • न्युज मानसराेवर

काठमाडौं– एमाले विवाद सहमति नजिक पुगेको छ। एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बिहीबार भएको छलफलमा सहमति नजिक पुगेका हुन्। नेताद्वयबीच शुक्रबार पनि छलफल हुँदै छ।

ओली निकट एक नेताले भने, ‘हिजो दुई नेताबीच भएको छलफल सहमति नजिक पुगेको छ।’  यसबीचमा वरिष्ठ नेता नेपाल र राष्ट्रपति विद्यादेवी भण्डारीबीच पार्टी एकताका बारेमा छलफल भएको छ। यस्तै ओली पक्षका नेता विष्णु पौडेलले नेपाल निकट नेताहरू सुरेन्द्र पाण्डे, योगेश भट्टराईसँग छलफल गरेका छन्।

ओली र नेपालबीच आज हुने भेटवार्ताको समय र स्थान भने तोकिएको छैन। ओली निकट एक नेताले भने, ‘उहाँहरूबीच हिजो पनि भेट भएको हो। आज पनि भेट हुँदै छ। ठाउँको टुंगो लागेको छैन। उहाँहरुबाहेक अरूलाई थाहा छैन।’

उनका अनुसार शीतल निवासमा कुनै समझदारी भएकाे छैन। ती नेताले भने, ‘हिजो दुई नेताबीच भेटवार्ता भएको हो। सहमति नजिक पुगेका छन्। राष्ट्रपतिसँग अलगअलग भेट भएको हो। राष्ट्रपतिलाई किन विवादमा पार्नु। प्रयास जारी छ। राष्ट्रपतिको मध्यस्थतामा हैन।’

एमाले प्रमुख सचेतक विशाल भट्टराईले  पनि राष्ट्रपतिको मध्यस्थतामा पार्टी विवाद मिलाउन लागिएको भन्ने विषयमा कुनै सत्यता नभएको बताएका छन्। ओली र नेपालले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग अलग अलग भेट गरेका थिए।

 

  • २४ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech