११ बैशाख २०८१, मंगलवार

खनाल–नेपाललाई गाली गरेर एमाले विभाजन गरिँदै छ : भुसाल
  • न्युज मानसराेवर

काठमाडौँ — एमाले नेता घनश्याम भुसालले झलनाथ खनाल र माधव नेपाललाई गाली गरेर बाँकी रहेको पार्टी विभाजन गर्न लागिएको आरोप लगाएका छन् । उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा यस्तो धारणा व्यक्त गरेका हुन् ।

नेकपा विभाजन हुँदा पुष्पकमल दाहाललाई गाली गरेर पाप ढाक्ने प्रयास भएको भन्दै भुसालले अहिले खनाल र नेपाललाई गाली गरेर एमाले विभाजन गर्न लागिएको उल्लेख गरेका छन् ।

‘हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलाई गाली गरेर बाँकी रहेको नेकपा एमालेलाई विभाजित गरिँदै छ,’ उनले लेखेका छन् । विघटित प्रतिनिधिसभा पुनःस्थापित हुँदा दोस्रोपटक पनि असफल भएका शक्तिहरूले चुनावका नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर आफूहरुसँग बदला लिन कस्सिएको आरोप पनि भुसालले लगाएका छन् ।

‘आज हामी विरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनःस्थापित हुँदा दोस्रोपटक पनि असफल भएका शक्तिहरूले चुनावका नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दाबीको खण्डन हुँदैन,’ उनले लेखेका छन्, ‘विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ ।’

खनाल–नेपालसमूहका २८ सांसदले विश्वासको मत नदिएर आफ्नै पार्टीको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढालेको भन्दै अर्को समूहबाट आलोचना भएको छ । त्यसतर्फ लक्षित गर्दै भुसालले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।कान्तिपुर बाट

  • २९ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech