१४ बैशाख २०८१, शुक्रबार

बाँकेमा बाघ मृत फेला
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बाँके जिल्लामा वयस्क अवस्थाको एक भाले पाटे बाघ मृत अवस्थामा फेला परेको छ ।

बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ५ स्थित गोकुल सामुदायिक वनको खण्ड ५ मा पर्ने खैरी वन क्षेत्रमा मृत अवस्थामा रहेको अन्दाजी १० बर्षको वयस्क भाले पाटे बाघ फेला परेको डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत रमेश बुढाथोकीले जानकारी दिए ।

उक्त बाघ १४र१५ दिन पहिलेनै मरेको हुनसक्ने बुढाथोकीले बताए । ९ फिट ५ ईन्च लम्बाई भएको मृत अवस्थामा भेटिएको उक्त पाटे बाघको जीउ फुलेर डम्म भएको, किराहरु परेको, झिङ्गा भन्किएका, छालाको केहि भाग सडेगलेर रौं खुइलिएको, अगाडीको चारवटै दाह्रा काटेर लगेको र जुङ्गाहरु झिकिएको अवस्थामा फेला परेको उनले बताए ।

बाघको शरीरको कुनै पनि भागमा चोटपटक नदेखिएको, गोली वा धारिलो हतियार प्रयोग भएको नदेखिएको भएतापनि चारवटै दाह्रा काटेर लगेको र जुङ्गाहरु झिकिएको अवस्थामा फेला परेको हुनाले बाघलाई कसैले बिष सेवन गराएर मारेको हुन सक्ने सहायक वन अधिकृत बुढाथोकीले जानकारी दिए । थप अनुसन्धान पश्चात् मात्र सम्पुर्ण कुराहरु खुल्ने उनले बताए ।

  • २ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech