८ बैशाख २०८१, शनिबार

नयाँ सरकार गठनका विकल्पबारे दलहरू छलफलमा

७६ (५) अनुसार सरकार बन्नसक्ने केके छन् सम्भावना ?

  • न्युज मानसराेवर

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमुक्त नहुँदै नयाँ सरकार गठनका लागि आह्वान गरेपछि त्यसको विरोधसँगै आगामी विकल्प खोज्न दलहरु छलफलमा जुटेका छन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्नु असंवैधानिक भन्दै विपक्षी दलहरू छलफलमा जुटेका हुन् । राष्ट्रपतिले प्रतिनिधिसभा सदस्यहरूलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन् ।

उक्त कदमको प्रतिवादसँगै राष्ट्रपतिले दिएको समयसीमा भित्र बहुमत पुर्‍याएर नयाँ सरकारको दावी गर्ने गृहकार्यमा पनि दलहरु छन् । त्यसबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बसेको छ । संविधान र लोकतन्त्रको रक्षाका लागि सबै विकल्पमा छलफल गरेर अगाडि बढ्ने निर्णय कांग्रेस पदाधिकारी बैठकले गरेको छ । त्यसका लागि अन्य दलहरुसँग कांग्रेसले छलफल गर्ने भएको छ ।

माओवादी केन्द्रका नेताहरु पनि आन्तरिक छलफलमा जुटेका छन् । एमालेकै झलनाथ खनाल–माधवकुमार नेपालपक्षका नेताहरुबीच भर्चुअल माध्यमबाट छलफल भईरहेको एक नेताले जानकारी दिए । कांग्रेसले साँच्चै आफ्नो नेतृत्वमा सरकार गठन चाहेको हो वा चुनाव भन्ने निर्क्यौल भएपछि आफूहरुले थप निर्णय गर्ने उनले बताए । त्यसका लागि बरिष्ठ नेता नेपालले कांग्रेस र माओवादीसँग कुराकानी गर्ने भएका छन् ।

उता संसदको चौथो ठूलो दल जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोपक्षले संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा सुरु भएको बैठकमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवपक्षका सांसदहरु भने उपस्थित छैनन् । भट्टराई–यादव पक्षका सांसदहरु आन्तरिक छलफलमा जुटेका छन् ।

यद्यपि ठाकुर र महतो पक्षले ओली नेतृत्वकै सरकारका लागि सहयोग गर्नेगरी एमाले नेताहरुसँग छलफल गरेका छन् । एमाले प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार ओलीकै नेतृत्वमा बहुमतको सरकार बनाउने गरी जसपा नेताहरुसँग छलफल भईरहेको जानकारी दिए ।

एमालेको खनाल–नेपालपक्षका सांसदहरुले थप कदम नचाले जसपाको ठाकुर–महतो पक्षको समर्थनमा ओलीकै नेतृत्वमा सरकार बन्ने विकल्प देखिएको छ । यदि खनाल–नेपालपक्षका सांसदले विपक्षी गठबन्धनलाई सघाउने निर्णय गरे र जसपाको भट्टराई–यादवपक्षको समर्थन लिएर कांग्रेस र माओवादीले बहुमतको सरकारको दावी गर्न सक्ने विकल्प पनि छ ।

त्यसबाहेक जसपा अध्यक्ष ठाकुरको नेतृत्वमा सरकार बनाउने अर्को विकल्प पनि विपक्षी दलहरुसँग छ । यस्तो प्रस्ताव जसपा अध्यक्ष यादवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर गरिसकेका छन् । यद्यपि ठाकुराको नेतृत्वमा सरकार बनाउने विषयमा समेत जसपामा मतैक्यता छैन । यादवको प्रस्तावमा दाहाल सकारात्मक भएपनि कांग्रेस तयार हुन्छ वा हुँदैन भन्ने कुरा महत्वपूर्ण छ । आजै कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष दाहालबीच पनि भेटवार्ता हुने बताइएको छ । कान्तिपुर

  • ७ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech