८ बैशाख २०८१, शनिबार

गृहले भन्यो–स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्ने कार्य गैरजिम्मेवार र गैरकानूनी भएकाले संलग्नमाथि कानुनी कारबाही हुने गृह मन्त्रालयले जनाएको छ ।

शुक्रबार दिउँसो विज्ञप्ति जारी गर्दै मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिइ कानुनी कारबाही गर्ने विषयमा दृढ रहेको उल्लेख गरेको हो ।

गृह प्रवक्ता जनकराज दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘कोभिड महामारीको यो विषम अवस्थामा बिरामीको उपचारमा खटिएका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि हातपात र दुर्व्यवहार हुनु निन्दनीय कार्य हो ।’

बिहीबार राति भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो, घटनामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परिसकेका छन् । बिरामीको मृत्यु भएपछि तुलसीपुरका मानबहादुर रावत, भरत राउत र लोकराज रावतले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको बाँके प्रहरीले जनाएको छ । उनीहरु तिनैजना पक्राउ परेको प्रहरीले जनाएको छ, अन्यको संलग्नताबारे पनि अनुसन्धान भइरहेको छ ।

गृह प्रवक्ता दाहालका अनुसार घटनाको छानविनका लागि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा छानविन समिति पनि बनाइएको छ ।

चिकित्सकमाथि आक्रमण गर्ने समूहलाई कारबाहीको माग गर्दै भेरी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । अस्पताल परिसरमा भेला भएर उनीहरुले प्रदर्शन गरेका हुन् ।

यसैबीच, मन्त्रालयले स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । महामारीको विषम परिस्थितिमा उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण बढेको भन्दै गृहले सुरक्षामा ध्यान दिन निर्देशन दिएको हो ।

  • १४ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech