१५ चैत्र २०८०, बिहीबार

अध्यादेशबाट बजेट : वृद्धभत्ता र कर्मचारीको तलब वृद्धि

बजेटबाट वृद्धभत्ता चार हजार रूपैयाँ पुग्ने र सरकारी कर्मचारीको तलब २० प्रतिशतले बढ्ने भएकाे छ।

  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  आगामी आर्थिक वर्षको बजेट आउन अब केही घण्टा मात्र बाँकी छ। सरकारले अध्यादेशमार्फत् करिब १६ खर्ब रूपैयाँ बराबरको पूर्ण बजेट ल्याउने तयारी गरिरहेको छ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीलाई अध्यादेश जारी गर्नका लागि सिफारिस गर्ने छ। आज ४ बजे प्रधानमन्त्री कार्यालयबाट बजेट सार्वजनिक गरिने छ।

आगामी आर्थिक वर्षको बजेट ठूलो चुनौतीका बीच आउन लागेको छ। कोरोनाको दोस्रो लहरले देशभर निषेधाज्ञा जारी छ। निषेधाज्ञाका कारण उद्योगधन्दा व्यापार व्यवसायहरू ठप्प छन्। कतिपय उद्योगहरू बन्द भइसकेका छन्।

निषेधाज्ञा हुनुअघि ७८ प्रतिशत उद्योगहरू खुले पनि निषेधाज्ञाका कारण उद्योगधन्दा कलकारखाना बन्द छन्।

भारतभर कोरोनाका कारण भएको लकडाउनका कारण नेपालमा भारतबाट आउनुपर्ने कच्चा पदार्थ पनि आइरहेको छैन।

अर्थतन्त्र डामाडोल अवस्थामा छ। स्वास्थ क्षेत्र अस्तव्यस्त छ। समयमा नै कोरोनाको रोगीले उपचार पाएका छैनन्। अर्कोतर्फ सरकारले आगामी आर्थिक वर्षमा नै निर्वाचन मिति तोकेका छन्।

यस्तो जोखिम परिस्थितिमा अध्यादेशमार्फत् आउन लागेको बजेट विशेषगरी स्वास्थ्य क्षेत्रमा केन्द्रित हुनेछ। कोरोना नियन्त्रण र खोपलाई विशेष प्राथमिकतामा राखेको छ। यो वर्ष निर्वाचनसमेत घोषणा गरिसकेकाले यो सरकारले पपुलिष्ट बजेट ल्याउने छ।

वृद्धभत्ता पाँच हजार रूपैयाँ पुर्‍याउने भनिए पनि स्रोतको अभावका कारण चार हजार रूपैयाँ पुर्‍याउने पक्का छ। त्यस्तै सरकारी कर्मचारीको तलब २० प्रतिशतले बढ्ने र निर्वाचनको लागि ३० अर्ब रूपैयाँ छुट्याएको अर्थ मन्त्रालयका एक अधिकारीले बताए। यस्तै स्वास्थ क्षेत्रका साथै शिक्षामा पनि यस वर्ष राम्रो बजेट छुट्याइएको छ भने त्यसपछि कृषि क्षेत्रमा बजेट छुट्याइएको छ।

यस वर्ष पनि सरकारले प्रधानमन्त्रीदेखि मन्त्रीका आफ्ना चुनावी क्षेत्रमा बढी रकम छ्ट्याएका छन्। अझ पावरफुल मन्त्री पद्मा अर्याल, विष्णु पौडेललगायत चुनावी क्षेत्रमा बजेट छुट्याइएको पाइएको छ।

कोभिड भ्याक्सिनका लागि झन्डै ५० अर्बको हाराहारीमा बजेट छुट्याइएको पाइएको छ भने त्यस्तै संसद् विकास कोषको मोडालिटी पनि फरक बनाएर सात अर्ब रूपैयाँ बराबरको रकम छुट्याएको छ।

त्यसैगरी सरकारले बजेटको स्रोतमा आन्तरिक र बाह्य ऋणलाई प्राथमिकतामा राखेको छ। सरकारले दुई खर्ब ४० अर्ब रूपैयाँ बराबरको आन्तरिक ऋण उठाउने र डेढ खर्बको हाराहारीमा वाह्य ऋण उठाउने गरी बजेट बनाएको छ।

त्यस्तै राजस्वको लक्ष्य पनि २१ प्रतिशतले बढाएको छ। चालु आर्थिक वर्षको लागि सरकारले ११ खर्ब रूपैयाँ बराबरको राजस्व संकलन गर्ने लक्ष्य राखेको छ।

त्यस्तै राजस्वको लक्ष्यका लागि करका दायरा फराकिलो पार्दैछ भने केही विलासी वस्तुहरूको करमा वृद्धि गर्ने गरी तयारी गरिरहेको छ। जस्तै टोबाको, ह्वीस्कीजस्ता चिजहरूमा अन्तःशुल्कको दर बढाउने गरी बजेट बनाइरहेको छ।

  • १५ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech