७ बैशाख २०८१, शुक्रबार

‘कोरोना हट्स्पट’ बाँकेको अवस्था सामान्य बन्दै, अस्पतालमा ७४ बिरामी मात्रै
  • न्युज मानसराेवर

बाँके- कोरोना भाइरस महामारी संक्रमणको केन्द्रविन्दु बनेको बाँकेमा अहिले अवस्था सामान्य भएको छ। यहाँका अस्पतालमा ७४ जना बिरामी मात्र उपचाररत छन्।

कोरोनाको उपचार हुँदै आएका बाँकेका अस्पतालमा हाल उपचाररत ७४ मध्ये बाँके जिल्लाका १३ जना मात्रै रहेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।

उनका अनुसार बाँकेमा कोरोना संक्रमणदर घट्दै गएपछि अस्पतालमा कोराना बिरामीका लागि छुट्याइएका शय्या खाली हुँदै गएका छन्। बाँकेका कोभिड अस्पतालका ३६१ कोभिड शय्यामध्ये ७४ जना मात्र उपचाररत छन् भने ८० प्रतिशत शय्या खाली भएका छन्।

बाँकेका साना–ठूला चार अस्पतालले कोभिड कक्षका लागि छुट्याएका ३६१ शय्यामध्ये २७१ शय्या खाली भएका हुन्। नेपालगञ्जस्थित भेरी अस्पतालको २०० शय्यामा १२५ शय्या खाली भएको छ।

भेरी अस्पतालमा उपचाररत ६० बिरामीमध्ये १८ जना सिकिस्त छन्। कोहलपुरस्थित शिक्षण अस्पतालमा कोभिड वार्डका १३० शय्या छुट्याइएकामा ११६ खाली छन्। उक्त अस्पतालमा उपचाररत १४ बिरामीमध्ये आठ सिकिस्त रहेको स्रोत व्यक्ति वलीले बताए।

वेष्टर्न अस्पतालमा १६ शय्यामा १५ शय्या खाली भएको छ। युनाइटेड अस्पतालमा १५ शय्या छुट्याइएकामा सबै खाली भएको छ।

बाँकेमा कोरोना भाइरस संक्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका ३४७ र जिल्लाकै ३१० गरी ६५७ जनाको मृत्यु भएको छ। नेपाल समय

  • ६ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech