१२ बैशाख २०८१, बुधबार

कोहलपुर नगरको पारित नीति तथा कार्यक्रममा के के छ ?
  • आर.के. छिनाल

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाको नवौंं नगर सभामा पेश भएका नीति तथा कार्यक्रमहरु सर्वसम्मत रुपमा पारित  गरेको छ ।

७ गते प्रस्तुत नीति तथा कार्यक्रम बारे सभाका सदस्यहरुका  सुझावहरु ग्रहण गर्दै आज नीति तथा कार्यक्रम सर्वसहमत पारित गरेको हो ।   ९ औँ नगरसभामा   कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रम पेश गरेका थिए ।  प्रस्तुत   नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनलाई पहिलो प्राथमिकता दिईएको छ ।

यहाँ नीति तथा कार्यक्रमहरु बारे संक्षितमा प्रस्तुत गरेका छौँः

कोभिड–१९ संक्रमण व्यवस्थापन सम्बन्धि नीतिःनगरपालिका मेयर रावतले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोभिड–१९ को दोस्रो लहर तथा भावि दिनमा आउन सक्ने सम्भावित तेस्रो लहर लगायत अन्य महामारीको रोकथाम, नियन्त्रण, उपचार र खोपको भरपर्दो व्यवस्था गरी सबै नगरबासीको जीवन रक्षा गर्नुका साथै कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचारका लागि अग्रभागमा खटिने स्वास्थ्यकर्मी तथा अन्य जनशक्तिहरुको लागि आवश्यक पर्ने स्वास्थ्य सुरक्षा सामग्री र उपकरणहरुको पर्याप्त मात्रामा आपूर्ति तथा व्यवस्थापन गरिने उल्लेख गरेका थिए । भने  कोभिड–१९ बाट मृत्यु भएका नगरवासीका आश्रित परविारलाई प्रति परिवार ५० हजार राहत उपलब्ध गराउने नीति तथा कार्यक्रममा उल्लेख गरेका थिए ।

आगामी श्रावण महिनादेखि जनशक्ति र पूर्वाधारको व्यवस्थापन गरी १५ शैय्याको आधारभूत अस्पतालबाट ओपिडि सेवा सञ्चालन गर्ने र अस्पतालबाट नगरका न्यून आर्य भएका नागरिकलाई  निःशूल्क उपचार गरिने  व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

शिक्षा  यसै गरी प्रस्तुत नीति तथा कार्यक्रममा   अनिवार्य तथा शूल्क आधारभूत शिक्षा नीतिलाई माध्यामिक तहसम्म क्रमशः निरन्तरता दिईने, विद्यालय शिक्षामा ल्याउने, टिकाउने र सिकाउने कार्यक्रम सञ्चालन गर्ने, बालबिकास र कक्षा १ मा शत प्रतिशत विद्यार्थी भर्ना गरिने, “एक वडा–एक नमूना बालविकास केन्द्र” अभियान सञ्चालन गर्ने, सूचना प्राविधि युक्त शिक्षकसँग मेयर कार्यक्रम लागु गर्ने, विपन्न बालबालिकासँग उपमेयर कार्यक्रम संचालन गर्ने, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबा एमबिबिएस डाक्टर तथा महिला नर्स छात्रवृत्तिमा पढन पाउने व्यवस्थाका लागि एक डाक्टर एक नर्स कार्यक्रम सञ्चालन गर्ने, एक विद्यालय एक खेलकुद शिक्षक र एक विद्यालय एक स्वास्थ्यकर्मी को व्यवस्था गर्ने नीति  लिइएको छ ।

निति तथा कार्यक्रमम कृषि तथा पशुपन्छी
कृषि तर्फ “किसानको मान, कोहलपुरको पहिचान” भन्ने नारासहित कृषि कार्यमा संलग्न उत्कृष्ट उद्यमी÷कृषि उद्यमी÷ कषि सहकारी÷समूहलाई नगर प्रमुख उत्कृष्ट कृषक÷कृषि उद्यमी÷कृषि सहकारी÷समूह” पुरस्कारले पुरस्कृत गर्ने, “घर–घरमा महिला कृषक उद्यमी, आउनेछ घरमा शान्ति र समृद्धि” भन्ने नाराका साथ महिला कृषक र सहकारी लक्षित कार्यक्रम सञ्चलान गर्ने, नगरपालिकालाई तरकारी, खाद्यान्न फलफुल दुग्ध र अण्डामा आत्मनिर्भर बनाउने र “एक घर दुई फलफुलको विरुवा” को कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

पूर्वाधारःएक वडा एक कालोपत्रे सडक निमार्ण कार्यलाई निरन्तरता दिइएको छ । यसै गरी नगर यातायात गुरुयोजना अद्यावधिक गरी सडकको क्षेत्राअधिकार (राइट टु होए ) स्तरोन्ति कालो पत्रे नामाकरण गरिने भएको छ । पारित निति तथा कार्यक्रममा नगर गौरव तथा समग्र रुपान्तरणकारी योजनाको रुपमा रहेका चप्परगौडी घुईयाबारी अन्रप्रदेश सडक, कभर्ड हल अन्तराष्टिय क्रिकेट मैदान भ्यू टावर घण्टाघर सिटिहल लामो दुरीको बसपार्क आधुनिक बधशाला डुडुवा करिडोर बाल अस्पताल १५ शैयाको आधारभूत अस्पताल आकाशे पुल निमार्ण विद्युतीय शवदाह गृह ढल र फोहरमैला तथा दिशाजन्य पदार्थको प्रशोधन केन्द्रको निर्माण गर्ने यसै गरी नगर क्षेत्रमा औद्योगिक ग्राम बजार पार्क र आपतकालीन सामाग्री भण्डारण गृह लगाएत न्यूनतम पूर्वाधार निमार्ण गर्नुका साथै मुक्त कमैया बस्तिलाई नमुना बस्तिका रुपमा विकास गर्ने नीति लिइएको छ ।

गरिबी निवारणः गरिबी निवारणः मुख्य रुपमा वैदेशिक रोजगारीबाट फर्किएका सिपयुक्त युवा जनशक्ति महिला दलित चिडिमार खटिक ,पासी राजी कुमाल मुक्त कमैया कम्लहरी ,मुस्लिम ,आदिवासी जनजाति तथा नगरका विपन्न वर्गहरुको आर्य स्तर बृद्धिका लागि एकल तथा सामुहिक साझेदारीमा घरेलु तथा लघु उद्यम र साना व्यवसाय सञ्चालन गर्ने साना उद्यमी कोष स्थापना गरी ऋृण उपलब्ध गराउने नीति लिएको छ ।

यसै गरी वेरोजगार युवाहरुलाई निजी क्षेत्र संग समन्वयन तथा साझेदार संघ संस्थाहरु संगको साझेदारीमा परम्परागत शिप पेशामा आधारित प्राविधिक तथा सिपमूलक तालिम प्रदान गरी स्वरोगार बनाउने निति लिएको छ भने सिटिइभिटी संगको साझेदारीमा डिप्लोमा तहको फार्मेसी,ल्याब र रेडियो ग्राफी विषयको अध्यन शुरुवात गरिनुका साथै बेरोजगारहरुको विस्तृत लागत तयार गरी श्रम बैंंक स्थापना तालिम र प्रविधि हस्तान्तरा रोजगार कार्यक्रम संचालन गर्ने र स्वरोजगार कार्यक्रम मार्फत श्रमिकहरुलाई नगरमा एक महिने रोजगारी उपलब्ध गराउने आगामी वर्षको नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ ।

भूमि व्यवस्थापन नीतिः भूमिहीनलाई घरबारी गाउँ गाउँमा रोजगारी भन्ने नारासहति भूमिहीन दलित भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोवासी र गाउँब्लकमा बसोबास गर्ने परिवारहरुको लागत अंकलन नाप नक्शाकंन सत्यापन र अभिलेख गर्ने कार्य सम्पन्न गरी जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । भने नगरपालिका क्षेत्रमा नापी नक्सा घर,जग्गा धनीपूर्जा र घर नम्बरलाई मिलान गरी भौगोलिक सूचना प्रणालीमा आधारित अभिलेख तयार गर्ने भएको छ भने डिजिटल प्रविधिमा आधारित नाप नक्सा तयार गरिने उल्लेख गरिएको छ ।

वन तथा वातावरण संरक्षण नीतिः नगरपालिकालाई देशर्कै हरित नगर को रुपमा विकास गर्न सामुदायिक वन जैविक पार्क खोला किनार सार्वजनिक स्थल सडक किनारा ग्रिनबेल्ट पार्क र खाली जमिनमा वृक्षारोपण पुष्प वाटिका र हरियाली पार्कको निमार्ण कार्य शुरु गरिने कोहलपुर नगरपालिका आफ्नो निति तथा कार्यक्रमा समावेश गरेको छ । यसै गरी अतिक्रमणलाई पूर्ण रुपमा निषेध गर्ने योजना ल्याएको
छ । नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा तुल्सी एलोभेरा बेसार निम गुर्जो लगाएत जैविक औषधी जन्य व्यवसायिक खेति गर्न सामुदायिक वन र कृषकलाई अनुदानको व्यवस्था गरेको छ ।

कर सो शुल्क तथा राजश्व नीतिः आन्तरिक राजश्व व्यवस्थापन सम्बन्धि एकीकृत ऐन र कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याइने उल्लेख गरिएको छ । यसै गरी सूचना प्रविधिमा आधारित भई आन्तरिक आयको सङ्खलन दाखिला तथा अभिलेखनलाई बर्गीकृत नियमित र व्यवस्थि गर्दै राजश्व चुहावटलाई शुन्य बनाउने नीति लिएको छ ।

विपत व्यवस्थापन नीतिः कोहलपुर नगरपालिकाले विपत व्यवस्थापन निति अनुरुप आवश्यक पर्ने आधारभूत सामाग्रीहरु सबै वडामा भण्डारण गर्ने नीति लिएको छ भने बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको रुपमा रहेका नगरका वडाहरु १,२,१२र १३ मा मावन र वन्यजन्तु विचको द्धन्द्ध न्यूनिकरण गर्न घेरबारका लागि आवश्यक पर्ने तारजाली उपलब्ध गराउने भएको छ । यसै गरी पिडितसंग नगरपालिका भन्ने भावनाका साथ वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका पिडित परिवारलाई प्रतिव्यक्ति एक लाख राहत उपलब्ध गराउने भएको छ । डुवान क्षेत्रका लागि तटबन्धन रिटेनिडवाल निर्माण तथा बाँस निगालो खती लगाएत बायो इन्जिनियरिङ विधि प्रवद्र्धन गरी कटान तथा भू क्षय न्यूनिकरण गर्ने नीति लिइएको छ ।

सुशासनका लागि आर्थिक पारदर्शिताः नगरपालिकाले मासिक रुपमा नगरको आय व्ययको विवरण आधिकारी वेव पेज मार्फत सार्वजनिक गर्ने भएको छ भने जनताको सुचनाको हकको प्रवर्दन गरी यर्थाथ सुचना उपलब्ध गराउने चौमासिक रुपमा सार्वजनिक सुनवाई कार्यक्रम गर्ने नगरको अर्ध बार्षिक समिक्षा कार्यक्रम गर्ने सबै वडाहरुमा विषयगत शाखा तथा सेवा केन्द्रहरुलाई प्रभावकारी विद्युतयि नेटवर्कमा लैजाने ई हाजिरी आन्तरिक नेटवर्किङ वेब पेज व्यवस्थापन गर्ने भएको छ ।

पर्यटन नीतिः  नगरपालिकाले प्राकृतिक सांस्कृतिक र मनोरमस्थल गन्तव्यहरुको विस्तृत अध्ययन गरी अभिलेखीकरण भएको छ ।
पर्यटन क्षेत्रमा पूर्वाधार निमार्ण वडा न १३ मा रहेका नमुना होम स्टे जैविक पार्क भ्यू टावर हात्तीसार रामजानकी विश्वविराट शिव पावर्ती मन्दिर बम्हकुमारी ऐश्ररीय राजयोग केन्द्र र हात्ती सफारी सहित धार्मिक एव पर्यटकीय एकीकृत भ्रमण प्याकेज संचालन गर्ने भएको छ ।
यसै गरी पर्यटन क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई पर्यटन पत्रकारीता पुरुस्कारले सम्मान गर्ने उल्लेख गरिएको छ ।
सहकारी तथा वित्तीय नीतिः
उत्पादनमा आधारित कृषि उद्योग एव व्यवसायको प्रवद्र्धनमा विशेष जोड दिएको छ । सहकारीको क्षेत्रमा हुने कामकारबाहीलाई एकीकृत रुपमा संचालन गर्न नगर स्तरीय सहकारी बोर्डको गठन गर्ने नीति लिइएको छ । यसै गरी विकास र समृद्धिको यात्रा सहकारीसंगको सहयात्रा भन्ने नारा सहित ग्रामीण स्तरमा सहकारी सेवा विस्तार गर्न प्रोत्साहन गर्ने नीति लिइएको छ भने सहकारी संस्थाहरुको एक आपसमा गाभिएमा तिन बर्षसम्म ५० प्रतिशत करछुट सहित कोसेली घर वित्तय सेवाको विस्तार गर्ने उदेश्यले घुम्ती बैंक कार्यक्रम संचालन गर्ने तथा सहकारी प्रोत्साहन कार्यक्रम संचालन गर्ने नीति लिइएको छ ।

उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण नीतिः
नगर क्षेत्रमा उद्योग व्यापार व्यवसायिक उद्यम स्थापना र प्रबद्र्धनका लागि रणनीतिक योजना तर्जुमा गरी उद्योग मैत्री वातावरण सृजना गर्ने नीति लिइएको छ । अति प्रभावित उद्योग व्यापार व्यवसाय र उद्यम सुचारु गर्न व्यवसा विकास कोष मार्फत राहत तथा अनुदान उपलबध गराउने उल्लेख गरिएको छ ।
महिला बालबालिका तथा जेष्ठ नागरिक नीतिः
विद्यालय भर्ना हुन आउने तथा माथिल्लो कक्षा चढेका सबै बालबालिकाहरुको कार्यगत सिमितताको लेखा जोख गर्ने सबै विद्यालयहरुमा बाल संरक्षण नीति जारी गर्ने बाल मैत्री बाल विवाह मुक्त नगर घोषणा गरिने महिलाले नेतृत्व गरेका सहकारीहरुको संस्थागत विकास तथा नेतृत्व क्षमता विकास कार्यक्रमहरु संचालन गरिने भएको छ भने । नगर प्रमुख छात्रवृत्ति कार्यक्रम संचालन गरी आर्थिक रुपमा विपन्न तथा दलित मुस्लिम राजी बादी , गन्धर्ब खटिक लगाएत लोपउन्मुख समुदायका बालबालिकाहरुलाई आधारभू शिक्षाको पहुँच अभिवृद्धि गरिनुका साथै अभिभावक शिक्षा कार्यक्रम संचालन गरिने भएको छ ।
विपन्न बालबालिकासँग उपमेयर कार्यक्रमः संस्थागत विद्यालयमा एक बालक एक वालिका लाई निशुल्क पढन पाउने व्यवस्था गर्नुका साथै कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजबाट एम बीबीएस डाक्टर तथा महिला नर्स छात्रवृत्तिमा पढ्न पाउने व्यवस्थाका लागि एक डाक्टर एक नर्स कार्यक्रम संचालन गरिने भएको छ ।
सूचना तथा प्रविधिमा आधारित विद्यालय शिक्षा विषय शीर्षकमा प्राज्ञिक अनुसन्धान गर्ने एक जना महिला तथा एक जना पुरुष शिक्षकलाई छात्रवृत्ति रकम प्रदान गर्नेछ भने नगर हरित विद्यालय कार्यक्रम र एक विद्यालय एक खेलकुद शिक्षक एक विद्यालय एक स्वास्थ्यकर्मी कार्यक्रम संचालन गरिने पारित नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
सूचनाप्रविधि युक्त शिक्षकसंग मेयरः विद्यालय शिक्षकलाई बैकल्पिक माध्मको शिक्षाका लागि आवश्यक पर्ने आइसिटी उपकरण इन्टरनेट सेवा र सूचना प्रविधिमा आधारित क्षमता विकास गराइने छ भने बैकल्पिक माध्यमबाट शिक्षणको सुधारका लागि सबै ५ वटा विषयगत सिकाइ केन्द्रहरुबाट एक एक वटा विषयगत क्रियात्मक अनुसन्धानहरु शुरु गरिने भएको छ ।

यसै गरी पारित कोहलपुर नगरपालिकाको ९ औ नगर सभा बाट सूचना तथा सञ्चार नीति ,दलित अपाङ्ख आदिवासी जनजाति तथा अन्य विपन्न वर्ग नीति ,भाषा साहित्य र ललित कला नीति , आधारभूत स्वास्थ्य सेवा नीति , एक घर एक खाने पानी खाने पानी तथा सरसफाई नीति एक घर एक रोजगार युवा तथा खेलकुद् नीति आर्थिक वर्ष २०७८।७९ का लागि पारित गरिएको छ । भोलि नीति तथा कार्यक्रम अनुसार कोहलपुर नगरपालिका उप मेयर सन्जु कुमारी थारुले बजेट प्रस्तुत गर्ने तालिका रहेको कोहलपुर नगरपालिका प्रवक्ता माधव रिजालले जानकारी गराएका छन् ।

 

 

  • ९ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech