१३ बैशाख २०८१, बिहीबार

शिक्षामन्त्रीको बर्खास्तीको माग गर्दै सडकमा उत्रिए बाँकेका युवा
  • न्युज मानसराेवर

कोहलपुर ।  शिक्षामन्त्रीको बर्खास्तीको माग गर्दै बाँकेका युवाहरुले सडकमा प्रदर्शन गरेका छन् । शनिबार कोहलपुरको न्युरोडमा जम्मा भएका कोहलपुरका युवा, युवती तथा अधिकारकर्मीहरुले आँखामा पट्टी र हातमा साङ्लो बाँधेर  सांकेतिक रुपमा जातीय विभेदको विरोध गरेका हुन् । उक्त अवसरमा जातीय विभेदलाई संरक्षण गर्ने शिक्षामन्त्री क्षेष्ठलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न माग गरिएको छ ।

संविधानत: अपराधको रुपमा स्वीकार गरिएको जातीय विभेदलाई सरकारका मन्त्रीबाट संरक्षण हुनु विधिको शासनको उल्लंघन भएको उनीहरुको आरोप छ ।

सरकारको सत्ताधारी दल र प्रधानमन्त्रीको मौनतासमेत गम्भीर रहेको युवा लक्ष्मण मानवले बताए । उनका अनुसार जातको आधारमा गरिने भेदभावलाई राज्यले संरक्षण गर्ने कार्य कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताए ।

यसको विरुद्धमा देशभर सशक्त आन्दोलन र विरोध आवश्यक रहेकोमा जोड दिए । उक्त अवसरमा बोल्दै युवा मधु शाहीले पनि जनताको करबाट सरकारी तलब खाने र सरकारी गाडी प्रयोग गर्ने मन्त्रीले जातीय विभेदलाई संरक्षण गर्नु गम्भीर अपराध भएको बताइन् ।

उनले  सरकारले दलित भएको भन्दै कोठा नदिने घरबेटीलाई तत्काल कारबाही गर्नुपर्ने माग गरिन् । उनीहरुले ‘जातीय विभेदको अन्त्य गरौं, जात व्यवस्था खारेज गर र जातीय विभेदको संरक्षण गर्ने मन्त्रीहरुलाई बर्खास्त गर’ भन्ने नारा लेखिएका प्ले कार्डसमेत बोकेका थिए ।

उक्त अवसरमा बोल्ने अधिकांश वक्ताहरुले राज्यद्धारा संरक्षित अपराध कुनै पनि हालतमा स्वीकार योग्य नहुने बताएका हुन् । सांकेतिक विरोध कार्यक्रममा २५ जनाभन्दा बढी युवाहरुको सहभागिता रहेको थियो ।

  • १२ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech