९ माघ २०८१, बुधबार

चिडिमार समुदायलाई उपलब्ध गरायो नगरले बट्टाईका चल्ला र खोर
  • न्युज मानसराेवर

कोहलपुर ।  कोहलपुर नगरपालिकाले चिडिमार जातिका लागि बट्टाई खोर तथा बट्टाई चल्ला वितरण गरेको छ ।

कोहलपुर नगरपालिकाले मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत चिडिमार जातिका लागि बट्टाई खोर हस्तान्तरण कार्यक्रममा बोल्दै बाँके क्षेत्र नं. १ (ख) प्रदेश सभा सदस्य एवम् निवर्तमान मन्त्री आरती पौडेलले भविष्यमा कोहलपुरलाई बट्टाई मार्टका रुपमा चिनाउन सकिने बताउँदै नगरपालिकाले उपलब्ध गराएका बट्टाईहरुको संरक्षण गरी आत्मा निर्भर बन्न सक्नुपर्ने बताएकी छिन् ।

पौडेलले  बट्टाईको संरक्षण गर्न चिडिमार जाति नै अग्रसर भई व्यवसायिक रुपमा यसको पालन गरी आर्यआर्जनमा टेवा पुग्ने बताएकी छिन् । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले चिडिमार जातिले पुर्खादेखि नै चरा मारी बिक्रि गर्ने परम्परा भएपनि अब चरा मार्न नपाईने नियम कानून बनेकाले नै अब व्यवसायिक रुपमा बट्टाई पालेर आफ्नो व्यवसायिक जीवन सुरु गर्नुपर्ने बताएका छन् ।

उनले स्थानिय तहको निर्वाचन पछि कोहलपुरमा रहेको चिडिमार जातिका लागि कोहलपुर नगरपालिकाले विगतमा भैंसीउपलब्ध गराईएको, सिचाईका लागि पम्प, आवास निर्माण गरिएको स्मरण गर्दै अब बट्टाई पालानका लागि बट्टाईको खोर र बट्टाईका चल्ला नै उपलब्ध गराईएको बताएका छन् ।

साथै उनले चिडिमार जातिले उत्पादन गरेका बट्टाईको बिक्रि वितरणका लागि बजारीकरण गर्न आफुहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक डिल बहादुर परियारले चिडिमार जातिको परम्परागतदेखि बट्टाई समात्ने र बेच्ने कार्य चलिआईरहेकाले अब बट्टाईलाई नै व्यवसायिक रुपमा पालन गरी आर्थिक रुपमा सक्षम हुनुपर्ने बताएका छन् । कोहलपुर नगरपालिका वडा नं. १५ का वडा अध्यक्ष पतिराम थारुले आर्थिक रुपमा पछाडि परेका चिडिमार जातिलाई विभिन्न क्षेत्रबाट सहयोगको आवश्यकता परिरहेको जानकारी दिँदै कोहलपुर नगरपालिकाले बट्टाईका चल्ला उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरेका छन् ।

यसै गरी  कोहलपुर नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख बिर बहादुर बिकेले कोहलपुुर नगरपालिका वडा नं. १५ मा रहेका चिडिमार जातिका १० घरपरिवारलाई बट्टाई पाल्नका लागि खोर, दुई सय बट्टाईका चल्ला, एक महिनाका लागि दाना तथा पानी र दाना खुवाउनका लागि आवश्यक पर्ने सामाग्रीहरु बितरण समेत गरिएको उनले बताएका छन् ।

 

  • २० असार २०७८, आईतवार प्रकाशित

  • Nabintech