१२ श्रावण २०८१, शनिबार

फेरि महाधिवेशन सार्दै कांग्रेस! कार्यकर्ता आक्रोशित
  • न्युज मानसराेवर

काठमाडौं– भदौ १६ देखि तोकिएको नेपाली कांग्रेसको १४ औं महाधिवेशन अनिश्चित बन्दै गएको छ। महाधिवेशन उद्घाटन हुन ३५ दिन बाँकी रहँदा क्रियाशील सदस्यता छानबिन नै सकिएको छैन। असार ४ गतेको केन्द्रीय समितिले असार मसान्तसम्म क्रियाशील सदस्यताको टुंगो लगाएर साउन १२ (मंगलबार) वडा तहका अधिवेशन सम्पन्न गर्ने कार्यतालिका पास गरेको थियो।

तर कार्यतालिकाअनुसार काम हुन सकेन। क्रियाशील छानबिन समितिले अहिलेसम्म काम सकेर सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छैन। क्रियाशील विवादकै कारण धनुषा, सर्लाही र बाराका नेताकार्यकर्ताले पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिइरहेका छन्।

१६५ निर्वाचन क्षेत्रसहित २१० ठाउँबाट सफ्टवेयरमा प्रणालीमा क्रियाशीलको विवरण इन्ट्री गराएको कांग्रेसले ९ लाख क्रियाशील सदस्यता पुर्‍याएको छ। त्यसरी इन्ट्री गर्दा सभापति देउवा गुटका नेताकार्यकर्ताले मनोमानी गरेर सदस्यता थप गरी पार्टी कब्जा गर्न खोजेको आरोप इतर समूहले लगाउँदै आएको छ।

सदस्यता छानबिनका लागि बनाइएको समितिमा पाँच हजार उजुरी परेको थियो। तर, समितिले बारा र सप्तरीको विवाद हरेको छैन भने करिब १२५ वडाको विवाद समाधान गर्न नसकेको बताइएको छ।  क्रियाशील सदस्यताको टुंगो लाग्न नसक्दा साउन १२ (मंगलबार) का लागि तोकिएको वडा तहको अधिवेशनसमेत गत शनिबार बसेको पदाधिकारी बैठकले स्थगन गरिसकेको छ।

निर्वाचन समितिले महाधिवेशन गराउन कम्तीमा ५४ दिन आवश्यक पर्ने बताएको छ। तर, निर्धारित मितिमै महाधिवेशन हुने हो भने अबको ३५ दिनमा महाधिवेशन उद्घाटन हुनेछ। निर्वाचन समितिले वडादेखि जिल्ला तहको अधिवेशनका लागि मात्रै ३८ देखि लाग्ने बताएको छ। यस्तो अवस्थामा कांग्रेस महाधिवेशन अनिश्चिततातर्फ धकेलिँदै गएको छ।

२०७२ सालमा भएको १३ औं अधिवेशनबाट निर्वाचित वर्तमान कार्यसमितिको म्याद ०७६ सालमै सकिएको थियो। तर, विधानअनुसार कार्यसमितिको म्याद ०७७ फागुनसम्म थपिएको थियो। थपिएको एक वर्षभित्र पनि महाधिवेशन हुन नसक्दा कांग्रेसले वैधानिकता जोगाउन संविधानको फेरो समातेको छ। संवैधानिक व्यवस्थाअनुसार थप गरिएको ६ महिनाको अवधि (आगामी भदौ) भित्र महाधिवेशन गरिसक्नुपर्ने बाध्यात्मक अवस्थामा कांग्रेस छ। तर, तयारी हेर्दा भदौभित्र महाधिवेशन हुने संकेत देखिँदैन।

महाधिवेशन तयारीको समय घर्किंदै जाँदा नयाँ कार्यतालिका ल्याउने तयारी भइरहेको छ। एक नेताका अनुसार भदौमा वडा तहको अधिवेशन सुरु गरेर कात्तिक वा मंसिरमा महाधिवेशन गर्न छलफल पार्टीभित्र चलिरहेको छ। तर, संवैधानिक व्यवस्थाअनुसार भदौभित्रै महाधिवेशन गरिसक्नुपर्ने भएकाले कात्तिकमा महाधिवेशन गर्न संवैधानिक अड्चन देखिन्छ। तर, पार्टीको वैधानिकतामा प्रश्न नउठ्ने गरी महाधिवेशन सार्न ‘लुप होल’ को खोजीमा कांग्रेस छ।

‘भदौमा तल्ला तहका अधिवेशन गर्ने र कात्तिक वा मंसिरमा महाधिवेशन गर्ने बारे छलफल भइरहेको छ,’ ती नेताले भने, ‘भदौ १९ अघि नै अधिवेशन प्रारम्भ हुँदा संविधानिक अड्चन नहुने तर्क पनि भइरहेका छन्। कोरोना अवधिलाई शून्य समय समय मानेर अदालतबाट आदेश लिएर सार्ने बारे पनि छलफल भइरहेको छ।’

महाविधेशन सर्ने निश्चित प्रायः भइसकेको अवस्थामा कसैले मुख खोलेर यसबारे बोलेका छैनन्। ‘महाधिवेशन तोकिएकै समयमा हुने सम्भावना टर्दै गएको छ। सबै पक्ष महाधिवेशन सर्न सहमतजस्तै छन्। तर, कसैले बोल्न चाहेको स्थिति छैन,’ पौडेल पक्षका अर्का नेता भन्छन्, ‘महाधिवेशन कसरी सार्ने सकिन्छ भनेर लुप होल खोजी भइरहेको छ। हेरौं के हुन्छ।’

गत शुक्रबार आयोजित एक कार्यक्रममा नेता कृष्णप्रसाद सिटौलाले पूर्वनिर्धारित कार्यतालिकाअनुसार महाधिवेशन नहुने निश्चित भइसकेको बताएका थिए। ‘पहिले तोकेको मितिमा महाधिवेशन हुँदैन भनेर सबैलाई थाहा छ। तर, कोही पनि हुँदैन भन्न तयार छैनन्’, सिटौलाले भनेका थिए।

सार्वोच्च अदालतले २०७७ साल जेठ १५ गते ‘लकडाउन’ को अवधिलाई शून्य अवधि मानेको थियो। त्यसकै जगमा महाधिवेशनका लागि थप समय प्राप्त हुन सक्ने आधार रहेको नेता डा. नारायण खड्काको भनाइ छ। ‘सकिन्छ भन्ने भदौमा महाधिवेशन गर्ने हो। सकिँदैन भने लकडाउनलाई शून्य समय मान्ने सर्वोच्चको फैसलालाई अध्ययन गर्नुपर्छ। राजनीतिक दलसम्बन्धी ऐन पनि हेर्नपर्छ। निर्वाचन आयोगलाई महाधिवेशनको कार्यतालिका बुझाएर थप समय लिनुपर्छ,’ उनी भन्छन्।

नेताकार्यकर्ता आक्रोशित 

तोकिएको समयमा महाधिवेशन नहुने खतरा बढ्दै जाँदा नेताकार्यकर्ता भने आक्रोशित बन्न थालेका छन्। निर्धारित समयमा महाधिवेशन नहुँदा पार्टीको वैधानिकता नै समाप्त हुने खरता बढेको भन्दै नेताकार्यकर्ता आक्रोशित बन्न थालेका हुन्। उनीहरुका असन्तुष्टि सामाजिक सञ्जालमा पोखिन थालेका छन्।

प्रदेश नम्बर एकका कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले सोमबार महाधिवेशन सार्न लागिएको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनले पार्टीको वैधानिकता जोगाउने सन्दर्भमा आमरण अनशन नै बस्न तयार रहेको अभिव्यक्ति दिएका छन्। उनले भनेका छन्, ‘प्रजातन्त्र, लोकतन्त्रका लागि जेल जान, छातीमा गोली थाप्न तयार भइयो। विभिन्न बहानामा अधिवेशन नगर्ने हो भने कांग्रेस बचाउन आमरण अनशन बस्न तयार छौं। अधिवेशन नगराउने र मतियार हुनेहरु होसियार!’

महाधिवेशनको फितलो तयारी र तल्ला तहका अधिवेशन स्थगत गरिएपछि जिल्ला सभापतिसमेत असन्तुष्ट भएका छन्। काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुले सोमबार विज्ञप्ति जारी गर्दै असन्तुष्टि जनाएका हुन्। ‘कांग्रेसका लाखौं क्रियाशील सदस्यले व्यग्र प्रतीक्षा गरेको पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका स्थगित गरिएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ जिल्ला सभापतिहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारको कदमले पार्टीको लोकतान्त्रिक छविमा असामान्य आघात पुगेको र नयाँ पुराना सम्पूर्ण पार्टी सदस्यको चाहनाअनुरुप सबैखाले चुनौती सामना गर्न सक्ने नीति र नेताबारे निर्णय गर्ने ऐतिहासिक अवसरबाट पार्टी चुकेको छ।’

क्रियाशील सदस्यताको विवाद देखाएर महाधिवेशन सार्न खोजिएको संकेत गर्दै विज्ञप्तिमा भनिएको छ, ‘विधान र मापदण्डविपरीत क्रियाशील सदस्यता थोपरिएमा हुनसक्ने कुनै पनि दुष्परिणामका प्रति स्वयं नेतृत्व जिम्मेवार रहने तथ्य समेत स्पष्ट गर्न चाहन्छौं।’

मंगलबार छिनोफानो हुने

निर्धारित मितिमा महाधिवेशन हुन्छ वा सर्छ? यसको छिनोफानो मंगलबार हुनेछ। मंगलबार बिहान ९ बजे बस्ने पदाधिकारी र पूर्वपदाधिकारी बैठकले यसबार निर्णय लिनेछ। सभापति देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठकमा रमेश लेखक नेतृत्वको छानबिन समितिले प्रतिवेदन बुझाउनेछ। समितिले प्रतिवेदन पेस गरेपछि महाधिवेशनको नयाँ कार्यतालिका ल्याउने तयारी भइरहेको बुझिएको छ।

‘भोलि (मंगलबार) बस्ने पदाधिकारी र पूर्वपदाधिकारी बैठकले महाधिवेशन सार्ने वा निर्धारित मितिमै गर्ने भन्नेबारे निर्णय लिनेछ,’ सहमहामन्त्री सुनीलबहादुर थापाले भने, ‘छानबिन समितिले प्रतिवेदन पनि बुझाउँछ। स्थगन भएको वडा तहको अधिवेशन र अन्य अधिवेशनका हकमा नयाँ कार्यतालिका पनि आउने सम्भावना छ।’ नेपाल समयमा प्रकाशित

  • ११ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech