बाँके। सरकारले चैत मसान्तसम्म सबै नेपालीलाई खोप लगाइने बताएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड विरुद्धको खोपको आयात, खोप अभियान र स्वास्थ्य पूर्वाधारबारेको विवरण सार्वजनिक गर्दै उक्त कुरा बताएको हो ।
नेपाललाई आवश्यक थप खोप चीनको सिनोफार्म कम्पनीसँग ६० लाख डोज खोप खरिदको सम्झौता अगाडि बढासकेको मन्त्रालयले जनाएको छ । यसका साथै कोभ्याक्स सुविधाबाट जापान सरकारले अनुदानमा दिने १६ लाख र भारतबाट खरिद गरी बाँकी रहेको १० लाख डोज खोप प्राप्त हुँदा असोजभित्र १ करोड ८३ लाख ८२ हजार ८५० डोज प्राप्त हुने मन्त्रालयको आकलन रहेको छ ।