१२ श्रावण २०८१, शनिबार

लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी नेपालगञ्जमा शुरु
  • न्युज मानसराेवर

बाँके\ महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको प्रवद्र्धन र बजारीकरणका लागि लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी बिहीवारबाट नेपालगञ्जमा शुरु भएको छ । महिला उद्यमी संघ बाँकेको आयोजना र महिला उद्यमी संघ नेपालगञ्ज वडा नम्बर २ कमिटीको सह–आयोजनामा शुरु भएको प्रदर्शनीमा महिला उद्यमीहरुले उत्पादन गरेका विभिन्न वस्तुहरुका स्टलहरु राखिएका छन् ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र साना तथा घरेलु उद्योग कार्यालय नेपालगञ्जको सहयोग र नेपालगञ्ज उप–महानगरपालिकाको समन्वयमा प्रदर्शनी आयोजना गरिएको हो ।

लुम्बिनी प्रदेशका वन वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र हमालले प्रदर्शनीको उदघाटन गरेका छन् । उदघाटन कार्यक्रममा महिला उद्यमी संघका केन्द्रीय अध्यक्ष निरु रायमाझी, लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी नमुना, नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, लायन मधुसुदन रिजाल, नेपालगञ्जका विभिन्न वडाध्यक्षहरु एवं उद्योगी व्यवसायीहरु सहभागी थिए ।

महिला उद्यामी संघ बाँकेका अध्यक्ष निरुपमा रस्तोगीको अध्यक्षता रहेको उदघाटन कार्यक्रममा वक्ताहरुले प्रदर्शनीले बजारीकरणमा जान नसकेका उत्पादनहरुले परिचित हुने मौका पाउने अपेक्षा व्यक्त गरेका छन् ।

मन्त्री हमालले स्वदेशी उत्पादनको प्रवद्र्धनमा अब राज्यले दिनुपर्ने र त्यसका लागि आफ्नो तर्फबाट हरसम्भव प्रयास गर्ने प्रतिबद्धता जनाए । उनले उपभोक्ताले पनि स्वदेशी उत्पादनलाई माया गर्नुपर्ने कुरामा जोड दिए ।

उद्योगी व्यवसायीका लागि बजारीकरण महत्वपूर्ण विषय भएकोले महिला उद्यमी संघले त्यसको बारेमा ज्ञान सीप आदानप्रदान गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरेको अध्यक्ष रस्तोगीले बताइन् ।

  • २२ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech