बुटवल\ दाङमा लुम्बिनी प्रदेशको स्थायी राजधानी बनाउन गुरुयोजनाको खाका तयार भएको छ । प्रदेशको प्रशासनिक केन्द्र बुद्धको प्रतिमा आकारमा रहने प्रस्तावसहित गुरुयोजनाको खाका तयार पारिएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा भएको १६ महिनापछि गुरुयोजनाको खाका तयार भएको हो ।
स्थायी राजधानीमा संरचना निर्माणका लागि बजेट अभावमा रोकिएका काम अगाडि बढाउन संघीय सरकारले १ अर्ब रकम व्यवस्थापन गरेको छ ।
लुम्बिनी प्रदेश सभाले २०७७ असोज २० गते प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी देउखुरी उपत्यका पारित गरेको थियो ।
राप्ती गाउँपालिकाको वडा नम्बर २ लाई मुख्य केन्द्र मानेर बनाइएको गुरुयोजनाले प्रारम्भिक रुपमा राप्ती गाउँपालिकाका तीन वटा वडा, गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकाका दुई-दुई वटा वडा समेटेको प्रदेश पूर्वाधार विकास प्राधिकरणले जनाएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पूर्वपश्चिम राजमार्गको उत्तरतर्फ राप्ती गाउंपालिकाको वडा नम्बर २ मा रहने प्रस्ताव गरिएको छ । भालुबाङको पुलबाट दक्षिणतर्फ राप्ती नदीका दुवै किनारमा तटबन्ध गरी दुवैतर्फ ६०/६० मिटर चौडा सडक बनाइने गुरुयोजनामा छ ।